मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ९ आइतबार १९:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्सा घटनामा सरकारको भूमिकामाथि प्रचण्डले उठाए प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ९ आइतबार १९:४२:००

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले आनाकानी गरेको आरोप लगाएका छन्। 

६ कात्तिकमा पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथग्रहण कार्यक्रममा भएको झडपमा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको थियो ।

तर, आक्रमण गर्नेमाथि मुद्दा चलाउन ढिला भएको भन्दै प्रचण्डले स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । 

‘हत्याजस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले जारी गरेकाकाे विज्ञप्तिमा छ।

प्रचण्डले पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भर्त्सना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गर्दै वक्तव्य जारी गरेको र कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गरेको पनि जनाएका छन् । 

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले पनि दोषीमाथि कारबाहीको माग गरेका थिए । नेकपा अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताको आक्रमणमा आफ्नो समूहका नेता मारिएको प्रचण्ड–नेपाल पक्षको दाबी छ । 

झडपमा परेर मृत्यु भएका चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै शनिबार प्रदर्शन भएको थियो । 
 
जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा सम्बोधन गर्दै नेकपाका नेता मातृका यादवले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए।