मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक १७ सोमबार १२:१४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको हालत यस्तो : ठाउँठाउँमा खाल्डैखाल्डा, सवारी दुर्घटनाको जोखिम

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १७ सोमबार १२:१४:००

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सारदेखि बागमतीसम्मको मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । 

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको सवारीचालकहरूले बताएका छन्  ।

दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरूप बन्दा पनि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । 

राजमार्गको चन्द्रनिगाहपुर बजार क्षेत्रमै सडक भत्केर ठाउँठाउँमा खाल्डा भएर दिउँसै धुलोले नाकमुख धुनेर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा रवि रानामगरले बताए । 

राजमार्गका ठाउँठाउँमा गरिएको कालोपत्रे गत असार–साउन महिनाको अविरल वर्षाका कारण भत्केको झन्डै तीन महिना बिते पनि टालटुलसमेत हुन सकेका छैन । 

चन्द्रनिगाहपुरदेखि बागमती पुलसम्म खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीले बताएका छन् । 

राजमार्गको चाँदी र बागमती पुलमै खाल्डा भएका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको सवारीचालक रंग तिमल्सिनाले बताए । सडकको बिग्रेको अवस्थाका कारण सवारीसाधन चाँडै बिग्रने तथा टायरसमेत बढी खिइने गरेको उनले बताए । 

राजमार्गमा रहेका समस्या समाधान गर्न सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई पटकपटक जानकारी गराइए पनि कुनै चासो नदिएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा राजु तिवारीले बताए । 

राजमार्गका केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले कालोपत्रे गरेर दिगो समाधान गर्नेतर्फ ध्यान नदिएको स्थानीयवासीको आरोप छ । 

वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुका साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेको छ । 

मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सेवा सञ्चालन गर्ने गरेका छन् । 

रौतहट क्षेत्र नं. ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले पटकपटक सो विषयमा आफूले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा जानकारी गराउँदासमेत कुनै वास्ता नभएको बताए । 

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहले वर्षा र चाडबाडका कारण समयमा काम हुन नसकेको र अब तत्काल राजमार्गमा खाल्डामा कालोपत्रे गर्ने काम गर्न आफूले ठेकेदारलाई निर्देशन दिएको बताए ।