१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ६ बिहीबार १०:३१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार १०:३१:००

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो ।
 
विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा  क्रिया–प्रतिक्रिया आएकाेमा प्रदेश सरकार प्रदेशवासीलाई सामाजिक सञ्जालमा आएका कुरामा विश्वास नगर्न आग्रह गर्दै  यसअघि जे–जस्ता कार्य गर्दै आएको थियो त्यसलाई निरन्तरता दिने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । 
 
उनका अनुसार बैठकले मुख्यमन्त्री र मन्त्रीहरूको दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोनाको तीव्र संक्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्रीसहित सबै मन्त्रीले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरेका हालै दसैँ खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । 

सरकारले नेपालीका चाडपर्व दसैँ, दीपावली, नेपाल संवत्, छठलगायतका पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्डको पालना गर्न प्रदेशवासीमा आग्रह गरेको छ ।
 
त्यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सभा संसदीय दलका सबै सदस्यले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । दलको बैठकले चाडपर्व भत्ता कोरोना महामारी नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको दलका नेता एवं मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।  प्रदेश सभामा नेकपाका ४० सदस्य छन् । रासस