मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टिम गोल्डेन
२०७७ कार्तिक १३ बिहीबार ०६:५८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी चुनावमा ‘क्युवा फ्याक्टर’

Read Time : > 3 मिनेट
टिम गोल्डेन
२०७७ कार्तिक १३ बिहीबार ०६:५८:००

अमेरिकी राष्ट्रपतीय चुनावमा फ्लोरिडा राज्य पुनः महत्वपूर्ण देखिँदै गएको छ । फ्लोरिडा राज्यको चुनावमा क्युवाली आप्रवासीको सबैभन्दा बढी प्रभाव हुने गर्छ । अहिले दुई राष्ट्रपतीय उमेदवार ट्रम्प र बाइडेन उपयुक्त क्युवा नीतिमा घोत्लिन थालेका छन् । क्युवाको प्रश्न धेरै पहिले नै अप्रासंगिक भएको सोचिएको थियो । पूर्वराष्ट्रपति बाराक ओबामा दुई देशबीचको ‘शीतयुद्ध अन्त्य’ गर्न सन् २०१६ मा हवाना जाँदा ठूलो उत्साह छाएको थियो । त्यो समय ठूलो संख्यामा क्युवाली अमेरिकीहरू डेमोक्रेट्स पार्टीतर्फ ढल्किएकोमा स्वयं डेमोक्रेट्सहरू आश्चर्यमा परेका थिए ।

त्यस वर्षको राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनलाई विगतमा ओबामाले भन्दा बढी फ्लोरिडाका क्युवाली मूलका मतदाताले मत हाले । डेमोक्रेट्स पार्टीकी राष्ट्रपतीय उमेदवार क्लिन्टनले क्युवाविरुद्धको अमेरिकी नाकाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताएकी थिइन् । तर अहिले चार वर्षपछि अमेरिका र क्युवाबीच ‘पुनः शीतयुद्धको अवस्था’ छ । ट्रम्पले क्युवाविरुद्ध विभिन्न कठोर कदम चालेका छन् । उनले क्युवाविरुद्ध यात्रा प्रतिबन्ध लगाए । क्युवामा लगानी गर्न रोक लगाए ।

त्यस्तै ट्रम्प प्रशासनले हवानाको कूटनीतिक नियोगका अमेरिकी कूटनीतिज्ञलाई फिर्ता बोलायो । अहिले क्युवाबाट अमेरिका आउन चाहनेहरूको भिसामा कडाइ गरिएको छ भने अहिले अमेरिकामा बस्ने क्युवाली मूलका अमेरिकीलाई क्युवाभित्र रहेका परिवारलाई पैसा पठाउन रोक्ने प्रयास भइरहेको छ । क्युवाली मूलका अमेरिकीहरूमा ट्रम्पको नीतिप्रति असन्तुष्टि देखिए पनि एक सर्वेक्षणअनुसार सो समुदायको दुईतिहाइ हिस्सामा ट्रम्पको क्युवाको कम्युनिस्ट सरकारविरोध अडानप्रति समर्थन देखिन्छ ।

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीको उक्त सर्वेक्षण चुनावको दिनसम्म कायम रहेमा ट्रम्पले क्युवाली मूलका अमेरिकी समुदायको ६० प्रतिशत मत हासिल गर्न सक्छन् । यसअघिको चुनावमा ट्रम्पले यो समुदायको ५० प्रतिशतदेखि ५४ प्रतिशत मत पाएका थिए । क्युवामा क्रान्ति भएको ६२ वर्ष भइसक्यो, तर अझै पनि क्युवासँग जोडिएका विषय २९ इलेक्ट्रोरल भोट रहेको फ्लोरिडा राज्यमा महत्वपूर्ण चुनावी मुद्दा हुने गरेको छ ।

फ्लोरिडा क्यालिफोर्निया तथा टेक्ससपछि सबैभन्दा धेरै इलेक्ट्रोरल भोट भएको राज्य हो भने अहिलेको निर्वाचनमा १.४ करोड मतदाता क्युवाली मूलका छन् । यो समुदायको ठूलो बसोवास भएको राज्यमा यिनले चुनावलाई प्रभावित बनाउन सक्ने क्षमता राख्छन् । यसले अमेरिकाका दुई राजनीतिक दलले यो मतलाई आकर्षित गर्ने प्रयास गर्छन् ।

सन् १९५९ को क्रान्तिपछि क्युवाबाट भागेकाहरूको पहिलो पुस्ताका लागि ओबामाको क्युवाप्रतिको खुला नीति खतरनाक मूर्खता थियो । तिनका अनुसार ओबामाले तत्कालीन मानवअधिकारको विषयमा कुनै सर्त नराखी सम्बन्ध खुला गरेर कम्युनिस्ट सरकारलाई बल प्रदान गरे । क्युवाली कम्युनिस्टले अर्थतन्त्र बलियो बनाउने अवसर पाए । डेमोक्रेट्समाझ भने क्युवाली मूलका अमेरिकी समुदायका युवाहरूको सोचमा परिवर्तन आइरहेको भन्नेमा ढुक्क थियो । युवाहरूमा क्युवामाथि दबाब मात्र दिएर कुनै परिवर्तन हुन्छ भन्ने विश्वास कमजोर देखिन्थ्यो ।

