मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ७ शुक्रबार १७:२५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हेटौँडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा, अधिकांश घाटामा

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार १७:२५:००

क्षेत्रफलको आधारमा देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योग सञ्चालनमा आएका छन् । 

लकडाउनका कारण बन्द भएका ६० प्रतिशत उद्योग एक साताअघिदेखि सुचारु भएसँगै औद्योगिक क्षेत्रका सबै एक सय ११ वटै उद्योग सञ्चालनमा आएका हुन् ।

लकडाउनमा अत्यावश्यक र खाद्यान्न सामग्री उत्पादन गर्ने बिस्कुट, चाउचाउ, बेकरी, पानी, दाना र दुग्ध उद्योगबाहेकका ६० प्रतिशत पूर्ण रूपमा बन्द थिए । सार्वजनिक यातायात सुचारुसँगै मजदुर आउन थालेपछि सबै उद्योग सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार अत्यावश्यक सामग्री र खाद्यान्न उत्पादन गर्ने ८० प्रतिशत र रासायनिक पदार्थ, निर्माण सामग्री, मेसिनरी, धुम्रपान, पेयपदार्थ र प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । 

औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब पाँच अर्ब ५० करोड र सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रका उद्योगमा हाल १० हजार  पाँच सय रोजगाररत छन् ।

अधिकांश उद्योग घाटामा

हेटौँडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा आए पनि अधिकांशले नोक्सानमै सुचारु गरेका छन् ।

उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलका अनुसार उद्योग सञ्चालनमा आए पनि अधिकांशले ४० प्रतिशतसम्म घाटा व्यहोरिरहेका छन् । उत्पादन क्षमता घटाएका उद्योगहरूले ४० प्रतिशतसम्म घाटा व्यहोरेको उनको दाबी छ ।
‘अत्यावश्यक र खाद्यान्न सामग्री उत्पादन गर्नेबाहेकका उद्योगले अहिले ५० प्रतिशतसम्म उत्पादन क्षमता कटौती गरेका छन्,’ उनले भने, ‘माग कम हुँदा उत्पादन र बिक्री कम हुने हुँदा ४० प्रतिशतसम्म घाटा व्यहोरेर ६० प्रतिशत उद्योग सञ्चालन भइरहेका छन् ।’ उनले फर्निचर फर्निसिङ, मेटल उद्योगहरू अहिले पनि शतप्रतिशत घाटामा रहेको बताए।

अब शुक्रबारबाट ६ दिन ९० प्रतिशत उद्योग बन्द हुने उद्योग संघले जनाएको छ । दसैँ बिदाका कारण दुग्ध, पानी उत्पादन गर्नेबाहेकका सबै उद्योग बन्द हुने अध्यक्ष पोखरेलले जानकारी दिए ।