मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ११ मंगलबार १५:०८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सिराहाका पत्रकार चौधरीको निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार १५:०८:००

नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार बिहान निधन भएको छ । उनी ३५ वर्षका थिए ।  

सिराहाको सुखीपुर नगरपालिका– ८ स्थायी घर भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव रोयान्टर मण्डलले बताए । 

घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई हप्ता पहिले आर.के. मेडिसिटीमा शल्यक्रिया गर्दा पनि सञ्चो नभएपछि चौधरीलाई ७ कात्तिकमा धरान लगिएको मण्डलले बताए । 

धरान पुऱ्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि उपचारको क्रममा निधन भएको हो । 

आर.के. मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भीर बनेपछि मात्र रेफर गरिएकाले दुःखद निधन भएको भन्दै परिवारजनले गुनासो गरेका छन् । 

मृतक चौधरीको शव शवबाहनमार्फत सुखीपुर ल्याउँदै गरेको र मंगलबार अपराह्न स्थानीय गागन नदीको किनारमा दाहसंस्कार गरिने जनाइएको छ । 

चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

चौधरी पछिल्लो समय मिथिला आवाज साप्ताहिकको कार्यकारी सम्पादक र सलहेश तथा समाद एफएममा संवाददाता थिए ।

चौधरीका दुई छोरा, एक छोरी र पत्नी रहेका छन् ।