मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०६:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीन पूर्वप्रधानमन्त्रीले भने– ‘रअ’ प्रमुखसँग भेटवार्ता भएको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०६:२२:००

तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन् । प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका छन् । 

प्रचण्डका सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आमजनसमुदाय तथा सञ्चार जगत्लाई भ्रममा नपर्न अपिल गर्दछु ।’

त्यस्तै, वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले पनि विज्ञप्तिमार्फत भ्रममा नपर्न अनुरोध गरेका छन् । ‘पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ‘रअ’का प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यसप्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गौतमको विज्ञप्तिमा छ । 

उता, कांग्रेस सभापति देउवाको सचिवालयले पनि ‘रअ’का प्रमुख गोयलसँग देउवाको भेटवार्ता नभएको स्पष्ट पारेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री देउवासँग गोयलको भेटवार्ता भएको खबर कपोलकल्पित र निराधार भएको बताए ।