मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १३ बिहीबार १०:००:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

साधारण सेयरमार्फत पौने ४१ खर्ब उठाउँदै ज्याक माको एन्ट ग्रुप

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १३ बिहीबार १०:००:००

विश्व इतिहासकै ठूलो आइपिओ : अलिपे सञ्चालन गर्ने चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपले ४० खर्ब ७० अर्ब रुपैयाँबराबर साधारण सेयर निष्कासन (आइपिओ) बाट उठाउँदै छ

अहिले विश्वकै ध्यान सेयर बजारको एउटा खबरले तानेको छ । त्यो हो, करिब पौने ४१ खर्ब रुपैयाँबराबर (३४ अर्ब ५० करोड डलर) को प्राथमिक सेयर निष्कासन (आइपिओ) । विश्वकै १७औँ धनाढ्यको सूचीमा रहेका ज्याक माको भुक्तानी र वित्तीय सेवाप्रदायक कम्पनी एन्ट ग्रुपले यो सेयर निष्कासन गर्न लागेको हो । विश्वकै सबैभन्दा ठूलो मोबाइल भुक्तानी प्रणाली सञ्चालन गर्ने अलिपेको संस्थापक एन्ट ग्रुपले नेपालको कुल गार्हस्थ्य उत्पादनभन्दा ३ अर्ब बढी रकम आइपिओमार्फत उठाउन लागेका हुन् । गत आवमा नेपालको अर्थतन्त्र ३७ खर्ब ६७ अर्ब पुगेको तथ्यांक विभागको अनुमान छ । 

एन्ट ग्रुपको आइपिओ निष्कासन विश्व इतिहासको हालसम्मकै ठूलो हो । तर, विश्वकै ठूलो परिमाणको आइपिओ निष्कासन अमेरिकी बजारमा होइन, चीन र हङकङको सेयर बजारमा हुँदै छ । यसको सूचीकरण सांघाई स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्जमा हुने भएको छ । ‘मानव इतिहासको सबैभन्दा ठूलो सेयरको मूल्य निर्धारण पहिलोपटक न्युयोर्कभन्दा बाहिर हुँदै छ,’ सिएनबिसीका अनुसार यही साता बिजनेस समिटमा ज्याक माले भनेका छन्, ‘पाँच वा तीन वर्षअघिसम्म पनि हामी यसबारे सोच्नसमेत सक्दैनथ्यौँ ।’  

एन्ट ग्रुपले निकाल्ने ३४ अर्ब ५० करोड डलरको आइपिओमध्ये १७ अर्ब २३ करोड डलर हङकङ र १७ अर्ब २३ करोड डलर सांघाईमा सूचीकृत हुने भएको छ । सेयर निष्कासनपछि एन्ट ग्रुपको आकार ३ खर्ब ३३ अर्ब डलरको बन्नेछ, जुन जेपी मोरगेन चेस, गोल्डम्यान स्याक्सजस्ता अमेरिकी ठूला वित्तीय ब्रान्डहरूको भन्दा ठूलो हो । प्रतिकित्ता करिब १०.३० डलरको दरमा निष्कासन हुने यस आइपिओपछि ज्याक मा विश्वको धनाढ्यको सूचीको ११औँ स्थानमा उक्लिने अनुमान गरिएको छ । हाल उनी संसारका १७औँ धनी व्यक्ति हुन् ।

सन् २००४ बाट सुरु भएको एन्ट ग्रुपले सञ्चालन गर्ने अलिपेका संसारभर १ अर्ब २० करोडभन्दा बढी ग्राहक छन् । यसले मासिक ७० करोडभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा दिँदै आएको छ । एन्ट ग्रुपले १ खर्ब ७३ अर्ब डलरबराबर सम्पत्ति व्यवस्थापन, २ खर्ब ९० अर्ब उपभोक्ता कर्जा जारी, ७ खर्बबराबर अनलाइन पेमेन्ट सेवा र १० करोड ७० लाखलाई म्युचुअल एड र हेल्थ केयर प्लानअन्तर्गत बिमा सेवा दिइरहेको छ । यद्यपि, चीनमा भइरहने नीतिगत फेरबदललगायतका कारणबाट यो आइपिओमा लगानी गर्नु जोखिम रहेकोसमेत विश्लेषण गरिरहेका छन् । ‘एन्टको द्रुततर वृद्धि परीक्षणका रूपमा हेरौँ न त भन्ने चीनको इच्छुकताको परिणाम हो,’ ब्लुमबर्गले लेखेको छ, ‘अहिले चीनले उपभोक्ता कर्जामा एन्टलगायत अन्य वित्तीय संस्थाहरूले लिइरहेको ब्याजदरलाई नियन्त्रण गरिरहेको छ । यस्ता संस्थाहरूलाई अनुमति र पुँजीमा नयाँ व्यवस्था गरिएको छ ।’ सुशासन, सेयरको मूल्यांकन, प्रविधिगत जोखिमहरू पनि यो सेयरमा रहेको ब्लुमबर्गको विश्लेषण छ ।  

