मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
क्लाउडियो सोप्रान्जेटी
२०७७ कार्तिक ७ शुक्रबार ०६:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इतिहास बनाउँदै थाई प्रदर्शन

Read Time : > 2 मिनेट
क्लाउडियो सोप्रान्जेटी
२०७७ कार्तिक ७ शुक्रबार ०६:३२:००

दशकौँपछि पहिलोपटक मानिसहरू खुला रूपमा राजतन्त्रविरुद्ध प्रश्न उठाइरहेका छन् 

केही समयदेखि दसौँ हजार मानिस बैंककका सडकमा उत्रिएर जनरल प्रयुथ चान–ओचाको सरकारको राजीनामा मागिरहेका छन् । प्रदर्शनकारीले नयाँ संविधान र थाई राजतन्त्रसम्बन्धी कानुनी, राजनीतिक र आर्थिक सुधारको माग गरिरहेका छन् । गृष्म सुरु भएसँगै मानिस सडकमा आउन थालेका थिए । त्यो समय प्रदर्शनमा मुख्यतः विद्यार्थीहरूको सहभागिता थियो । मिम तथा राजनीतिक प्रहसनमार्फत युवा विद्यार्थीले सरकारको कामको आलोचना गरेको देखिएको थियो । युवापुस्ताको आक्रोश सुरुमा प्रधानमन्त्री प्रयुथविरुद्ध सोझिएको थियो । पूर्वजनरल प्रयुथ सन् २०१४ को कुपछि सरकारको नेतृत्वमा आएका थिए । त्यसपछि सन् २०१९ को विवादित निर्वाचनबाट उनी पुनः सत्तामा आए । प्रयुथको सरकार देशमा छाएको आर्थिक संकटलाई सम्बोधन गर्न असफल भइरहेको समयमा महामारी छायो र परिस्थिति झन् बिग्रियो । 

सुरुको प्रदर्शनलाई सरकारले बेवास्ता गर्‍यो । तर, सरकारको बेवास्ताबीच आन्दोलनले आकार लिइरहेको थियो । अगस्टसम्म आइपुग्दा प्रदर्शनकारीको मागमा परिवर्तन देखिन थाल्यो । २१ वर्षे विद्यार्थी प्रदर्शनकारी पनुसया सिथिजिरावात्नकुलले प्रदर्शनकारीहरूलाई पढेर सुनाएको पाठले समग्र आन्दोलनको माग बदलिदियो । ‘मभित्र एउटा डर लुकिबसेको थियो, परिणाम के होला भन्ने डर । तर, अहिले मेरो जीवन सधैँका लागि बदलिएको छ,’ पनुसयाले बिबिसी थाई सेवालाई भनिन् । पनुसयाले पढेर वाचन गरेको कागजमा कैयौँ अभूतपूर्व मागहरू थिए । मुख्यतः माग यस्ता थिए : राजपरिवारले पाइरहेको कानुनी छुट हटाइनुपर्ने, राजपरिवारको आलोचना गर्नेहरूलाई दण्डित गर्ने कानुन खारेज गर्नुपर्ने, राजपरिवारको बजेट कटौती गर्नुपर्ने, राजपरिवारका लगानी पारदर्शी हुनुपर्ने र तीमाथि कर लगाइनुपर्ने, राजपरिवारका सदस्यले राजनीतिक विचार व्यक्त गर्न प्रतिबन्ध लगाउनुपर्ने । त्यस्तै, राजपरिवारको महिमागान गर्ने सम्पूर्ण प्रोपोगान्डा खारेज गर्नुपर्ने, राजपरिवारको आलोचना गर्दा पछिल्लो समय बेपत्ता भएकाहरूको छानबिन गर्न अनुसन्धान हुनुपर्ने र राजाले कुनै पनि कुको समर्थन गर्ने कार्यलाई गैरकानुनी घोषणा गर्नुपर्ने माग पनि छ ।

