१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०५:२२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खुम्चियो नेप्सेको वृद्धि : कारोबार रकम भने २२ प्रतिशतले बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०५:२२:००

लगातार तेस्रो दिन दोहोरो अंकले बढेको नेप्सेको वृद्धि खुम्चिएको छ । दसैँअघिको अन्तिम कारोबारमा नेप्से ८ दशमलव ५४ अंकले वृद्धि भएर १ हजार ६ बिन्दु माथि आएको छ । नेप्से १ हजार ६ सय ६ दशमलव २६ बिन्दुमा पुगेको हो । बजारको वृद्धिदर सुस्तिए पनि लगानीकर्ता उत्सुक भने देखिएकै छन् । कारोबार रकम २२ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । लगानीकर्ता दसैँपछिको बजार बढ्ने अपेक्षामा छन् । 

कारोबारमा आएकामध्ये होटेल, जलविद्युत्, जीवन बिमा र सामूहिक लगानी कोषका समूहगत परिसूचक मात्रै घटेका छन् । बिहीबारको सुरुमै करिब १० अंकले बढेको बजार लगत्तै घटेको भए पनि पुनः बढ्न थाल्यो । लगानीकर्ता बजारको वृद्धिलाई लिएर तीव्र मोलमोलाइमा छन् । बजार बढे पनि नेप्सेको सानो शरीर र लामो तल्लो धागो भएको मैनबत्ती आकृति बनेको छ । यसलाई हयांगिङ म्यान आकृति भनिन्छ । यसले बजार घट्न सक्ने संकेत गरे पनि यसलाई मध्यम संकेत मानिन्छ । आगामी कारोबार हेरेरै निर्णय लिन सकिन्छ । 

यस दिन कारोबारमा आएका १ सय ८७ धितोपत्र वा ऋणपत्रमा ७४ कम्पनीको मूल्य बढेको र ७४ को घटेको छ । बढेको कम्पनी र घटेको कम्पनीका आधारमा निकालिने एडभान्स र डिक्लाइन (एडी रेसियो) ले बजारले निश्चित दिशा लिन नसकेको संकेत गर्छ । यो अनुपात १ भन्दा माथि भए बजार बुलिस र मुनि रहे बजार बियरिस रहेको मानिन्छ । बिहीबार यो अनुपात १ छ । 

त्यस्तै, अहिले पनि ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा सँगसँगै अगाडि बढिरहेका छन् । यसले पनि बजारले स्पष्ट दिशा नलिएको देखाउँछ । १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि कुमारी बैंकमा लगानीकर्ता तानिएका छन् । यस दिन कुमारी बैंकको मात्रै १४ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य भने १ रुपैयाँले मात्रै वृद्धि भएको छ । बैंकहरूले लाभांशमा बोनसको हिस्सा वृद्धि गरेसँगै बजारले थप गति लिइरहेको छ । 

 गुराँस लाइफसँग स्पष्टीकरण माग
त्यस्तै, नेप्सेले लाभांश घोषणा फेरबदल गरिरहेको भन्दै गुराँस लाइफ इन्स्योरेन्सलाई स्पष्टीकरण माग गरेको छ । कम्पनीले पहिले १३ दशमलव १० प्रतिशत बोनस घोषणा गरेकोमा दोस्रोपटक भने ५ दशमलव २५ प्रतिशत बोनस हुने घोषणा गरेको थियो । के–कति कारणले लाभांश दर फेरिरहेको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।