१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक १७ सोमबार १७:१८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

व्यवसायीले थाले आलोपालो सेवा, पर्यटकले पाएनन् होटेल छनाेटकाे सुविधा 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १७ सोमबार १७:१८:००

रसुवाको धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पर्यटकले होटेल छनाेटमा विकल्प नपाउने भएका छन् । 

होटेल व्यवसायीले आलोपालो सिष्टम लागू गरेपछि गोसाइँकुण्ड जाने पर्यटकले होटेल छनाेटमा विकल्प नपाउने भएका हुन् । 

गोसाइँकुण्ड मार्गको चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डका होटेल व्यवसायीले करिब एक साताअघिदेखि आलोपालो सिष्टममा होटल सञ्चालन गरेका छन् । 

अब यस क्षेत्रमा चार दिनसम्म एउटा एउटा मात्र होटेल सञ्चालनमा आउने भएको छ । चार दिनपछि अर्को व्यवसायीले व्यवसाय सञ्चालन गर्ने गरी आलोपालो सिष्टम सञ्चालनमा ल्याएको चोलाङपाटीका होटेल व्यवसायी कान्छा शेर्पाले बताए।

सोचेजति संख्यामा पर्यटक नबढेको, आएका पर्यटकहरूमाथि व्यवसायीको तानातानका कारण व्यवसायीहरूकै सहमतिमा चार-चार दिनमा पालो आउने गरी आलोपालो सिष्टम लागू गरेको शेर्पाले बताए ।  

‘पर्यटकहरू धेरै आउँदैनन् । आएकाहरूलाई पनि यता, उता तान्ने समस्या भयाे,’ शेर्पाले भने, ‘तीन ठाउँमा रहेको होटेलहरूमध्ये चार दिनसम्म एउटा होटेलको, अनि अर्को चार दिन अर्को होटेलको पालो हुन्छ, त्यसैअनुसार होटेल सञ्चालन गरेका छौँ ।’

आलोपालो सिष्टममा एउटा मात्र होटेल सञ्चालनमा आउँदा भ्रमणमा जाने पर्यटकलाई भने छनाेटकाे विकल्प बन्द भएकाे छ ।

एउटा मात्र होटेल हुँदा मूल्य प्रतिस्पर्धा नहुने र यात्रुको चाप बढ्दा ठगिने गरेको गुनासो पर्यटकले गरेका छन् । धेरै होटेल हुँदा मन परेको सेवा र मूल्यमा बस्ने रोजाइ पर्यटकसँग रहन्थ्यो, तर एक मात्र होटेल खुल्दा यात्रुलाई रोजाइँको अवसर बन्द भएको छ । 

अहिले एउटा मात्र होटेल सञ्चालन गर्दा यात्रुहरू ठगिएको गुनासो लिएर केही पर्यटक आफूकहाँ आएको रसुवा होटेल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए । 

सुरुमा गएर बस्नेले एकरातको खाना तथा बाँसको आठ सय र अन्तिममा जाने यात्रुबाट एक रातको खाना तथा बाँसको  २५ सयसम्म लिएको गुनासो आएको उनले बताए । 

‘व्यवसायीहरूले मनपरी लिए हामी ठगियौँ भनेर आउँछन्,’ उनले भने, ‘पहिला गएकोले आठ सय अनि होटेल प्याक हुँदै गएपछि जानेसँग २५ सय लिएको गुनासो लिएर आएका छन् ।’ 

विगतमा पनि गोसाइँकुण्ड पुगेका पर्यटकले होटेल व्यवसायीबाट ठगिने गरेको गुनासो गर्थे । अहिले चोलाङपाटीमा दुईवटा, लौरीविनायकमा तीनवटा र गोसाइँकुण्डमा चारवटा होटेल छन् । एउटा होटेल चार दिनसम्म सञ्चालनमा आउँछ । चार दिनपछि अर्को गर्दै रोलक्रमअनुसार सञ्चालन भइरहेका छन्।

एउटा होटेलमा १२ वटासम्म कोठा छन् । एउटा कोठामा दुईदेखि आठजनासम्म राख्न सकिने क्षमताका कोठाहरू रहेकोसमेत व्यवसायीहरूले बताएका छन् । यी होटेलहरू लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत दर्ता भएर सञ्चालित होटेल हुन् ।

६ महिनादेखि पर्यटकको आवागमन शून्य रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा चहलपहल बढेको छ । दैनिकजसो यात्रुहरूको आवागमन भइरहेको छ ।  केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रने गरे पनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि आन्तरिक पर्यटकको बढेका छन् । 

न्यूनतम दुईजनादेखि १५ जनासम्मको समूहमा नेपाली पर्यटक आउने गरेको पाइएको छ । स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । 

जसका कारण पर्यटन व्यवसायी र होटेल व्यवसायीलाई फाइदा पुगेको व्यवसायीहरूले बताएका छन् । जिल्लामा साना–ठूला गरी डेढ सयको हाराहारी होटेल सञ्चालनमा रहेका छन् ।