मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०८:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना कहर  ः अघिल्ला वर्षझैँ भएन दसैँको रौनक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०८:२६:००

राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रूपमा मनाउने दसैँमा चहलपहल बढ्न नसकेको हो । सहरका रूपमा विकास हुँदै गरेका राजधानीको ग्रामीण भेगमा गत वर्षको दसैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिंगे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भिड भेटिन्थ्यो । तर, यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा– ५ की मनीषा सिंखडाले बताए । 

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भिड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस वञ्चित भएका छन् ।

गोकर्णेश्वर नगरपालिका– ३ स्थित पर्यटकीय स्थल तारेभिरमा भने स्थानीयवासी दसैँमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौंका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँनयाँ टिकटक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । निजी सवारी हुनेहरू आफन्तकहाँ पुगे पनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरू बढ्दो संक्रमणबाट हिँड्न तर्सिएका छन् । सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बताए । त्रासकै बीच यस वर्ष राजधानीबाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भिड भएको छैन ।

टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी
सुरक्षित रूपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहनेछ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिनसम्म जारी रहने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । 

केही मानिसले कात्तिक महिनामा परेको दसैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ ।  समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले चन्द्रमासअनुसार अहिले पनि आश्विन शुक्ल पक्ष नै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सबैमा आह्वान  गरे । ‘हाम्रा चाडपर्व, तिथि, श्राद्ध चन्द्रमासअनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस संक्रमण नफैलने गरी सुरक्षित रूपमा टीका ग्रहण गर्न शुभ छ, सौरमासअनुसार कात्तिकमा दसैँ परेको यो पहिलोपटक होइन, यस वर्ष मात्र किन यसरी हल्ला गरियो ? यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ,’ उनले भने ।

पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्न चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यसअनुसार अघि बढ्न धर्मशास्त्रविद्हरूले आममानिसमा आह्वान गरेका छन् । वैदिक सनातनी परम्परामाथि भ्रम फैल्याउन विगत केही वर्षदेखि मौलिक धर्म, संस्कृतिलक्षित हल्ला चलाउने क्रम जारी रहेकाले सचेत हुन नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईको भनाइ छ । रासस