मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मेहदी जे हाकिमी
२०७७ कार्तिक १४ शुक्रबार ०७:५१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

तालिवानको जाली समावेशिता

Read Time : > 2 मिनेट
मेहदी जे हाकिमी
२०७७ कार्तिक १४ शुक्रबार ०७:५१:००

दोहामा सम्पन्न अन्तर–अफगान वार्तामा तालिवानको समावेशिताको मुखुन्डो सबैका सामु उतारियो  

सेप्टेम्बर १२ मा लामो समयदेखि प्रतीक्षामा रहेको अन्तर–अफगान वार्ता दोहामा सुरु भयो । योसँगै अफगान शान्ति प्रक्रिया महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । तर, वार्ता सुरु भएलगत्तै केही विषयमा असहमति उत्पन्न भएपछि वार्ता अवरुद्ध भएको छ । प्रमुख दुई असहमतिका बुँदामध्ये एउटा तालिवानले उठाएको इस्लामिक न्यायव्यवस्थामा देखिन्छ । अर्को असहमतिको विषय तालिवान र अमेरिकाबीच यसअघि सम्पन्न सम्झौतालाई अहिलेको छलफलमा कुन रूपमा लिने भन्ने कुरामा देखिन्छ । विवादको पहिलो विषय अफगानिस्तानमा अभ्यासमा रहेको हनाफी न्यायव्यवस्था अन्य सुन्नीबहुल मुलसमान देशमा पनि अभ्यास हुन्छ । तर, तालिवानले हनाफीबाहेक बाँकीलाई रोक लगाउनुपर्ने बताएको छ । 

यसो भएमा अफगानिस्तानमा बसोवास गर्ने दशौँ लाख सिया तथा अन्य धार्मिक अल्पसंख्यक छुट्नेछन् । सरकारले कुनै एउटा न्यायव्यवस्थालाई मात्र स्विकार्नुको साटो इस्लामको सर्वोच्चतालाई स्वीकार गर्न सकिने बताएको छ । सरकारले वर्तमान अफगान संविधानकै व्यवस्थालाई अघि सारेको हो । तर, तालिवानले भने वर्तमान संविधानलाई गैरइस्लामिक मान्छ । अन्तर–अफगान वार्ताका क्रममा देखिएको विवादले तालिवानको कल्पनाको अफगानिस्तान कस्तो हुनेछ भन्ने झलक देखाउँछ । पहिलेदेखि तालिवानले शासनदेखि निर्वाचन, न्यायिक दर्शनदेखि वाक स्वतन्त्रतासम्म र महिला अधिकारका विषयमा एउटै कुरा दोहोर्‍याउँदै आएको थियो । उसले यी सम्पूर्ण विषय ‘समावेशी इस्लामिक’ एमिरेटले सम्बोधन गर्ने बताउँदै आएको छ । अफगानिस्तानले विगतमा दोहोर्‍याउने अमूर्त पदावलीको अर्थ खुल्दै गएको छ । 

तालिवानले बारम्बार दोहोर्‍याउने गरेको समावेशितामा होसियार हुनुपर्ने देखिँदै गएको छ । तालिवानले प्रस्ताव गरेको इस्लामिक एमिरेटमा सिया मुलसमान तथा अन्य अल्पसंख्यक समूहको धार्मिक स्वतन्त्रता नस्विकारिने संकेत देखिएको छ । यसले भावी सम्झौतापछि तालिवान सत्तामा आएमा आफ्नो अवस्थालाई लिएर लाखौँ चिन्तित देखिन थालेका छन् । इस्लामबारे तालिवानको संकीर्ण सोच र अल्पसंख्यकविरुद्ध इतिहासमा तिनले उठाएका कठोर कदमले थप चिन्ता बढाएको छ । अफगानिस्तानको ४० वर्षे द्वन्द्वको सबैभन्दा बदनाम नरसंहारमध्ये एउटा सन् १९९८ मा घटेको थियो । तालिवानले मजार–ए–सरिफमा हजारौँको संख्यामा हजारा जातिको नरसंहार गरेको थियो । हजारा समुदायले सिया मुलसमान भएकै कारणले नरसंहारको सामना गरेका थिए । आमहत्याको क्रममा तालिवानले हजारालाई तीन विकल्प दिएका थिए : ‘सुन्नी बन्ने, अफगानिस्तान छाड्ने वा मर्ने ।’

