मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०५:५७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

भूराजनीतिक हलचल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०५:५७:००

गतसाता भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल दुईदिने नेपाल भ्रमण सकेर दिल्ली फर्केपछिको तरंग अझै पनि काठमाडौंमा महसुस गरिँदै छ । झन्डै एक वर्षअघि नेपालको कालापानी–लिपुलेक क्षेत्र समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गरेपछि उत्पन्न गतिरोधले नेपाल–भारत सम्बन्धमा नराम्ररी पारेको प्रभाव हटाउन अझै बाँकी छ । यसबीच भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक हुँदै चिनियाँ सीमासम्म सडक विस्तार गर्‍यो । नेपालले लिपुलेक–कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्‍यो र त्यसलाई नेपालको संविधानको अंग बनाउन संसद्मा राष्ट्रिय सहमति कायम भयो । नेपाल र चीनबीच पछिल्ला वर्षमा बढ्दो राजनीतिक सम्बन्ध र नेपाल–चीन सीमापार यातायात सञ्जालको विकासका थप प्रयासपछि भारत र चीनबीच नेपालमा रानजीतिक प्रभावका लागि छद्मयुद्ध देखिने गरी नै सुरु भयो । यसको झिल्को भारतीय सञ्चार माध्यम र कतिपय राजनीतिक टिप्पणीकारले चिनियाँ राजदूत होउ यान्छीका विषयमा गरेका टिप्पणी, नेपाल र चीनबीच सीमाविवाद रहेको भन्ने विषय जबर्जस्त स्थापित गराउन खोजिएको बहस तथा भारतीय सेनापति एमएम नरवणेले दिएको विवादास्पद अभिव्यक्तिमा देखिएको थियो । 

यता चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै भारतविरुद्ध दिएको अभिव्यक्तिमा पनि नेपालको सत्तापक्षको केही दृष्टिकोण पोखियो । नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक तहमा संवादका लागि गरेको प्रयास भारतकै कारण असफल हुँदै आएको समयमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले नेपाल भ्रमण गरेका हुन् । यसको भूराजनीतिक प्रभावको मूल्यांकन गर्दै नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक पाइला चाल्नुपर्ने दबाब झनै टड्कारो महसुस गरिएको छ । 

भूराजनीतिक प्रभावको मूल्यांकन गर्दै नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक पाइला चाल्नुपर्ने दबाब झनै टड्कारो महसुस गरिएको छ

यता नेपालको सत्तापक्ष भने यस प्रक्रियामा भारतीय पक्षले दिन चाहेको सन्देशको भार खेप्न नसकेर प्रतिरक्षात्मक बन्न पुगेको छ । भारतीय वायुसेनाको जंगी जहाजमा आएका सामन्तले त्यही जहाजको प्रयोग गरी नेपाल भारतीय सुरक्षा छाताभित्र पर्छ भन्ने विश्वलाई एउटा सन्देश दिन चाहेका छन् । सामान्यतया विश्वका कुनै पनि गुप्तचर निकायका कर्मचारी र हाकिम आफ्ना काम गोप्य रूपमा र परिचय छलेर नै गर्ने गर्छन् । तर, गोयलले यसपटक खुलमखुला आएर आफ्नो उपस्थितिको जनाउ सबैलाई दिन चाहे । हुन त उनी भारतीय प्रधानमन्त्रीकै सन्देश लिएर नेपाल आएका होलान्, गुप्तचर निकायको प्रमुखभन्दा कूटनीतिक भूमिकामा देखिएका पनि होलान् । तर, उनको आगमन र फिर्तीलाई खुला जानकारीको विषय बनाएर भारतले नेपालप्रति लिने नीतिमा कसको भूमिका प्रमुख छ भन्ने सन्देश दिएको छ । 

यति नै वेला भारत–चीनको सीमामा लामो समयदेखि तनाव कायम छ । यसै साता भारत आएका अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले आफ्ना भारतीय समकक्षीसँगको संवादमा चीनलक्षित रणनीतिक साझेदारीमा सहमति गरेका छन् । नेपालसँगको भारतीय सम्बन्धमा पनि यी घटनाको प्रत्यक्ष–परोक्ष असर देखिने नै छ । यसै सेरोफेरोमा भारतीय प्रधान सेनापति नरवणे नेपालको तीनदिने भ्रमणमा अर्को साता नेपाल आउँदै छन् । भारतले अमेरिकासँग गरेको बेसिक एक्सचेन्ज एन्ड कोअपरेसन एग्रिमेन्ट अन जियोस्पाचियल कोअपरेसन अर्थात् बेका सम्झौता, द क्वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड)को बैठक, चीनसँगको तनाव आदि हाम्रो भूराजनीतिलाई तताउँदै गरेका संकेत हुन् । यता नेपालको वर्तमान नेतृत्व भने क्षणिक सत्तालाभका लागि यस्ता घटनालाई आफूअनुकूल व्याख्या गर्ने र देशका दीर्घकालीन हितलाई ओझेलमा पार्ने स्वार्थमा तल्लीन देखिन्छ ।