मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक १५ शनिबार ०८:०२:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षणको प्रतीक्षामा क्रिकेट

Read Time : > 3 मिनेट
२०७७ कार्तिक १५ शनिबार ०८:०२:००

राष्ट्रिय खेलकुद परिषद्को अनुमतिपछि फुटबल टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको छ, यससँगै क्रिकेटरले छिट्टै प्रशिक्षणमा सहभागी हुन पाउने आशा गरेका छन्, तर सम्बन्धित निकाय क्यानले केही पहल गरेको छैन

कोरोना भाइरस महामारीबीच पनि दुबईमा चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) भव्यताका साथ चलिरहेको छ । १३औँ आइपिएल लगभग क्लाइमेक्सतर्फ अग्रसर भइरहेको छ । बिहीबार कोलकातामाथि चेन्नईले रोमाञ्चक जित गरेसँगै मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । 

अब ६ टोली प्ले अफका लागि संघर्षरत छन् । सारजहाँ, आबुधाबी तथा दुबई सहरमा आइपिएल बन्द रंगशालाभित्र सञ्चालित छ । आयोजक भारतीय क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रोटोकलअनुसार आइपिएल सञ्चालन गरिरहेको छ । आइपिएलमा कोभिड–१९ बाट सुरक्षित रहन सबै सुरक्षा नीति अपनाइएको छ । आइपिएलअघि नै इंग्ल्यान्ड, वेस्ट इन्डिज तथा पाकिस्तानले एक–आपसमा सिरिज खेलिसके । जमैकामा क्यारेबियन प्रिमियर लिग सम्पन्न भइसकेको छ । 

भारतले पनि अस्ट्रेलियाविरुद्धको सिरिजका लागि यसै साता टोली घोषणा गर्‍यो । यी विभिन्न प्रतियोगिताले एउटा के सन्देश दिन्छ भने अन्तर्राष्ट्रिय क्रिकेट बिस्तारै पुरानै गतिमा फर्किरहेको छ । यसअघि कोभिड–१९ को महामारीबीच फुटबल सुरु गर्ने पहिलो खेल बनेको थियो । फुटबलका लगभग सबै प्रतियोगिता नियमित रूपमै सञ्चालित छन् । फुटबलको विश्वकप छनोट पनि भइरहेको छ । 

एक सयभन्दा माथि खेलका संघ भएको नेपालमा बिहीबारदेखि केवल नेपाली राष्ट्रिय फुटबल टोलीले मात्र आफ्नो प्रशिक्षण सुरु ग¥यो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण अभ्यास खेल खेल्नुअघि पुरुषतर्फको राष्ट्रिय टोलीले अभ्यास थालनी गरेको हो । दशरथ रंगशालामा मुख्य प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा ३० खेलाडीले लामो समयपछि अभ्यास गराइरहेका छन् । 

यद्यपि, सरकारले खेलकुद गतिविधिमाथिको प्रतिबन्ध हटाएको छैन । राष्ट्रिय खेलकुद परिषद्को अनुमतिपछि फुटबलले प्रशिक्षण गर्न अवसर पाएको हो । फुटबलपछि छिटै क्रिकेट खेल सुचारु हुने सबैले आशा गरेका छन् । नेपालमा दर्शक फलोअर्स असाध्य भएको खेलमध्ये क्रिकेट मानिन्छ । नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यानले प्रशिक्षण तथा अन्तर्राष्ट्रिय सिरिजका लागि खेलाडीको तयारी कसरी गर्ने भन्ने सम्बन्धमा खासै ठोस पहल गरेको देखिँदैन ।

दसैँअघि क्यानका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव अशोकनाथ प्याकुरेल कोरोना संक्रमित भए । अध्यक्ष चन्द कोरोनामुक्त भएका छन् । सचिव प्याकुरेल रेस्टमै छन् । कोरोना संक्रमणका कारण प्याकुरेल दुई साता अस्पताल भर्ना भए । केही दिनअघि मात्र उनी अस्पतालबाट डिस्चार्च भएका थिए । डाक्टरले उनलाई अझै केहीदिन आराम गर्न भनेका छन् । क्यानका सचिव प्याकुरेल परिषद्ले आफूहरूलाई पनि फुटबलको जस्तै प्रशिक्षणको अनुमति दिने विश्वास गर्छन् । 

‘पक्कै पनि परिषद्ले हामीलाई प्रशिक्षण गर्न अनुमति दिनेछ,’ प्याकुरेलले भने, ‘खेलाडीको क्याम्प सुरु गर्न आन्तरिक छलफलको तयारी भइरहेको छ ‘यसबीचमा म र अध्यक्षज्यू संक्रमित भयौँ, त्यो समयमा केही कुरा भएन, अहिले हामीबीच आन्तरिक छलफलको तयारी भइरहेको छ ।’ क्यानले परिषद्मा प्रशिक्षण अनुमति माग्न छिटै पहल गर्ने उनको भनाइ छ ।

 

