मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १३ बिहीबार ०७:१४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से तीन वर्षयताकै उच्च बिन्दुमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १३ बिहीबार ०७:१४:००

दसैँलगत्तै खुलेको सेयर बजारमा नेप्से परिसूचक करिब तीन वर्ष तीन महिनायताकै उच्च बिन्दुमा पुगेको छ । वाणिज्य बैंकहरूको लाभांशमा बोनसको हिस्सा बढ्न थालेसँगै बजारमा उछाल देखिएको हो । दसैँअघि पनि बजार वृद्धि हुँदै आए पनि वर्षकै उच्च बिन्दुनजिक पुग्दा अनिश्चय देखिएको थियो । 

बुधबार एकै दिन नेप्से परिसूचक ४१ दशमलव २० अंकले बढ्दा भने तीन वर्षअगाडिको उचाइमा पुगेको छ । नेप्से १ हजार ६ सय ४७ दशमलव ४५ बिन्दुमा पुगेको हो । यसअघि नेप्से २६ साउन ०७४ मा १ हजार ६ सय ५३ बिन्दुमा थियो । नेप्से हालसम्मकै उच्च बिन्दु १ हजार ८ सय ८१ भन्दा २ सय ३४ अंकले तल छ । यससँगै बजार २२ खर्ब रुपैयाँको भएको छ । बुधबार बजारमा रहेका सबै सेयरहरूको कुल मूल्य २२ खर्ब १ अर्ब रुपैयाँको भएको हो । यो हालसम्मकै उच्च हो । 

 वाणिज्य बैंकहरूको बोनस सेयर प्रभाव
वाणिज्य बैंक समूहगत परिसूचकमै सबैभन्दा धेरै सुधार भएको छ । यो समूहमा सबैभन्दा धेरै ४ दशमलव २७ प्रतिशत (५५ दशमलव १५ अंक) ले वृद्धि भएको हो । हालसम्म सञ्चालनमा रहेकामध्ये ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

न्यूनतम १० प्रतिशतभन्दा धेरै लाभांश प्रस्ताव गरेका बैंकहरूमध्ये दुईबाहेक सबैले १० माथि बोनस सेयर दिने घोषणा गरेका छन् । प्रतिफलका आधारमा कम प्रतिफल भए पनि बोनस सेयरको हिस्सा धेरै हुँदा भने यो समूहमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर बजारमा ४५ प्रतिशतभन्दा धेरै भार रहेको वाणिज्य बैंक समूहमा सुधार हुँदा नेप्सेले नयाँ उचाइ भेटेको हो । 

 ग्लोबल आइएईको १६ प्रतिशत
बुधबार नै ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको जानकारी नेपाल स्टक एक्सचेन्जमा पठाएको थियो । बैंकको यस दिन सेयर मूल्य ४ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।

हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये ग्लोबल सबैभन्दा धेरै बोनस सेयर दिने दोस्रो बैंक हो । एनआइसी एसियाले यसअघि १९ प्रतिशतसम्म बोनस सेयर दिने घोषणा गरेको थियो । बुधबार मूल्य बढ्ने प्रमुख १० कम्पनीमा ८ कम्पनी यही समूहबाट छन् । 

यस दिन कारोबारमा आएकामध्ये व्यापारमूलकबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । वाणिज्यपछि विकास बैंक, होटेल र वित्त कम्पनी समूहको परिसूचकमा उच्च सुधार छ । यी समूहमा क्रमशः २ दशमलव ९१, १ दशमलव ८९ र १ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो । 

 शिवश्री जलविद्युत्को भएन कारोबार
नेप्सेमा सूचीकरणपछि बुधबारबाट पहिलो कारोबार खुलेको शिवश्री जलविद्युत्को सेयर किनबेचमै आएन । कम्पनीले पहिलो कारोबारका लागि १ सयदेखि ३ सय रुपैयाँसम्मको मूल्य रेन्ज पाएको थियो । पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थको ३ गुणासम्म मूल्य दिइने गरिन्छ ।