१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अपूर्वानन्द
२०७७ कार्तिक ६ बिहीबार ०७:३४:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
अपूर्वानन्द
२०७७ कार्तिक ६ बिहीबार ०७:३४:००

रतन टाटाले नयाँ भारत निर्माणका लागि जुन नेतालाई अवसर दिन भनेका थिए, त्यो भारतको उदय भइसकेको छ

तनिष्कको विज्ञापन फिर्ता लिइएकोमा धेरैले अफसोस व्यक्त गरेका छन् । केही मानिस टाटाले प्रेम नभएर सुन मात्र बेच्न ध्यान दिनुपर्छ भनिरहेका छन् । यो मुलुक प्रेमको सोच मात्रले पनि भड्किन्छ । यो नयाँ भारत हो, यहाँ हिन्दू–मुसलमानबीच प्रेमको सोच नै पाप हो । के तपाईं यो नयाँ भारतमा खुसी हुनुहुन्न ? खासमा टाटा कम्पनी त्यही चाहन्थ्यो । ‘प्रधानमन्त्रीको रूपमा श्री... ले भारतीयलाई नयाँ भारत प्रदान गर्नेछन् । हामीले उनलाई एउटा मौका दिनुपर्छ ।’ खाली स्थानमा आउने नाम तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ । यो भनाइ कसले भनेको थिए त ? भारतीयलाई यो उत्साहपूर्ण सल्लाह श्री रतन टाटाले सन् २०१७ मा दिएका थिए । प्रधानमन्त्री चुनिएको तीन वर्ष भइसकेको थियो । भारतका सबैभन्दा सिर्जनशील व्यक्तिले राज्यको सम्मान फिर्ता गरिरहेका थिए । उनीहरू प्रधानमन्त्रीको सदाशयतामा उद्घाटित हुँदै गएको नयाँ भारतलाई लिएर लज्जित थिए । तर, हालका प्रधानमन्त्री र सन् २०१४ मेअघि गुजरातका मुख्यमन्त्रीप्रति टाटाको अनुराग कम थिएन । यसको कारण विशुद्ध टाटाको स्वार्थसँग जोडिएको छ । 

सन् २००८ मा तत्कालीन बंगाल सरकारले नानो कारको उत्पादनका लागि टाटालाई सिंगुर क्षेत्रमा जमिन दिएको थियो । यस निर्णयविरुद्ध ठूलो प्रतिरोध भयो । रतन उनको महत्वाकांक्षी नानो कारको उत्पादन ढिलो हुने कुराले चिन्तित भए । त्यो अप्ठ्यारो समयमा टाटाका उद्धारक बनेर आए, गुजरातका तत्कालीन मुख्यमन्त्री । टाटा भावविभोर भए । यो भावविभोर हुनुको कारण जमिनको प्राप्ति मात्र थिएन । जमिनको साथमा उनलाई गुजरात सरकारले अविश्वसनीय रुपमा खुकुलो सर्तमा ९७ अर्ब ५० करोड भारुको ऋण दियो । २० वर्षमा तिर्ने गरी दिइएको यो ऋण ०.१ प्रतिशतको ब्याजदरमा दिइएको थियो । त्यसपछि रतन टाटा ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन थाले । त्यस्तै एउटा सम्मेलनमा टाटाले तत्कालीन मुख्यमन्त्रीलाई प्रशंसाले नुहाइदिए । टाटाको मन्तव्य समाप्त हुनासाथ उनले मुख्यमन्त्रीलाई अँगालो हाले । यो त्यो आलिंगन हो, जसमा भारतीय पुँजी बन्द छ र जो अहिले आफ्नो जिब्रो काटेर बसेको छ । तर, सधैँ यस्तो थिएन । सन् २००२ को नरसंहारपछि भारतीय पुँजीपतिहरूले गुजरात सरकारविरुद्ध कडा व्यवहार प्रदर्शन गरेका थिए । त्यस वेलाका मुखर व्यवसायीमा पनि टाटा थिएनन् । 

तनिष्कमाथि जे आइपर्‍यो, त्यो अखलाक, पहलु खान, तबरेज अन्सारीजस्ता सयौँ मानिससँग भएका घटनाको तुलनामा केही पनि होइन । कठुआकी सानी नानीमाथि जे भयो, त्यसको तुलनामा तनिष्कले के नै बेहोरेको छ र ?

विरोध गर्ने पुँजीपतिहरू पनि बिस्तारै मौन बस्न थाले । त्यसपछि तिनले गुजरातका मुख्यमन्त्रीको गुणगानबाहेक अरू गर्न छाडे । तिनैको समर्थन र सहयोगले ती मुख्यमन्त्रीले भारतका प्रधानमन्त्री पद हासिल गरे । तनिष्कको गरगहना फिर्ता लिइएको विज्ञापनविना पनि बिकिरहन्छन् । टाटालाई के कुरा थाहा छ भने उनका खरिददातामध्ये बहुसंख्यक ती समूहका छन्, जो उनका पसलमा आक्रमण गर्न आउने छैनन् । बरु उनका ग्राहक सकडअगाडिबाट आएको हल्ला सुनेर गाडी मोड्छन् । महत्वपूर्ण कुरा तिनै ग्राहकको मौन समर्थन अहिले तनिष्कविरुद्ध हुलहुज्जत गर्नेहरूप्रति नै छ भन्ने पनि टाटा कम्पनीलाई थाहा छ । टाटा कम्पनी यी नयाँ मनस्थितिलाई उपेक्षा गर्न सक्दैन । पुँजीपतिलाई आफ्नो मुनाफाको स्रोत अन्यको तुलनामा बढी थाहा हुन्छ । त्यसलाई उम्कन नदिन ती कुनै नैतिक दरिद्रताको नालीमा बसिरहन परे पनि तिनलाई कुनै असहज लाग्दैन । 

टाटालाई के पनि थाहा छ भने आज जो तनिष्कको ‘दुर्भाग्यपूर्ण’ विज्ञापनको पक्षमा बोलिरहेका छन्, तीमध्ये धेरैसँग तनिष्कका गरगहना किन्ने आर्थिक हैसियत छैन । तनिष्कमाथि जे आइपर्‍यो, त्यो अखलाक, पहलु खान, तबरेज अन्सारीजस्ता सयौँ मानिससँग भएको घटनाको तुलनामा केही पनि होइन । कठुआकी सानी नानीमाथि जे भयो, त्यसको तुलनामा तनिष्कले के नै बेहोरेको छ र ? दैनिक कैयौँ हिंसाको सिकार हुँदा पनि टाटाजस्ता भारतीय महाजनको मुखबाट एक शब्द निक्लेको छैन । बोलुन् पनि किन ? ती न त टाटाका प्रभावशाली उपभोक्ता हुन्, न संरक्षक नै । टाटा र उनका मित्रका लागि जीवनको महत्व मानिसको गोजीको गहिराइसँग जोडिन्छ । चतुर्‍याइँ, छलकपट, क्रूरता पुँजीको गुण हो । पुँजीसँग कहिल्यै पनि साहसजस्तो गुण जोडिएर आउँदैन । भनिरहनु पर्दैन कि यी गुणको मित्र कायरता हो । रतन टाटाले नयाँ भारत निर्माणका लागि जुन नेतालाई अवसर दिन भनेका थिए, त्यो भारतको उदय भइसकेको छ । नयाँको जन्म सधैँ पीडादायी हुन्छ । टाटा सम्भवतः तपाईंलाई यो सबै सहन सल्लाह दिनेछन् । 

(लेखक दिल्ली विश्वविद्यालयका प्राध्यापक हुन्) 
द वायरबाट