मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
थोमस एल फ्राइडम्यान
२०७७ कार्तिक ६ बिहीबार ०७:३१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीपछि शिक्षामा क्रान्ति आउनेछ

Read Time : > 3 मिनेट
थोमस एल फ्राइडम्यान
२०७७ कार्तिक ६ बिहीबार ०७:३१:००

कोरोना संकटको अन्त्यपछि रोजगारी, शिक्षा, विश्वविद्यालय, कार्यस्थल, कार्यालयलगायतका क्षेत्रमा ठूलो सिर्जनात्मक रूपान्तरण आउनेछ । यसबाट उच्च आय हुने र न्यून आय हुने सबै कामदार प्रभावित हुनेछन् । अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनको परिणामले यस रूपान्तरणमा असर गर्नेछ । महामारीपछि के कुरा गर्दा यी क्षेत्रमा व्यापक रूपान्तरण हुन्छ त ?

विगत कुनै समयभन्दा बढी नवप्रवर्तनका औजार सर्वसुलभ बनेको छ । यसका कारणले अत्यधिक ठूलो संख्याका मानिसको तिनमाथि पहुँच बढेको छ । उच्च क्षमतायुक्त सस्तो कम्प्युटर प्रविधिमाथि अहिले जति मानिसको पहुँच विगतमा कहिल्यै पनि थिएन । त्यस्तै, ऋण पनि अहिलेजति सस्तो कहिल्यै थिएन । यी सबै कुरा नयाँ उत्पादन र सेवाको आविष्कारमा मात्र होइन, ठूला स्वास्थ्य, समाज, पर्यावरण र आर्थिक समस्याको समाधानमा उपभोग आउन सक्छ । 

तपाईंले केही समयपछि नसोचेको सामग्रीको उदय देख्न सक्नुहुनेछ भने विश्वविद्यालयजस्तो लामो समयदेखि हामीमाझ रहेको संस्थान हराउन सक्छ । कामको प्रकृति, कार्यस्थल र श्रमशक्ति पनि रूपान्तरण हुनेछ । केही समयदेखि म भारतीय प्रविधि उद्योग इन्फोसिसका अध्यक्ष रवि कुमारसँग वर्तमान समयबारे कुराकानीमा छु । बैंगलोरमा मुख्यालय रहेको इन्फोसिसले कैयौँ कम्पनीलाई डिजिटल विश्वका लागि प्रशिक्षण दिने र तयार बनाउने काम गर्छ । यही कारणले विश्वव्यापी रोजगारी तथा शिक्षा प्रवृत्तिबारे जान्नका लागि यो उत्कृष्ट थलो भएको मेरो बुझाइ छ । 

कुमारले कुराकानीका क्रममा औद्योगिक क्रान्तिले निर्माण गरेको विश्व र अहिलेको विश्वमा ठूलो अन्तर रहेको बताए । विगतमा श्रमिक र मालिकबीच प्रस्ट भिन्नता देखिन्थ्यो भने अहिले दुईबीच विभाजन रेखा मेटिँदै गरेको बताए । प्रविधि परिवर्तनको गति, डिजिटलाइजेसन र विश्वव्यापीकरणले विश्व झन् नजिकिँदै गएको छ भने सीपहरू छिटो–छिटो काम नलाग्ने हुँदै छन् ।

हाम्रा बालबालिकाले आफ्नो जीवनकालमा धेरैपटक पेसा बदल्नुपर्ने अवस्था आउन सक्छ । अर्थात्, तिनको करिअर मार्ग अहिलेजस्तो सिक–र–काम–गर शैलीको हुनेछैन । बरु यो गर–सिक–गर–सिक–गर–सिक खालको हुनेछ । कक्षा १२ सम्मका शिक्षाविद्को सबैभन्दा महत्वपूर्ण भूमिका युवाहरूमा जिज्ञासा तथा शिक्षाको भोक विकास गर्ने हुनेछ । निश्चित रूपमा सबैमा पठन, लेखन तथा गणितको बलियो आधार आवश्यक पर्नेछ । रोजगारी र पेसा बदलिरहने विश्वमा चिरस्थायी विद्यार्थी बन्नका लागि स्वप्रेरणा सबैभन्दा महत्वपूर्ण हुनेछ । 

कुमारले अन्तक्र्रियाका क्रममा काम कम्पनीहरूबाट अलग हुँदै जाने र रोजगारी तथा काम पनि एक–अर्काबाट अलग्गिने बताए । केही काम मेसिनले गर्नेछन् र केहीलाई कार्यालय तथा उद्योगमै जानुपर्ने हुन्छ । केही टाढैबाट हुन्छ र केही काम कर्मचारीबाट अन्य कसैलाई दिन सकिन्छ । कामहरू डिजिटल माध्यम हुँदै कार्यालय तथा उद्योगसँग अलग्गिँदै गएको अवस्थामा विगतमा कार्यालय गएर काम गर्न नसक्ने अशक्त, गृहणी, ग्रामीण क्षेत्रका बासिन्दाहरूले पनि घरबाटै प्रतिस्पर्धा गर्न सक्छन् । 

