मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०७:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ पछिको पर्यटनमा उत्साह दैनिक २० देखि २५ समूहलाई अनुमति

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०७:२५:००

कोभिड–१९ को संक्रमणबीच पनि नेपाल भ्रमणमा विदेशी पर्यटक आउन थालेका छन् । सरकारले सात महिना बन्द गरेको पर्यटन क्षेत्र यही कात्तिकदेखि विदेशी पर्यटकलाई खुला गरेको हो । पर्यटकलाई खुला गर्नेबित्तिकै दैनिक २० देखि २५ वटा समूहले अनुमति पाइरहेका छन् । 

११ चैतदेखि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै बन्द गरिएको विदेशी पर्यटकको आगमन १ कात्तिकबाट खुलाइएको हो । ७ महिनामा ७० अर्बभन्दा बढी क्षति व्यहोरेको पर्यटन क्षेत्र पर्यटकलाई खुला गरेसँगै उत्साहित देखिएको छ । सरकारले कोभिड–१९ कायमै रहेका कारण सहरी क्षेत्रमा भन्दा पनि पहाडी र हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणको प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । 

महामारीमै खुलेको पर्यटन क्षेत्रमा विदेशी पर्यटकको आगमनको सुरुवातले पर्यटन क्षेत्र उत्साही भएको छ । ‘हामीले नसोचेको उत्साह आएको छ, सन् २०२१ मा नेपालमा पर्यटक संख्या राम्रै  आउने संकेत गरेको छ,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले भने । अहिले मुख्य सिजन भएकाले पदयात्राका लागि बढी बुकिङ र अनुमति जारी गरिएको छ ।

 पुराना बुकिङ अधिकांश रद्द भए पनि केही नयाँ तथा केही पुराना आइरहेकाले पर्यटन क्षेत्र केही उत्साही भएको अध्यक्ष सुवेदी बताउँछन् । अहिले पदयात्रा र पर्वतारोहणमा मात्रै पर्यटक आउने भएकाले दैनिक २० देखि २५ समूहले अनुमति लिइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए । गत ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले यसअघि नै खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् । 

सरकारले पर्यटकलाई ५ हजार डलरबराबरको बिमा अनिवार्य गरिएको छ र ७ दिन क्वारेन्टाइनले केही आउन खोजेका पर्यटक पनि रोकिएको र रद्द भइरहेको अवस्थालाई भने सरकारले तत्काल सम्बोधन गर्नुुपर्ने उनको भनाइ छ । सरकारले विदेशी पर्यटकलाई अनिवार्य ७ दिने क्वारेन्टाइनको व्यवस्था गरेको छ । ५ हजार डलरको बिमासमेत अनिवार्य भएकाले समस्या आएको उनको भनाइ छ ।

पर्यटकले नेपालमा कोरोना सार्नेभन्दा पनि पर्यटकलाई संक्रमण हुने खतरा भएको अवस्थामा ५ हजार डलरको बिमा राख्नु व्यावहारिक नभएको उनको भनाइ छ । यता पिसिआर रिपोर्टलाई मान्यता दिने र नेपालमा पनि तुरुन्त परीक्षण गरेर घुम्न जान दिनुपर्ने उनको भनाइ छ । अहिलेको अवस्थाले लामो समय बस्न आउने पर्यटक मात्रै आउने भएकाले तत्काल समस्या समाधान भए रिकभरीको चरणमा प्रवेश गर्ने दाबीसमेत सुवेदीले गरेका छन् । 

‘पर्यटन क्षेत्र खोल्नेबित्तिकै सकारात्मकतर्फ गएको छ, यसमा हामी सबै उत्साहित छाैँ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । बिमाको प्रमियम २ सय डलर मात्रै भएकाले खासै भार पर्दैन, तर क्वारेन्टाइनको विषयमा भने छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने रेग्मीले बताए ।

विश्वभर विदेशी पर्यटकलाई स्वास्थ्य मापदण्ड लागू गरेर खुला गरिरहेको सन्दर्भमा नेपालमा पनि खुलाएर सकारात्मक सन्देश गएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘खोल्नेबित्तिकै पर्यटकहरू आइहाल्ने भन्दा पनि नेपालमा वर्षमा एकपटक आउनेहरू जसले पहिले नै प्याकेज किनेर राखेका छन्, ती पर्यटक आएका छन्,’ शाहले भने । 

नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिई नेपाल आउन सक्ने व्यवस्था गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहणअनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ । 

कोरोनाका कारण बन्द रहेका मनाङका होटेल खुले