मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०५:०८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

दसैँका ६ दिनमा १९ हजार ३१ निको भए,  १३ हजार ८४५ नयाँ संक्रमित देखिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १३ बिहीबार ०५:०८:००

दसैँको अवधिमा सरकारी प्रयोगशालाहरूमा परीक्षण कम हुँदा कोरोना संक्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ । पछिल्ला ६ दिनमा १९ हजार ३१ संक्रमित निको भएका छन् । १३ हजार आठ सय ४५ मा संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दसैँको अवधिमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी देखिएको छ । ७ कात्तिक अर्थात् फूलपातीको दिनबाट कोरोना परीक्षण क्रमशः घट्दै गएको थियो । जसले गर्दा निको हुनेको संख्या बढ्दै गयो । ७ कात्तिकमा निको हुने दर ६८.९ प्रतिशत रहेकामा अहिले ७५ प्रतिशत पुगेको छ । दसैंको अवधिमा भएका परीक्षणमध्ये ९९ प्रतिशत निजी प्रयोगशालामा गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

फूलपातीको दिन १६ हजार आठ सय ६३ नमुना परीक्षण गरिएकोमा चार हजार चार सय ९९ जनामा संक्रमण देखिएको थियो । त्यो दिन दुई हजार ६ सय ६८ जना निको भएका थिए । मंगलबार दुई हजार सात सय २५ नमुना मात्रै परीक्षण गरिएका थिए, जसमा पाँच सय ७० जनामा संक्रमण देखिएको थियो । तीन हजार एक सय ६८ जना निको भएका थिए । बुधबार भने आठ हजार दुई सय ४८ नमुना परीक्षण गरिएको छ, जसमध्ये एक हजार नौ सय ५४ जनामा संक्रमण देखिएको छ । त्यस्तै, दुई हजार नौ सय ८१ जना निको भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिन आइसोलेसनमा बसेकालाई डिस्चार्ज दिएका कारण पनि निको हुनेको संख्या बढेको देखिएको हो । पछिल्लो समय १४ दिन आइसोलेसनमा बसेपछि पिसिआर नगरी काममा जान सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, लक्षण निरन्तर देखिएको अवस्थामा भने थप बस्नुपर्ने हुन्छ । संकमणबाट पछिल्लो २४ घन्टामा देशभर ११ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ सय ८७ पुगेको छ । बुधबार देशभर दुई सय ९० जना संक्रमित आइसियूमा छन् भने ७२ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत ९ माघदेखि बुधबारसम्म १४ लाख नौ हजार दुई सय ९५ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये एक लाख ६२ हजार तीन सय ५४ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक लाख २१ हजार आठ सय २४ जना निको भएका छन् । अझै सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ छन् । अस्पतालमा उपचार गर्ने क्षमता नभएपछि ३१ हजार नौ सय ३४ जनालाई घरमा राखिएको छ । सरकारी तथ्यांकअनुसार देशभरका अस्पतालमा २७ हजार शय्या मात्रै छन् ।