नयाँ परिवर्तनले शिक्षामा ठूलो प्रभाव पार्नेछ । ‘हामीले डिग्रीविहीन जनशक्तिलाई लिन थालेका छौँ,’ कुमारले अन्तक्र्रियाका क्रममा भने, ‘यदि तपाईंसँग हामीलाई आवश्यक ज्ञान छ र तपाईंले ती ज्ञान देखाउन सक्नुभयो र हाम्रो अनलाइन प्रशिक्षणमा आफ्नो क्षमता देखाउन सक्नुभयो भने तपाईं पनि चुनिन सक्नुहन्छ ।’

डिग्रीबाट सीपतर्फको यो संरचनात्मक रूपान्तरणले डिजिटल खाडल पुर्न सघाउनेछ । किनकि, विगत २० वर्षमा स्तानक शिक्षाको खर्च १५० प्रतिशतले बढेको छ । तर, आज कुमारजस्ता उद्यमी ‘समस्या समाधान गर्ने’ जनशक्ति मात्र खोजिरहेका छैनन्, उनीहरू ‘समस्या पत्ता लगाउने’ जनशक्ति पनि चाहन्छन्, जसमा ज्ञानका विविध क्षेत्रमाथि चाख होस् । तिनमा कला, साहित्य, विज्ञान र मानवशास्त्रप्रति गहिरो चाख होस् । समस्या पत्ता लगाउने व्यक्तिको उत्कृष्ट उदाहरण स्टिभ जब्स हुन् । अहिले धेरै मानिसले यो भूमिका निभाउन सक्छन् । 

कोरोना महामारी अन्त्यपछि तपाईंले नसोचेको क्षेत्रको उदय देख्न सक्नुहुनेछ भने विश्वविद्यालयजस्तो लामो समयदेखि हामीमाझ रहेको संस्थान हराउन सक्छ

तपाईंलाई नयाँ सफ्टवेयर बनाउन कोड आउनैपर्छ भन्ने छैन । कृत्रिम बौद्धिकता (एआई)का कारण अब ‘कोडविहीन सफ्टवेयर’ पनि बन्न थालेका छन् । तपाईंले कल्पना गर्नुभएको वा तपाईंलाई आवश्यक कुनै एपको कोड डिजाइन गर्ने एआईलाई सुझाब दिनुस्, त्यसले तुरुन्त तपाईंको माग पूरा गरिदिनेछ । ‘सफ्टवेयरमा पनि लोकतान्त्रीकरण देखिँदै छ । अब उपभोक्ता आफैँ सफ्टवेयर निर्माता बन्न सक्छ,’ कुमारले बताए । यही सम्भावनामा पनि एआईले विगतका रोजगारी खोसे पनि नयाँ रोजगार सिर्जना गर्ने देखाउँछ । 

भविष्यमा माध्यमिक तहपछिको शिक्षा बिल्कुल फरक हुनेछ । ती कम्पनीको प्लेटफर्म, कलेज र स्थानीय विद्यालयको मिश्रण हुनेछ । तिनको उद्देश्य जीवनकालभरको ‘पुनःसीप सिकाउने’ अवसर सिर्जना गर्नुहुनेछ । पुनःसीप सिकाउनुको अर्थ तपाईंले एकजना होटेल क्लर्कलाई साइबर सुरक्षा हेर्ने प्राविधिक बनाउन सक्नुहुन्छ । यस्तै, मैले एकजना हवाईजहाजको काउन्टर एजेन्टलाई डेटा कन्सल्ट्यान्ट बनाउन सक्छु । आज इन्फोसिस, आइबिएम वा एटिएन्डटीजस्ता कम्पनीले आफ्नै संरचनाभित्र विश्वस्तरीय विश्वविद्यालय खोलेका छन् ।

इन्फोसिसले इन्डियापोलिसमा सय एकडमा फैलिएको क्याम्पस बनाइरहेको छ । कुमारका अनुसार भविष्यमा इन्फोसिस, माइक्रोसफ्ट अथवा आइबिएमले विभिन्न विश्वविद्यालयसँग सहकार्य गर्नेछन् । यस सहकार्यअनुरूप विश्वविद्यालयका विद्यार्थीले कर्पोरेसनको हाताभित्र रहेका विश्वविद्यालयमा समयको मागअनुरूपको कोर्स वा इन्टर्नसिप गर्न सक्छन् । त्यस्तै, कम्पनीका श्रमिकले आवश्यक परेको खण्डमा बाहिरका विश्वविद्यालयमा मानविकी कोर्स गर्न सक्छन् ।

दुवैले एकसाथ ‘पढ्न, आयआर्जन गर्न र काम गर्न’ सक्छन् । राम्रोसँग कार्यान्वयनमा यसको ठूलो सम्भावना छ । यस सहकार्यबाट विद्यार्थीहरू सबैभन्दा पछिल्लो प्रविधि र विधिसँग परिचिति हुनेछन् । कम्पनीका इन्जिनियर र कार्यकारीले नागरिक चेतना, नीतिशास्त्र, न्यायका सिद्धान्त, लोकतन्त्रका सिद्धान्त, जनकल्याणको अवधारणा, पर्यावरणवाद र जीवनलाई कसरी सार्थक बनाउनेजस्ता सर्वकालीन ज्ञानसँग साक्षात्कार हुने मौका पाउनेछन् । 

फ्राइडम्यान न्युयोर्क टाइम्सका स्तम्भकार हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य