अफगानहरू सुन्नी तथा सियाबीचको बलियो ऐक्यबद्धता तथा एकतामा गर्व गर्छन्, तर तालिवानले सिया समुदायलाई तारो बनाउँदा अफगान एकताको भाव संकटमा पर्दै छ 

हजारा तथा अन्य अल्पसंख्यक समूहले शताब्दीऔँदेखि यस्तो कठोर विकल्प सामना गरिरहेका छन् । सिख र हिन्दूहरू ठूलो संख्यामा अफगानिस्तान छाडिरहेका छन् । अफगानहरू सुन्नी तथा सियाबीचको बलियो ऐक्यबद्धता तथा एकतामा गर्व गर्छन् । तर, तालिवानको भनाइ र गराइले अफगान एकताको भाव संकटमा पर्दै छ । तालिवानको सियाप्रतिको घृणाले मलजल गरेको वातावरणमा आइएस तथा तिनसँग सम्बद्ध समूहले सिया तथा हजारा समुदायमाथिको आक्रमणलाई जारी राखेका छन् ।

हुन त तालिवान र आइएसले एक–अर्कालाई शत्रु मान्ने गरेका छन्, तर अल्पसंख्यकमाथिको आक्रमणको सन्दर्भमा भने उनीहरूबीच रणनीतिक सम्बद्धता देखिन्छ । तालिवानको असमावेशी दृष्टिकोण अल्पसंख्यक अफगानको धार्मिक स्वतन्त्रतामा मात्र सीमित छैन । यो तिनको समग्र सिद्धान्त र कार्यशैलीसँग जोडिएको देखिन्छ । तालिवान नियन्त्रणमा रहेको भूगोलको जीवनशैली तथा दोहामा गएको तिनको वार्ता टोली हेर्दा पनि त्यो देखिन्छ । तालिवानले बारम्बार महिला अधिकारलाई समर्थन गर्ने बताए पनि उसले अझै छात्रा अध्ययन गर्ने विद्यालयमा आक्रमण गरिरहेका छन् । त्यस्तै, अफगानिस्तानको बहुंसख्यक जनता युवा तथा महिला भए पनि तालिवानको वार्ताटोलीमा तिनको प्रतिनिधित्व शून्य देखिएको छ । 

त्यस्तै, अफगानिस्तान बहुलवादी तथा बहुसांस्कृतिक मुलुक हो । तर, तालिवानको वार्ताटोलीमा धार्मिक, जातीय, भाषिक, सांस्कृतिक तथा व्यावसायिक विविधता देखिँदैन । विविधताको अनुपस्थितिले धेरै कुरा भन्छ । यसले तालिवानले वकालत गर्ने इस्लामिक एमिरेटमा ककसलाई स्विकारिनेछ भन्ने बताउँछ । बोलीमा समावेशिताको कुरा गरे पनि व्यवहारमा चरम असमावेशी तालिवानको चरित्र त्यति अनौठो भने होइन । अमेरिकासँगको सम्झौतामा प्रतिबद्धता गरेको आतंकवादको विरोध गर्ने वाचाबाट तालिवान पछि हटिसकेको छ । उसले अलकायदासँगको सहकार्य निरन्तरता दिइरहेको छ । इस्लामिक एमिरेटको चरित्रमा बारम्बार देखिने कपटले तालिवानलाई हतारिएर विश्वास गर्दाको खतरा निम्तिने संकेत गर्छ । आखिरमा दिगो शान्ति साँचो अर्थको समावेशी प्रक्रिया अपनाएर आउँछ, समावेशी भएको नाटक पारेर होइन । 

(मेहदी जे हाकिमी स्ट्यानफोर्ड ल स्कुलका प्राध्यापक हुन् ।)
अल जजिराबाट