मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०७:०६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सेल्फ आइसोलेसनमा म्याराडोना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०७:०६:००

एक निजी सुरक्षाकर्मी कोरोना भाइरस संक्रमित भएपछि अर्जेन्टिनी फुटबल लिजेन्ड डिएगो म्याराडोना सेल्फ आइसोलेसनमा बसेका छन् । राजधानी ब्युनर्सआयर्सस्थित घरमा उनी सेल्फ आइसोलेसनमा बसेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । सुरक्षाकर्मीको ज्वरो नघटेको र नाकले केही गन्ध थाहा नपाएपछि आइतबार उनको कोरोना परीक्षण गरिएको थियो । मंगलबार सुरक्षाकर्मीको कोरोना रिपोर्ट पजिटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु भयो । म्याराडोना आफ्ना सुरक्षाकर्मीसँग नियमित सम्पर्कमा थिए । म्याराडोनाको बिहीबार स्वाब परीक्षण हुनेछ । 

म्याराडोनाको तौल एक्कासि बढ्ने र घट्ने गरिरहन्छ । उनले लामो समयसम्म लागुऔषध सेवन गरेका थिए । प्रतिबन्धित लागुऔषध लिएकै कारण उनको स्वास्थ्य कमजोर बनेको चिकित्सकहरू बताउँछन् । म्याराडोनालाई दुईपटक हृदयाघात भइसकेको छ । गत जनवरीमा पेटको समस्या भएपछि उनको शल्यक्रिया गरिएको थियो । अत्यधिक रक्सी पिउने र ग्यास्ट्रिकले उनको शरीर कमजोर बनाएको चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य अवस्था कमजोर भएकाले म्याराडोनालाई कोरोना संक्रमण भएमा निकै जोखिम हुन सक्ने बताइन्छ । सन् २००४ मा अत्यधिक ड्रग्स सेवन गरेका कारण उनी महिनौँ अस्पताल भर्ना भएका थिए ।

म्याराडोना अहिले अर्जेन्टिनाको पहिलो डिभिजन फुटबल क्लबमा आबद्ध छन् । केही साताअघि पनि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । उनी आबद्ध क्लबका एक खेलाडीमा कोरोना पजिटिभ देखिएपछि सबै खेलाडी तथा स्टाफ सेल्फ आइसोलेसनमा बसेका हुन् । गत सातादेखि उनी प्रशिक्षणमा फर्किएका थिए । अर्जेन्टिनामा ११ लाखभन्दा बढी कोरोना संक्रमित छन् । कोरोना संक्रमित बढी भएको राष्ट्रको सूचीमा अर्जेन्टिना सातौँ स्थानमा छ । कोरोनाका कारण अर्जेन्टिनामा २९ हजार व्यक्तिले ज्यान गुमाएका छन् । 

– एजेन्सीको सहयोगमा