पत्रकारिता विश्वविद्यालय खोल्ने अभियानमा मञ्जु
मञ्जु मिश्र सन् १९९२ मा डा. मञ्जु मिश्र बनिन् । रसियाबाट पत्रकारितामा विद्यावारिधि गरेपछि नेपाल फर्किइन् । रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा पढाउन चाहिन् । तर, आफ्नो पिएचडीलाई खास महŒव नदिइएको उनी बताउँछिन् । त्यहाँ नाम ननिस्किनु नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । अनि आफैँ सन् २००१ मा पत्रकारिता मात्र पढाउन ‘कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन’ सञ्चालन गरिन् ।
उनले सो कलेज सञ्चालन गरेको करिब दुई दशक भयो । उनको कलेजबाट अध्ययन सकेका विद्यार्थी अहिले ठूला मिडियामा समेत आबद्ध छन् । अहिले उनी भने पत्रकारिताको विश्वविद्यालय नै खोल्न लागिपरेकी छिन् ।
आफूले २५ हजारबाट पत्रकारिताको कलेज सुरु गरेको उनी बताउँछिन् । अहिले कपन पैयुँटारमा कलेजको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । त्यहाँ उनी विश्वविद्यालय नै खोल्न चाहन्छिन् । नेपालमा पत्रकारिता शिक्षामा आकर्षण र सम्भावना दुवै भएकाले विश्वविद्यालय आवश्यक भएको उनको ठम्याइ छ ।
‘यहाँ जुन किसिमले पत्रकारिता शिक्षा दिइरहेको छ, विद्यार्थीलाई आकर्षणको विषय बनाउन सकिएको छैन,’ उनले भनिन्, ‘यहाँ कनेक्सनका आधारमा पढाइन्छ, देशमै केही गर्छु भनेर लाग्ने मान्छे कम छन्, जागिरको सुरक्षा छैन ।’ अहिलेको कामचलाउ पत्रकारितालाई पेसा नै बनाउन सक्ने क्षमतावान् पत्रकार निकाल्नका लागि आफूले कोसिस गरिहेको उनको भनाइ छ । त्यसो त कलेज स्थापनापछि पनि उनले निकै हण्डर खाइन् । भाडाको घर भएकाले कलेज विशालनगर, धापासी, रातोपुल, धुम्बाराही, तिनकुने, गैह्रीगाउँ, बालकुमारीसम्म सारिन् । कतै घरभेटीको किचकिच त कतै ह्वात्त बढ्ने भाडाले आजित बनायो । अहिले पैयुँटारमा आफ्नै भवन बनेपछि विश्वविद्यालयको सपना पनि पूरा हुने उनको विश्वास छ ।
उनी विद्यार्थी तान्ने हिसाबले मात्र पत्रकारिता पढाइ भइरहेको देख्छिन् । नयाँ विषय ल्याएर, विदेशी विश्वविद्यालयसँग मिलेर पत्रकारिता पढाइ हुन आवश्यक देख्छिन् । भन्छिन्, ‘जुन ढंगबाट पढाइ भइरहेको छ, त्यसलाई परिवर्तन गर्न पत्रकारिता विश्वविद्यालय आवश्यक छ ।’
मिश्रको कलेजबाट अध्ययन सकेका विद्यार्थी ठूला मिडियामा समेत आबद्ध छन् । उनी भने पत्रकारिताको विश्वविद्यालय खोल्न लागिपरेकी छिन् ।
पत्रकारिताको सम्भावना प्रचुर देखेकी छिन्, मञ्जुले । त्यत्रा टेलिभिजन, पत्रिका, अनलाइनमा योग्यताविना नै काम भइरहेको उनको ठम्याइ छ । त्यही कारण पनि नेपालमा पत्रकारिताको सम्भावना अत्यधिक देख्छिन् । ‘पहिले पत्रकार भन्नसाथ मान्छे डराउँथे,’ उनी भन्छिन्, ‘तर, अहिले जो पनि पत्रकार, पत्रकारितामाथि नै शंका गर्नुपर्ने स्थिति छ, गुणात्मकता छैन ।’ त्यही कारण नीति, नियममा पनि सोच्न आवश्यक देख्छिन्, मञ्जु ।
अहिले पत्रकारिता लापर्बाही हुनुमा कडा नियम कानुन नभएर नै हो भन्ने लाग्छ, मञ्जुलाई । हाम्रो जस्तो मुलुकमा नियम बनाएर नियमन गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘भारतजस्तो मुलुकमा पनि एकदम थोरै संख्यामा सञ्चारमाध्यम छन्, हाम्रोमा त ६–७ सयको हाराहारीमा सामुदायिक रेडियो मात्र छन् ।’ बढी संख्यालाई गुणात्मक फड्को मान्न नहुने उनको मत छ । पत्रकारिताको विश्वविद्यालय खोल्ने सपना पूरा गर्न आफू कम्मर कसेर लागेको उनले बताइन् । विदेशी विश्वविद्यालयहरूसँग राम्रो ‘टाइअप’ गर्ने सोच छ, उनको । भन्छिन्, ‘धेरै काम गर्छु, २५ हजार लगानीमा सुरु गरेको पत्रकारिता स्कुल अहिले आएर १९ वर्षसम्म पनि चलाइरहेको छु, अब निजी विषयगत विश्वविद्यालय चाहिन्छ ।’
उनलाई विश्वविद्यालय ट्रस्ट बनाएर खोल्ने चाहना छैन । उनी भन्छिन्, ‘तीनजना हुनासाथ गुटबन्दीमा लाग्छौँ हामी, त्यही भएर ट्रस्ट बनाएर चलाउन सम्भव छैन ।’ उता पाकिस्तानमा, श्रीलंकामा निजी विश्वविद्यालय छन् । भारत र चीनजस्ता ठूला देशमा पनि छन् । सबैतिर निजी विश्वविद्यालय देख्दै गर्दा हाम्रो सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्नु हुन्न भन्ने उनको मत छ ।