प्रतिपक्षी कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ । पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको विषयमा बैठकमा छलफल भएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशनकेन्द्रित छलफल भएको उनको भनाइ छ । उनले पार्टीभित्र देखिएको मतभिन्नता र महाधिवेशन हुने–नहुने विषयमा देखिएको अन्योलका विषयमा पनि छलफल भएको बताए ।
यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । कोरोना संकटको वेला सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा मंगलबार बस्ने पदाधिकारी बैठकले स्पष्ट पार्ने र केन्द्रीय समिति बैठकमार्फत निर्णय गरेर अगाडि बढ्ने बताए ।