रुकुम पश्चिम आठबिसकोट नगरपालिका घेत्मका १५ वर्षीय रवीन्द्र विक अचानक बिरामी भए । अस्पताल लैजान परिवारसँग पैसा भएन । खबर पाएपछि जाजरकोट नलगाड नगरपालिका– ८ काब्राबाट रवीन्द्रका भिनाजु पातले नेपाली घेत्म पुगे । र, बिहीबार उनले पिठ्युँमै बोकेर साला रवीन्द्रलाई राडीस्थित नगर अस्पतालमा पु¥याए । यातायातको साधनमा दुई घन्टा लाग्ने ठाउँमा बिरामी बोकेर दिनभरि हिँडेर अस्पताल पुग्नुपरेको पातलेले बताए ।
पिठ्युँमा बिरामी बोकेर अस्पताल पुर्याउनु यहाँका लागि सामान्य छ, निर्विकल्प छ । बिरामी लैजान पाँच सय लाग्ने र रकम आफूसँग नहँुदा बोकेर अस्पताल लानुपरेको पातलेले सुनाए । भने, ‘हामी बिरामीसहित पाँचजना छौँ । सबैलाई भाडा हाल्दा धेरै खर्च हुन्छ । भाडा नपुगेर बोक्ने गरेका छौँ । एम्बुलेन्स त झन् आकाशको फल, आँखा तरी मरजस्तै छ ।’
आर्थिक अवस्था कमजोर भएकाले डोको तथा पिठ्युँमा बिरामी बोकेर दिनभरि हिँडेर स्वास्थ्य संस्थामा लैजाने गरेको नलगाड नगरपालिका– ८ स्वाराका जनक नेपालीले बताए । आफ्नी आमा बिरामी भए पनि आर्थिक अभावका कारण उपचारका लागि लैजान नसकेको उनको भनाइ छ । तिहारपछि भारत जाने योजना बनाएका नेपालीले आमालाईसमेत उत्तै लिएर उपचार गर्ने योजना बनाएका छन् ।
त्यसो त आर्थिक अवस्था कमजोर भएकै कारण रोग पालेर बस्नुपर्ने र रकम जुटाएपछि मात्र अस्पतालको मुख देख्नुपर्ने कर्णाली प्रदेशका अधिकांश जिल्लाका दलित समुदायको व्यथा हो । आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले वर्षभरि खाना पुग्दैन । परिवार ठूलो भएका दलित समुदायलाई ज्यान पाल्ने ठूलो चिन्ता हुन्छ । गाउँमा रोजगारी छैन, त्यसैले कामका लागि भारत जानु उनीहरूका लागि बाध्यता छ । नलगाड नगरपालिका– ८ कै लालबहादुर नेपाली श्रीमती र छोरीसहित कामको खोजीमा भारत जान योजनामा छन् ।
यी रवीन्द्र, जनक र लालबहादुरको मात्र पीडा होइन, अधिकांश निम्न अवस्था भएका सर्वसाधारणका साझा दुःख हुन् । भेरी नगरपालिका– १२ कट्टी गाउँका एक सय २५ घरधुरीले साहुको ऋण तिर्न नसकी गाउँ नै छाडेर भारत विस्थापित हुनुपरेको छ ।