पछिल्लो समय अमेरिका आएका क्युवाली आप्रवासीमा भने क्युवाली सरकार अपदस्त गर्न सकिन्छ भन्ने विश्वास पनि कम देखिन्छ । त्यसका साथै क्युवाभित्र बसोवास गर्ने परिवारसँग उनीहरू सञ्चार सम्पर्कमा हुने भएकाले उनीहरू खुला भ्रमण र नजिकको आर्थिक सम्बन्धको पक्षमा देखिए । क्युवाली मूलका अमेरिकीहरू वर्षौंदेखि डेमोक्रेटिक पार्टीप्रति नजिकिँदै गएको चर्चामाझ फ्लोरिडा इन्टरनेसनल युनिभसिर्टीको नयाँ सर्वेक्षणमा ७६ प्रतिशत क्युवालीले आफूलाई रिपब्लिकन बताएको परिणाम आएको छ । सन् २०१० देखि सन् २०१५ बीच अमेरिका पुगेका पाँच प्रतिशत क्युवालीले मात्र आफू डेमोक्रेट रहेको बताए भने बाँकीले आफूलाई स्वतन्त्र बताए । 

डेमोक्रेट्सहरूले आफ्नो पकड बढाएको भने पनि दक्षिण फ्लोरिडाका ल्याटिनो मतदातामाझ रिपब्लिकन पार्टी बढी सक्रिय र संगठित देखिन्छ । युवामा उग्र रिपब्लिकन समर्थकसमेत देखिन थालेका छन् । तीमध्ये सबैभन्दा चर्चित युट्युब व्यक्तित्व अलेक्जेन्टर ओटाओला पनि एक हुन् । सन् २००३ मा क्युवा छाडेका ओटाओला चर्का रेडियो कार्यक्रमविपरीत ठट्यौली शैलीमा ट्रम्पको पक्षमा वकालत गछ्र्रन् । उनी आफ्ना दर्शकलाई डेमोक्रेटिक पार्टीको ‘समाजवाद’तर्फको झुकावप्रति सचेत गराउँछन् । यसमा सबैभन्दा ट्रम्पले पनि उलेख्य प्रभाव पारेका छन् ।

क्युवामा क्रान्ति भएको ६२ वर्ष भइसक्यो । तर अझै पनि क्युवासँग जोडिएका विषय २९ इलेक्ट्रोरल भोट रहेको फ्लोरिडा राज्यमा महत्वपूर्ण चुनावी मुद्दा हुने गरेको छ । 

ट्रम्पले आफ्नो विज्ञापनदेखि समाजिक सञ्जालका पोस्टमा डेमोक्रेट्स पार्टी समाजवादतर्फ ढक्लिएको दाबी गर्छन् । यो सन्देश उनले क्युवाली शासनबाट उम्केका नागरिकलाई मात्र होइन, भेनेजुएली तथा निकारागुवाका आप्रवासीहरूलाई पनि लक्षित गर्ने गरेका छन् । ट्रम्पको यो शैलीले केही हदसम्म काम गरेको क्युवाली मूलका डेमोक्रेट सिनेटर जोसे ह्याभियर रोद्रिगेजले पनि स्विकारे । 

ट्रम्पले भाषणबाजीमा मात्र होइन, राष्ट्रपतिको अधिकार प्रयोग गरेर क्युवाको कम्युनिस्ट सरकारविरुद्ध निरन्तर दबाब राख्ने प्रयास गरेका छन् । पर्यटन, लगानी तथा व्यापार अवरुद्ध गर्नुका अतिरिक्त उनले हवानास्थित अमेरिकी दूतावास बन्द गरे । रहस्यमयी ध्वनि आक्रमण भएको बताएर दूतावास बन्द गरिएको थियो । ट्रम्पको पालामा क्युवाबाट अमेरिका आउन चाहनेहरूको भिसा अनुमतिमा पनि भारी कटौती भएको छ । सन् २०१४ मा ४१ हजार भिसा लागेकोमा अघिल्लो वर्ष १० हजार मात्रै लाग्यो । यसबीचमा परिवार पुनर्मिलन कार्यक्रम खारेज भयो । सन् २००७ यता यस कार्यक्रमअन्तर्गत १ लाख २५ हजार क्युवाली अमेरिकामा रहेका आफन्तकहाँ पुगेका थिए भने अहिले यो कार्यक्रम अवरुद्धजस्तो भएको छ । त्यति मात्र होइन, अमेरिका पुगिसकेका क्युवाली शरणार्थी धमाधम डपोर्ट भइरहेका छन् । 

यी कदममा क्युवाली मूलका अमेरिकीको विरोधाभासपूर्ण प्रतिक्रिया हुने गरेको छ । फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीको सर्वेक्षणमा सहभागी ७१ प्रतिशत क्युवाली मूलका अमेरिकीका अनुसार अमेरिकाले क्युवामाथि लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी असफल छ । तर, यो नीति असफल भए पनि ६० प्रतिशत सहभागीले आर्थिक नाकाबन्दीको समर्थन गरेका छन् ।

सर्वेक्षणका सहभागी धेरैले वासिंटनको क्युवा नीति तिनका लागि अन्य मुद्दाभन्दा महत्वपूर्ण नरहेको बताए । तिनले देशको अर्थनीति, स्वास्थ सेवा, नश्ल सम्बन्ध तथा अझ चीन नीति बढी महत्वपूर्ण रहेको बताए । विगतमा ओबामाले क्युवासँग अमेरिका नजिकिए क्युवाली सरकारलाई थप राजनीतिक तथा आर्थिक स्वतन्त्रताका लागि दबाब हुने दाबी गरेका थिए । डेमोक्रेट्स पार्टीले यो तर्कलाई धेरै प्रचार गरिरहेको छैन । ‘धेरै डेमोक्रेट्सले यस अग्रसरताको पक्षमा बलियो तर्क रहेको त मान्छन्, तर यसको पक्षमा वकालत गर्नु राजनीतिक रूपमा फाइदाजनक नभएको तिनको विचार छ,’ मियामीका पूर्वरिपब्लिकन कंग्रेस सदस्य कार्लोस कुरवेलोले भने । 

टिम गोल्डेन प्रोपब्लिकाका एडिटर एट लार्ज हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य