मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ६ बिहीबार ०४:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सोलुखुम्बुको दुई ठाउँमा टेलिकमको जिएसएम मोबाइल सेवा सुरु

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार ०४:५६:००

नेपाल टेलिकमले सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । सो क्षेत्रका सेवाग्राहीले मोबाइलमा डेटासमेत चलाउन मिल्ने गरी सेवा सञ्चालनमा ल्याइएको हो । 

योभन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध रहेको थियो । दूधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित तीन हजार एक सय ३० मिटर उचाइमा जिएसएम प्रविधिको बिटिएस टावर स्थापना गरिएको टेलिकमले जनाएको छ ।

लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरूसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ । सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँलगायत क्षेत्रका करिब ६ सय घरधुरी कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने दाबी गरिएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी ती क्षेत्रका बस्तीमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण सुरु गरेको जनाएको छ । 

सोलुकै दूधकोसी गाउँपालिका वडा नम्बर ४ जुभु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको छ । करिब १ हजार २ सय ३० मिटर उचाइमा रहेको यो टावरले पनि सो क्षेत्रअन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई सेवा प्रदान गर्ने टेलिकमले जनाएको छ ।

रुम्जाटार विमानस्थलमा ग्राहक सेवाकेन्द्र
टेलिकमले ओखलढुंगाको रुम्जाटार विमानस्थलमा रहेको ग्राहक सेवाकेन्द्र पुनस्र्थापना गरेको जनाएको छ ।  कम्पनीले पहिलेदेखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवाकेन्द्र २ वर्षअघि बन्द गरेको थियो । केन्द्र पुनर्स्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन शुल्क भुक्तानी गर्न, जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुने जनाइएको छ ।