मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक ७ शुक्रबार १२:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शपथग्रहण समारोहमा भएको झडपमा घाइते भएका नेकपाका गाउँपालिका सचिवको मृत्यु, तीन पक्राउ

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार १२:३०:००

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ ।

बिहीबार अपराह्न १ बजे भएको दुईपक्षीय झडपमा गम्भीर घाइते बनेका गाउँपालिका सचिव चौरसियाको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

उनको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

गम्भीर घाइते चौरसियाको टाउकोमा गम्भीर चोट भएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहीबार अपराह्न १ बजे भएको दुवै पक्षका मृत्यु भएकासहित आठजना घाइते भएका थिए । 

झडपमा सक्रिय एक पक्षका दुईजना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको नेसनल मेडिकल कलेजमा उपचार हुँदै छ भने अर्का पक्षका घाइतेहरूको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

किन भयो झडप ?
नेकपा पर्साका नेताहरूबीच आन्तरिक विवादका केही सातायता अलगअलग शपथग्रहण कार्यक्रम हुँदै आएको छ । 

त्यहीअनुसार एक पक्षले विन्दवासनी गाउँपालिका– ५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथग्रहण आयोजना गरेको थियो भने अर्काे गुटका कार्यकर्ताले कार्यक्रममा सहभागी हुन नपाउँदा असन्तुष्टि जनाउँदै विरोध गरेपछि झडप भएको थियो । 

कार्यक्रमस्थलमा विवाद भएपछि दुवै पक्षबाट लाठी हानाहान भएको थियो । दुवै पक्षबाट मृतकसहित आठजना घाइते भएका छन् । 

जसमध्ये सामान्य उपचार गराएर तीनजना डिस्चार्ज भएका छन् ।

नेकपा पर्साका नेताहरूका आन्तरिक गुटबन्दीले ठूलो विवाद भएपछि घटना घटेको नेताहरूले बताएका छन् । 

झडपमा सहभागी प्रहरी नियन्त्रणमा

शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । 

उनले  पार्टीगत विवादमा सहभागी भएर झडप गरेकालाई नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार जिल्लाको पार्टीगत विवादमा सहभागी भएकाे र ठूलो झडप भएकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको हाे ।

जिल्लाका विभिन्न कार्यक्रमबारे प्रहरीलाई पूर्वजानकारी नगराइएकाले शपथग्रहण कार्यक्रममा प्रहरी नपुगेको बताए ।

नेकपा पर्साका अध्यक्ष प्रभु हजराले पर्सामा ठूलो विवादको रूपमा देखिएको यो घटना दुःखदायी रहेको बताए ।