मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १० सोमबार ०८:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस दसैँमा सुनसान बन्यो पाथीभरा

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १० सोमबार ०८:४०:००

ताप्लेजुङमा रहेको प्रख्यात देवीको शक्तिपीठ पाथीभरा यस वर्षको दसैँमा पनि सुनसान बन्न पुग्यो । 

कोरोना भाइरसको महामारीका कारण मन्दिर दर्शनका लागि भक्तालुहरू आउन अनुमति नभएपछि दसैँका वेला पनि मन्दिर सुनसान बनेको हो । 

विगतका दसैँको नौरथामा दैनिक पाँच हजारदेखि १५ हजारसम्म भक्तजन आउने गर्दथे, तर यो वर्ष भक्तजनको आवतजावत शून्य नै रहेको छ । 

खासगरी दसैँका वेलामा विशेष पूजाका लागि भक्तजन आउने गर्दछन् । 

मन्दिर दर्शनका साथै प्रकृतिसँग खेल्न, मजा लिन पनि आन्तरिक पर्यटक यहाँ आउने गर्छन् । 

पाथीभराबाट देखिने नेपालको दोस्रो तथा विश्वको तेस्राे अग्लो हिमाल कञ्जनजंघा, कुम्भकर्ण आँखाका अगाडि हातले छोइलाजस्तो आभाष यहाँ आउनेहरूलाई हुने गर्दछ । 

जिल्लामा पनि कोरोनाको संक्रमण देखिएपछि जिल्ला प्रशासनले पाथीभरा मन्दिरमा दर्शनका लागि प्रतिबन्ध लगाएको छ । 

मन्दिरको दर्शनका लागि आउने–जानेहरूबाट कोरोना संक्रमणको सम्भावना बढ्ने डरका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा तत्कालका लागि प्रतिबन्ध लगाएको जिल्ला प्रहरी प्रमुख डिएसवी महेन्द्र श्रेष्ठले बताए । 

दसैँका वेला भक्तजनको ठूलो उपस्थिति हुने र यसरी भिड हुँदा अहिलेको अवस्थामा कोरोना संक्रमणको फैलावट बढ्ने डरका कारण मन्दिरमा नित्य पूजाबाहेक दर्शन, अवलोकन र भ्रमण रोक लगाइएका कारण सर्वसाधारण मन्दिरमा आउन नपाएको मन्दिरका पुजारी डिल्ली आचार्यले बताए । 

पाथीभरामा नेपालबाट मात्र नभई भारतको सिक्किम, दार्जिलिङ, आसाम, गान्तोक र बंगालका नागरिकसमेत दर्शनका लागि आउने गर्छन् ।