१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बिर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ । भवन अभावमा एउटै कोठामा काम गर्दै चारजना कर्मचारी । तस्बिर चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२०७७ कार्तिक १३ बिहीबार ०८:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विषादी परीक्षण प्रयोगशालामा पूर्वाधार अभाव

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १३ बिहीबार ०८:१०:००

एउटै कोठाबाट तीन जिल्लाको परीक्षण, मेसिन र कर्मचारी एउटै कोठामा सीमित

भारतबाट भित्रने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला पूर्वाधार अभाव झेलिरहेको छ । प्रदेश १ का तीनवटा जिल्लाका विभिन्न नाका भएर भारत हुँदै नेपाल भित्रने तरकारी तथा फलफूल परीक्षण यही प्रयोगशालामा हुने गरेको छ । तर, पूर्वाधार अभावका कारण प्रयोगशाला एउटा सानो कोठाबाट सञ्चालन भइरहेको छ ।

बिर्तामोड–५ स्थित कृषिथोकमा कृषि बजार व्यवस्थापन समितिले दिएको एउटा कोठामा सञ्चालन भइरहे पनि पूर्वाधार निर्माणमा सरोकारवाला निकायको ध्यान पुगेको छैन । सरकारले कार्यालय स्थापना गरे पनि भवनको उचित व्यवस्थापन नगर्दा कार्यालय सञ्चालनमा नै समस्या देखिएको छ । एउटै कोठामा परीक्षण मेसिन र त्यहाँ रहेका चारजना कर्मचारी बस्नुपर्ने बाध्यता छ । उक्त कार्यालयमा सुनसरीको भन्टाबारी, मोरङको रानी, झापाको काँकडभिट्टास्थित मेची र भद्रपुर भन्सारबाट आयत हुने फलफूल तथा तरकारीको विषादी परीक्षण हुँदै आएको छ । 

‘यहाँको अवस्था भनिसक्नु छैन । एउटै कोठामा चारजना कर्मचारी र मेसिन सबै अट्नुपरेको छ । कसरी बसेका छौँ, आफैँ अनुमान लगाउनुस्,’ प्रयोगशाला इकाइ प्रमुख विनयकुमार साहले भने, ‘यहाँ एउटा कुर्सी पनि राख्ने ठाउँ छैन ।’ 

हतारमा कार्यालय खुल्यो पूर्वाधारमा ध्यान पुगेन
भारतबाट विषादी भएका फलफूल तथा तरकारी धेरै भित्रिए भन्ने हल्ला आयो । ‘त्यसको एक सातामा कार्यालय त स्थापना भयो, तर सरकारले न भवनको व्यवस्थापन गरिदियो न त जनशक्तिको नै,’ इकाइ प्रमुख साह भन्छन्, ‘अहिले त्यही समस्या भोगिरहेका छौँ ।’ साँघुरो कोठाबाट कार्यालय सञ्चालन गर्नुपर्दा सोचेजस्तो काम पनि गर्न नसकिएको उनी बताउँछन् । ‘अरू जिल्लामा एउटा भन्सार नाकाको एउटा मात्र परीक्षण केन्द्र हुन्छ । यहाँ त हामीले चारवटा नाकाबाट भित्रने फलफूल तथा सागसब्जीको विषादी परीक्षण गर्नुपर्छ,’ साहले भने, ‘दैनिक ६०–७० वटा नमुना आउँछ । यो राख्ने ठाउँ पनि छैन । अनि कसरी धेरै परीक्षण गर्न सकिन्छ ?’ 

रसायनको असरले स्वास्थ्यमा जोखिम
त्यही एउटा कोठामा झन्डै एक करोड रुपैयाँ मूल्यबराबरको परीक्षण मेसिन र रसायनसमेत अटाएको छ । चारजना कर्मचारी पनि त्यही कोठामा बसेर काम गर्छन् । जसका कारण उनीहरूको स्वास्थ्यमा रसायनको असरको जोखिम देखिन्छ । विषादी परीक्षण गर्दा प्रयोग गरिएका रसायनले स्वास्थ्यमा समेत समस्या आउने गरेको साह बताउँछन् । एउटै कोठामा मेसिन, केमिकल र कर्मचारी बस्दा कर्मचारी नै बिरामी हुने समस्या देखिएको उनले बताए । ‘एउटै कोठामा चारजना बस्दै आएका छौँ । यसअघि त झन् पाँचजना थियौँ । एकजना सरुवा भए,’ उनी भन्छन्, ‘केमिकलको गन्ध उस्तै हुन्छ । जसका कारण टाउको दुख्ने समस्या कर्मचारीमा छ ।’

पर्याप्त कर्मचारी पनि अभाव
तीन वर्षअघि संघीय सरकारको मातहत रहने गरी स्थापना भएको कार्यालयमा पर्याप्त कोठा मात्र होइन, कर्मचारी पनि छैनन् । जसका कारण तीन जिल्लाका चार नाकाबाट आउने विषादीको नमुना परीक्षण गर्न समस्या हुने गरेको कार्यालय प्रमुख साहले बताए । ‘हामी यत्रो भार थेग्न सक्ने अवस्थामा छैनौँ । केन्द्र सरकारले दुईजना कर्मचारी दिएको छ । म प्राविधिक पनि हुँ र अर्को एकजना कार्यालय सहयोगी हुनुहुन्छ,’ उनले भने, ‘बिर्तामोड नगरपालिकाले एकजना प्राविधिक र कार्यालय सहयोगी दिएको छ । नगरपालिकाले सहयोग नगर्ने हो भने हामी काम गर्न सक्दैन थियौँ । अझै पनि दुईजना मात्र प्राविधिक छौँ । हामीलाई भ्याउनै मुस्किल छ ।’