मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल खत्री म्याग्दी
२०७७ कार्तिक ५ बुधबार ०९:३७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

 बेनी कालीगण्डकी जलविद्युतकाे बाँधलाई स्थानान्तरण गर्न माग

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ कार्तिक ५ बुधबार ०९:३७:००

म्याग्दी र पर्वतको सिमानामा पर्ने ठूलो पहिरोमा बाँध राख्ने गरी निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध यथास्थितिमा रहने सहमति नदिन म्याग्दीका सरोकारवालाहरूले सुझाब दिएका छन् । 

विद्युत् विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाटको आयोजनाको प्रस्तावित बाँधस्थल परिवर्तन नभएसम्म निर्माण अनुमति नदिन बेनी नगरपालिकालाई स्थानीय सरोकारवालाहरूले सुझाब दिएका हुन् । स्थानीयले आयोजनाको बाँध आउटलेटभन्दा माथि तिल्केनीमा राख्ने र कालीगण्डकीको २० प्रतिशत र रघुगंगाको शतप्रतिशत पानीलाई छाडेर मात्रै विद्युत् उत्पादन गर्ने सर्तमा निर्माणको सहमति दिन कार्यपालिकालाई सुझाब दिएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

उक्त सुझाबलाई नगर कार्यपालिकाको बैठकमा राखिने र विद्युत् विकास विभागलाई नगर कार्यपालिकाको बैठकको निर्णयसहित पत्राचार गरिने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । भेलामा सहभागीले रघुगंगा र कालीगण्डकी नदीको दोभानदेखि तल र बेनी बजारदेखि माथि बाँध राखेर विद्युत् उत्पादन गरेमा यसले बेनी, पर्वतको बगरफाँट, वारिबेनीलगायतका क्षेत्रको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने चिन्ता व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले प्रस्तावित बाँधले कालीगण्डकी जलाधारको बस्तीलाई नै प्रत्यक्ष असर पु¥याउने भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने बताए । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपा नेपालका अध्यक्ष वीरबहादुर थापा, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठलगायत सरोकारवाला र जनप्रतिनिधिहरूले स्थानीयको चाहना र भावनाअनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने सुनिश्चित गरेर मात्रै आयोजनालाई सहमति दिनुपर्नेमा जोड दिएका थिए । 

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाइको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ । आठ अर्ब २० करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनको स्वीकृतिका लागि प्रभावित क्षेत्रका स्थानीय तहहरूबाट विभागले सहमति खोजेको छ ।