१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ कार्तिक १६ आइतबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संकटमा पनि बन्द भएनन् जुवाखाल : वडा सचिवदेखि पूर्वराज्यमन्त्रीसम्म पक्राउ

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ कार्तिक १६ आइतबार १८:००:००

सर्वत्र कोरोना संक्रमणको त्रास छ, जुवाडेलाई भने भाइरसको डरभन्दा जुवामै प्यार छ । कोभिड–१९ महामारीका वेला पनि पेसेवर जुवा अड्डा बन्द भएका छैनन् । शनिबार मात्र प्रहरीले ७४ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा सचिवदेखि पूर्वराज्यमन्त्रीसम्म छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पेसेवर जुवा अखाडामा छापा हानेर उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत भन्छन्, ‘महामारीमा पनि जुवासम्बन्धी अपराध रोकिएको देखिएन, त्यही कारण प्रहरीले सक्रियता बढाएको छ ।’

पूर्वराज्यमन्त्री राय जुवाखालबाट पक्राउ
पूर्वराज्यमन्त्री खोभारी राय शनिबार स्वयम्भू बिजेश्वरीस्थित जुवाखालबाट पक्राउ परेका छन् । उक्त जुवा अखाडाबाट उनीसहित १० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

साइँली तामाङको घरमा फ्ल्याट भाडामा लिएर भोजपुरका पर्वत भण्डारीले नियमित जुवा खेलाउँदै आएका थिए । पूर्वराज्यमन्त्री राय पनि सोही अखाडामा पुग्थे । उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उनीसहित पक्राउ पर्नेहरूमा सन्तोष लामा, सविन लामा, धर्मलाल तामाङ, जितपुर लामा, विक्रम लामा र कान्छा तामाङ छन् । पक्राउ परेका सबैबाट एक लाख ५३ हजार पाँच सय रुपैयाँ र दुई बुक तास बरामद भएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूका अनुसार उनीहरू दुई समूह बनाएर म्यारिज खेलिरहेका थिए ।

वडा सचिवसहित पाँच जुवाडेबाट आठ लाख ८९ हजार बरामद
यस्तै, मोरङ केराबारीमा पाँचजना जुवाडे पक्राउ परेका छन् । केराबारी गाउँपालिका–६ का भूपेन्द्र भट्टराईको कालिज फार्ममा तास खेलिरहेका उनीहरूलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकामध्ये धरान उपमहानगरपालिका–६ का वडा सचिव हरि खत्री पनि छन् । खत्री र कालिज फार्म सञ्चालक भट्टराईसहित प्रहरीले बोधराज मगर, अरुण केसी, शैलेश भुजेललाई पनि पक्राउ गरेको छ ।

उक्त जुवाखालबाट आठ लाख ८९ हजार दुई सय ५० रुपैयाँ र १३ बुक तास बरामद भएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए । उनीहरू नियमित रूपमा त्यहाँ जुवा खेल्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

ललितपुरमा १८ जनाको कौडा टोली
शनिबार राति ललितपुरमा कौडा खेलिरहेका १८ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेका भक्तपुर सूर्यविनायक नगरपालिका–२ का ४९ वर्षीय सुरेश पौडेललगायत १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका अनुसार उनीहरूबाट ११ लाख ५५ हजार पाँच सय ७५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ । घरधनी बस्नेतले नै जुवा खेलाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यस्तै, शनिबार नै भक्तपुरमा पनि १२ जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित माधव सुवालको घरमा तास खेलिरहेका सुवालसहित १२ जना पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूबाट एक लाख ९० हजार पाँच सय रुपैयाँ र सात बुक तास बरामद भएको छ ।

कैलालीमा २९, दाङमा पाँच जुवाडे पक्राउ
शनिबार नै कैलालीमा २९ जुवाडे पक्राउ परेका छन् । जोशीपुर गाउँपालिका–१ स्याउले बजारका यज्ञबहादुर विष्टको घरमा जुवा खेलिरहेका उनीहरूबाट दुई लाख ५१ हजार चार सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, दाङ घोराहीमा आइतबार पाँचजना पक्राउ परेका छन् । नलवपुरमा जुवा खेलिरहेको अवस्थामा तीन लाख २३ हजार ६० रुपैयाँसहित अनिल थापा, केशव डाँगी, कमल रावल, वसन्त भण्डारी र धर्म ज्ञवालीलाई पक्राउ गरिएको दाङका एसपी गणेश चन्दले बताए ।

एउटै खालमा २९ लाख बरामद
यस वर्ष प्रहरीले छापा मारेको सबैभन्दा ठूलो जुवाखाल नेपालगन्जको हो । नेपालगन्ज–४ स्थित जुवाखालबाट प्रहरीले २९ लाख ४८ हजारसहित जुवाडेहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नवीन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णप्रसाद सुवेदी र रहमान मिया छन् । पक्राउ परेकाहरू नियमित जुवा खेल्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

कमजोर सजाय
जुवासम्बन्धी अपराध सामान्य मानिए पनि यसको असर समाजमा ठूलो हुने प्रहरी अधिकारीहरू बताउँछन् । जुवाकै कारण अन्य अपराध बढ्ने उनीहरूको भनाइ छ । जुवाको लतका कारण विगतमा अपहरणदेखि हत्याका घटना भएका छन् ।

कानुनअनुसार कमजोर सजाय पनि जुवाडेहरू नसुध्रनुको एक कारण हो । मुलुकी अपराध संहिताअनुसार पहिलोपटक पक्राउ पर्ने जुवाडेलाई तीन महिनासम्म कैद र बढीमा ३० हजारसम्म मात्र जरिवाना हुन्छ ।

यस्तो मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्छन् । बढीमा थुनामा बसेको अवधिलाई कैद मानिन्छ र ३० हजारसम्म मात्र जरिवाना हुन्छ । सोहीकारण उनीहरू फेरि जुवाको लतमा पर्छन् ।

मिनी क्यासिनो
क्यासिनोमा नेपालीलाई प्रवेशमा पूर्ण बन्देज लगाइएपछि पछिल्ला वर्ष मिनी क्यासिनो शैलीमा जुवा खेलाउने गरिएको छ । विभिन्न घर र फ्ल्याट नै भाडामा लिएर क्यासिनोकै शैलीमा खेलाइएका जुवाखालमा प्रहरीले छापा मार्दै आएको छ ।

गत वर्ष महाराजगन्जको एक जुवाखालमा छापा हानी प्रहरीले दुई करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो, जहाँ ठूला व्यवसायीसमेत पक्राउ परेका थिए । पक्राउ परेकामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरेको थियो । पक्राउ परेकामध्ये बलराम सापकोटा ‘बले’विरुद्ध प्रहरीले मुद्दा चलायो, अन्यविरुद्धको अनुसन्धान तामेलीमा राखिएको छ ।

पूर्वडिआइजी हेमन्त मल्ल पेशेवर जुवाडेबाट समाज र परिवार प्रताडित हुने बताउँछन् । ‘कतिपयले घरजग्गा नै जुवामा हारेर परिवारलाई प्रताडित बनाएका छन्,’ उनी भन्छन्, ‘त्यसैले पेशेवर जुवाडेमाथि कडा कारबाही हुने कानुनी व्यवस्था आवश्यक छ ।’