आन्दोलनको भविष्य अझै अनिश्चित छ । तर, परिणाम जे भए पनि राजा र राजपरिवारप्रति फेरिएको बोलीले नयाँ रूपान्तरण प्रतिबिम्बित गर्छ । यसले राजतन्त्रको प्रभावको क्षयलाई प्रतिबिम्बित गर्छ । 

सन् १९३० को दशकयता थाइल्यान्डमा राजतन्त्रविरुद्ध यो स्तरको आवाज कहिल्यै सुनिएको थिएन । त्यो समय केही युवा कर्मचारीले सेनाको ठूलो हिस्साको समर्थन लिएर निरंकुश राजतन्त्रको अन्त्य गरिदिएका थिए । आजका प्रदर्शनकारीका लागि ती युवा कर्मचारी प्रेरणाका स्रोत भएका छन् । तर, सेना भने फेरिएको छ । आज सेनाले राजपरिवारको शक्ति संरक्षणमा आफ्नो भलाइ देख्न थालेको छ । दश मागको नामले चिनिने प्रनुसयाको मागले आन्दोलनलाई सोचिएजस्तो विभाजित गरेन । बरु समाजका विभिन्न तप्का आन्दोलनमा तानिएका छन् । अहिले विभिन्न पुस्ता र सामाजिक वर्गहरू आन्दोलनमा आकर्षित भएका छन् । अक्टोबर १४ मा दशौँ हजार मानिस सरकारी भवनअघि उभिएर प्रयुथको राजीनामा मागे । भोलिपल्टै जनरलले मागको बेवास्ता गरेर देशमा संकटकाल घोषणा गरे । अहिले पाँचजनाभन्दा बढी मानिसको भेलालाई गैरकानुनी घोषणा गरिएको छ । पनुसयासहित प्रदर्शनका कैयौँ नेताहरू पक्राउ परेका छन् । जनरलले प्रदर्शन जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन् । 

संकटकालको घोषणा, पक्राउ तथा प्रशासनको धम्कीका बाबजुद बैंकक र देशका अन्य भागमा प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारीमाथि पानी तथा अश्रुग्यास प्रहार भएको छ । दिनदिनै प्रदर्शन उग्र भइरहेको छ र निसानामा प्रयुथका साथसाथै राजपरिवार पर्दै छन् । अहिलेको आन्दोलन विगत दुई दशकको राजनीतिक संघर्षको उत्कर्षको रूपमा देखिएको छ । यस अवधिमा लोकतन्त्र र अधिनायकवादी शक्तिबीच भएका तमाम संघर्षमा थाई राजा अधिनायकवादीको पक्षमा उभिएको देखियो । थाइल्यान्डमा हाल देखिएको परिवर्तन यति अचानक र अद्भूत छ कि एकथरी त के भइरहेको छ, अलमलमा परेको देखिन्छ । 

अक्टोबर १४ को एक प्रदर्शनका क्रममा शाही परिवार चढेको गाडी प्रदर्शनकारीहरूको भीड हुँदै अघि बढ्यो । त्यसक्रममा थाइल्यान्डको इतिहासमा पहिलोपटक शाही परिवारमाथि गाली र अपमानको वर्षा भयो । भोलिपल्ट भएको एक प्रदर्शनमा पनि मानिसहरूले राजाविरुद्ध अपमानजनक शब्दमा सम्बोधन गर्न थालेपछि स्थानीय पत्रकारले चलिरहेको प्रत्यक्ष प्रसारण रोकेर एउटै फुटेज दोहोर्‍याएका थिए । आन्दोलनको भविष्य अझै अनिश्चित छ । तर, परिणाम जे भए पनि राजा र राजपरिवारप्रति फेरिएको बोलीले नयाँ रूपान्तरण प्रतिबिम्बित गर्छ । यसले राजतन्त्रको प्रभावको क्षयलाई प्रतिबिम्बित गर्छ । 

(लेखक सेन्ट्रल युरोपियन युनिभर्सिटीका मानवशास्त्रका सहायक प्राध्यापक हुन् ।)
अलजजिराबाट