मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ७ शुक्रबार १९:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक महिनासम्म पिसिआर परीक्षणको रिपोर्ट नदिँदा बिरामीको अप्रेसन रोकियो 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार १९:४१:००

 चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले  एक महिनासम्म पनि कोरोना परीक्षणकाे  रिपोर्ट नदिएपछि अप्रेसन गर्नुपर्ने बिरामी मर्कामा परेका छन् । 

चितवनको खैरहनी नगरपालिका– ६, तुलसीपुरनिवासी चंकली महतो धनुकको कोरोना परीक्षणको रिपोर्ट महिना दिन कट्दासमेत अस्पतालले नदिएको हो ।

तल्लो पेटको समस्या देखिएपछि ४ असोजमा अस्पताल आएकी ती बिरामीलाई चिकित्सकले पाठेघरको अप्रेसन गर्नुपर्ने र कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनेका थिए।

छिटो उपचार हुने आसमा सोही अस्पतालमा दुई हजार रुपैयाँ तिरेर पिसिआर परीक्षण गराएको भए पनि उनको अझैसम्म रिपोर्ट आएको छैन ।  

चंकलीका श्रीमान् पुरन महतोले भने, ‘४ गते अस्पताल ल्याएको थिएँ । सबै परीक्षण भए पनि कोरोनाको रिपोर्टका कारण अप्रेसन नहुने भयो । कोरोना परीक्षणको रिपोर्ट ल्याएपछि मात्र अप्रेसन हुने भनेर अस्पतालले ५ असोजमा घर पठाइदियो । रिपोर्ट नआउँदा उनको उपचारको काम अहिलेसम्म अघि बढेको छैन । 

उनले आज ७ असोजमा कोरोना परीक्षण गराउँदाको बिल देखाउँदै भने, ‘एक हप्तामै रिपोर्ट आएको समाचारहरू सुनेको थिएँ । म पटकपटक अस्पताल पुग्दासमेत अहिलेसम्म रिपोर्ट पाएको छैन ।’ 

उनले अस्पताल प्रशासनले जहिले आउँदा पनि ‘भोलि आउनु’ भन्दै उल्टो कर्मचारीहरू झर्कने गरेको बताए । दर्जनौँपटक अस्पताल धाउँदा पनि रिपोर्ट नपाएका पुरनले अस्पतालसँग कि रिपोर्ट, कि पैसा फिर्ताको माग गरेका छन् । उनका अनुसार अस्पताल प्रशासन यी दुवै कुरा मान्न तयार देखिँदैन । 

अस्पतालका प्रयोगशाला प्रमुख डा. सञ्जय यादवले आफूले जानकारी पाएको भन्दै थप बुझ्ने बताए ।

यसअघि सिएमसीको प्रयोगशालामा २४ घन्टामै पिसिआरको फरकफरक रिपोर्ट आएको समाचारसमेत सार्वजनिक भएको थियो ।