‘क्रिकेटका लागि प्रशिक्षण गर्न ढिला भएको छ, हामी परिषद्मा यस सम्बन्धमा चाँडै समन्वयन गर्नेछौँ,’ उनले भने । कोभिड–१९ महामारी नभएको भए यतिवेला नेपाली क्रिकेटर मैदानमा व्यस्त भइरहन्थे । नेपाली टोलीले गत माघपछि अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता जनाएको छैन । आइसिसीको खेलतालिकाअनुसार यही नोभेम्बरमा विश्वकप छनोट आधार प्रतियोगिता विश्वकप लिग–२ अन्तर्गत शृंखला सम्पन्न भइसक्थ्यो । 

गत अप्रिलमा रोकिएका सबै शृंखला यसै वर्ष गर्न आइसिसीले तयारी गरेको छ । कोभिड–१९ को महामारीका कारण नेपाल सहभागी हुने तीन शृंखला पनि रोकिएका छन् । नेपाली खेलाडी अन्तिमपटक मैदान उत्रिएको नै माघमा थियो । सात टोली सम्मिलिन आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत नेपालले टियु मैदानमा अमेरिका र ओमानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । त्यसयता खेलाडी अन्तर्राष्ट्रिय खेलविहीन छन् । 

कोरोना महामारीबीच पनि खेलाडीले आफ्नै पहलमा गत साउनमा कीर्तिपुरको टियु मैदानमा ‘सेल्फ अभ्यास’ गरेका थिए । तर, निषेधाज्ञा जारीसँगै खेलाडीको प्रशिक्षण अनिश्चित समयका लागि रोकियो । त्योवेला दसैँपछि प्रशिक्षण सुरु हुने विश्वास सबैले गरेका थिए । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले दसैँपछि प्रशिक्षण हुन सक्ने बताएका थिए । ‘दसैँपछि क्रिकेटको प्रशिक्षण सुरु हुन्छ होला,’ दुई साताअघि मल्लले भने, ‘यसबारेमा सबैसँग छलफल हुनुपर्छ ।’ टोलीका पूर्वकप्तान पारस खड्काले आफूलाई कहिलेदेखि प्रशिक्षण सुरु हुने वा नेपाल क्रिकेट संघ (क्यान)ले बोलाउने भन्ने विषयमा जानकारी नभएको बताएका छन् । 

‘फुटबल प्रशिक्षण सुरु भयो, अब क्रिकेटको पनि हुनुपर्छ, तर यसबारेमा मलगायत अन्य खेलाडीलाई केही थाहा छैन,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘क्यान नै हो, यसबारे निर्णय गर्ने संस्था ।’ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले खेलाडीको सुरक्षा तथा सबै नियम पालना गरी प्रशिक्षण गर्न भनी आउँदा अनुमति दिने बताएका छन् । 

डब्लुएचओ, फिफा तथा सरकारले जारी गरेको प्रोटोकलअनुरूप अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षण गर्न अनुमति मागेको थियो । प्रोटोकल पालना गरेकाले फुटबलको प्रशिक्षण सुरु भएको उपाध्यक्ष कोइरालाले बताए । ‘हामीले प्रशिक्षण गर्न कसैलाई रोकेका छैनौँ, तर प्रशिक्षण गर्नुअघि सम्बन्धित संघले कोभिड–१९ को सबै प्रोटोकल मान्नुपर्छ साथै उनीहरूले खेलाडीको स्वास्थ सुरक्षा प्रत्याभूति पनि दिनुपर्छ,’ उनले भने, ‘क्यानले पनि आइसिसी, डब्लुएचओ तथा सरकारको प्रोटोकलअनुसार प्रशिक्षणको अनुमति लिँदा हामी दिन्छौँ ।’ 

यसका लागि क्यान स्वयं तयार हुनुपर्ने उनले बताए । ‘प्रोटोकलअनुसारै आइपिएल, च्याम्पियन्स लिग तथा युरोपियन प्रिमियर लिग सञ्चालित भएका छन्, त्यहीअनुसार नेपालमा पनि विभिन्न खेल सञ्चालन र प्रशिक्षण गराउन सकिन्छ, तर सबैले कोभिड–१९ को प्रोटोकल पालना गर्नुपर्छ,’ परिषद्का उपाध्यक्ष कोइरालाले भने । 

क्यान केही दिनपछि कार्यसमितका पदाधिकारीसँग भर्चुअल बैठकको तयारीमा जुटेको छ । सो भर्चुअल बैठकमा खेलाडीको प्रशिक्षण कसरी गर्ने भनी प्रक्रिया अगाडि बढाउने नै मुख्य एजेन्डा हुनेछ । वास्तवमा अन्तर्राष्ट्रिय सिरिजमा व्यस्त हुने खेलाडीको प्रशिक्षण सुरु गर्न क्यानले निकै ढिलो गरेको देखिन्छ । सबै सुचारु हुँदा र विनादर्शक प्रतियोगिता सञ्चालन गर्न अनुमति पाउँदा नेपालले २०२१ को सुरुवातमै त्रिकोणात्मक सिरिज आयोजना गर्न सक्छ ।