१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस राजविराज
२०७७ कार्तिक ८ शनिबार २१:१२:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

‍‍‍...जहाँ देवीकै मन्दिरमा महिलालाई प्रवेश निषेध छ !

Read Time : > 1 मिनेट
रासस राजविराज
२०७७ कार्तिक ८ शनिबार २१:१२:००

जनकपुरमा नवरात्र प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भिड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।

प्राचीन मिथिलाको राजधानी तथा अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुरको श्रीराम मन्दिरको उत्तरपट्टि रहेको राजर्षि जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अहिले पनि कायमै छ । 

सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ, त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ।

राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ । 

त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुन सक्ने केहीको अनुमान छ ।

परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भने, ‘वि.सं. २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बलि चढाइएको थियो ।’ 

दसैँमा राम मन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेर बदल नभए पनि पूजा गर्ने द्वार र महिलाको प्रवेशमा फरक हुने गरेको छ । 

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई मन्दिरभित्र प्रवेश निषेध गरिए पनि त्यसपछि उनीहरूका लागि पनि खुला हुने महन्थ गिरीले बताए । 

घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् । 

यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछुतको अन्त्य गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् ।

महिला अधिकारकर्मी तथा महिला पुनर्स्थापना केन्द्र धनुषाकी संयोजक रोजलिन बछारले भनिन्, ‘यो कस्तो धर्म संस्कृति हो, जहाँ शक्तिस्वरूपा महिलाको पूजा हुन्छ, त्यहीँ महिलालाई नै पूजापाठमा बन्देज र दुर्व्यवहार  यस्ता परम्परामा सुधार हुनैपर्छ ।’ 

केही स्थानीयवासीपरापूर्वकालदेखि चल्दै आएको परम्परालाई अनादर गर्नु उचित होइन भन्छन् । नगराइन नगरपालिका घोडघासका मिथिलेश झा भन्छन्, ‘परम्परा र चलिआएको धार्मिक मान्यतालाई चुनौती दिनुको कुनै अर्थ छैन । देवी–देवताको पूजा मनको आस्थाले हुन्छ । मन्दिरभित्र नै प्रवेश गरेर मात्र पूजा गर्नैपर्छ भन्ने कुनै आवश्यकता छैन ।’ 

राजदेवी मन्दिरजस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वारसम्म पनि बडादसैँमा महिलाको प्रवेश निषेध गरिन्छ । जानकी मन्दिरमा महिलाले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन र पूजा गर्न पाउँछन् ।