विश्वकै ठूलो आइपिओ निकाल्ने एन्ट ग्रुप कस्तो कम्पनी हो

अलिबाबाका संस्थापक ज्याक माकै अर्को कम्पनी हो, एन्ट ग्रुप । यसले डिजिटल पेमेन्ट गेटवे अलिपे सञ्चालन गर्छ, जुन संसारको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट प्लेटफर्म हो । संसारभर यसका १ अर्ब २० करोडभन्दा बढी ग्राहक छन् । सन् २०१३ मा यसले संसारको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट कम्पनीका रूपमा पेपललाई उछिनेको थियो । सुरुमा इ–कमर्सको विशाल कम्पनी अलिबाबा र अहिले एन्ट ग्रुपका माध्यमबाट माले चीनको इन्टरनेट उद्योगमा रूपान्तरणकारी प्रभाव पारेका छन् । 

यी कम्पनीका करोडौँ ग्राहक छन् । ‘अलिबाबा : ज्याक माले बनाएको घर’ पुस्तकका लेखक तथा लगानी परामर्श कम्पनी बिडिए चाइनाका अध्यक्ष डुकान क्लार्क भन्छन्, ‘चीनको यस्तो कुनै पनि ठाउँ छैन, जहाँ अलिबाबा र एन्टको प्रभाव नपरेको होस् । तपाईं चीनमा हुनुहुन्छ भने तपाईं हरेक दिन अझ कतिपय अवस्थामा त हरेक घन्टामा ज्याक माले स्थापना गरेका कम्पनीसँग जोडिनुहुन्छ ।’ एन्ट ग्रुपको मेरुदण्ड अलिपे नै हो । 

ज्याक माले अनलाइन सपिङ उद्योग सुरु गरेपछि चीनका सरकारी बैंकहरूले अनलाइन भुक्तानी दिन तथा साना व्यवसायीलाई छिटो कर्जा दिन असमर्थ रहे । ‘केही सय डलर ऋण चाहने साना व्यवसायीलाई बैंकको लामो प्रक्रिया पूरा गर्न अप्ठ्यारो थियो,’ वित्तीय प्रविधि परामर्श कम्पनी क्याप्रोनासियाका संस्थापक जेनन क्याप्रोनलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘माले यसलाई पूरा परिवर्तन गरिदिए, ‘अलिपेमा मानिसहरूले स–साना ऋणको आवेदन दिन सक्छन् र तत्काल प्राप्त गर्न पनि सक्छन्,’ उनी भन्छन्, ‘साथै, मानिसहरूले यसको माध्यमबाट भुक्तानी गर्न पनि सक्छन् ।’

विश्वका १० ठूला निष्कासन

यसअघि सबैभन्दा ठूलो परिमाणको सेयर निष्कासन गरेको साउदी अरबको साउदी एराम्कोलाई एन्टले पछि पार्ने भएको हो । साउदी एराम्कोले सन् २०१९ मा २९ अर्ब ४० करोड डलरबराबरको सेयर जारी गरेको थियो । एन्टको निष्कासनसँगै प्रमुख पाँच ठूला निष्कासनमा चिनियाँ कम्पनीहरू अग्रस्थानमा रहेका छन् । साउदी एराम्कोभन्दा अघि सन् २०१४ मा ज्याक माकै अलिबाबाले २५ अर्ब डलरको सेयर निष्कासन गरेको थियो । सन् २०१८ मा जापानको सफ्ट बैंक ग्रुपले २१ अर्ब ५० करोडको आइपिओ निष्कासन गरेको थियो । सन् २०१० मा एग्रिकल्चर बैंक अफ चाइनाले २२ अर्ब १० करोड र सन् २००६ मा इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाले २१ अर्ब ९० करोड डलर सेयर निष्कासन गरेको थियो । 

त्यस्तै, हङकङको एआएए ग्रुपले सन् २०१० मा २० अर्ब ५० करोडको आइपिओ निष्कासन गरेको थियो । अमेरिकाको जनरल मोटर्स कम्पनीले सन् २०१० मै २० अर्ब १० करोड डलरको सेयर निष्कासन गरेको थियो । जापानको एनटिटी डोकोमोले सन् १९९८ मा १८ अर्ब ४० करोडको सेयर निष्कासन गरेको थियो । अमेरिकाको भिसा इन्कले सन् २००८ मा १७ अर्ब ८० करोड, इटालीको एनेल ग्रुपले सन् १९९९ मा १७ अर्ब ४० करोडको सेयर निष्कासन गरेको थियो भने फेसबुकले सन् २०१२ मा १६ अर्ब डलर आइपिओबाट उठाएको थियो ।