१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७७ कार्तिक ५ बुधबार ०६:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात महिनायताकै उच्च वैदेशिक व्यापार

चाडपर्वले बढायो व्यापार, असोज मसान्तमा लकडाउनयताकै सबैभन्दा बढी आयात भएको छ

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७७ कार्तिक ५ बुधबार ०६:१८:००

कोरोना महामारीबाट प्रभावित नेपालको वैदेशिक व्यापार लयमा फर्कन थालेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चैतमा गरिएको लकडाउनपछि निरन्तर ओरालो लागेको वैदेशिक व्यापारले असोजदेखि गति लिन थालेको हो । असोजमा सात महिनायताकै उच्च वैदेशिक व्यापार भएको देखिएको छ । 

भन्सार विभागका अनुसार असोजमा नेपालले कुल २ खर्ब ४ अर्ब २ करोडको व्यापार गरेको छ । यो गत चैतयताकै सबैभन्दा बढी हो । गत फागुनसम्ममा नेपालको वैदेशिक व्यापार मासिक औसत १ खर्ब २४ अर्ब ८९ करोड रुपैयाँ थियो ।

लकडाउन सुरु भएपछि चैतमा भने कुल ६२ अर्ब २० करोड रुपैयाँबराबरको मात्रै व्यापार भयो । त्यसयता मासिक औसत ८२ अर्ब ६० करोड रुपैयाँबराबरको वैदेशिक व्यापार हुँदै आएको थियो । असोजमा भने १० अर्ब ६० करोडको निर्यात र १ खर्ब १३ अर्ब ४२ करोडको आयात गरी कुल २ खर्ब २ अर्बको व्यापार भएको विभागको तथ्यांक छ ।

 यस्तो छ व्यापार बढ्नुको कारण
असोजसम्म आइपुग्दा आर्थिक गतिविधि पनि खुकुलो बन्दै गएको तथा चाडपर्वका लागि हुने आयातसमेत बढेकाले वैदेशिक व्यापार बढेको विभागका महानिर्देशक सुमनप्रसाद दाहालले बताए । ‘चाडपर्वलक्षित आयात बढेको छ, विकासका काम पनि सुरु भएका छन्, यसका लागि पनि आयात बढेको हो,’ उनले भने, ‘अब बिस्तारै वैदेशिक व्यापारले गति लिन्छ ।’

नेपाल समुद्रपार निकासी–पैठारी संघका उपाध्यक्ष विनोदकुमार सेठियाले पनि चाडपर्वमा सबैखाले उपभोग बढ्ने भएकाले आयात व्यापार बढेको बताए । ‘सामान्यतः दसैँ–तिहारका वेलामा जहिल्यै आयात व्यापार बढ्छ, अहिले पनि त्यस्तै भएको हो,’ उनले भने, ‘विकासका कामसमेत सुरु भएका कारण त्यसका लागि आवश्यक मेसिनरी तथा निर्माणका सामग्रीको आयात पनि बढेको छ ।’

व्यापार घाटा साढे २ खर्ब पुग्यो
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालको व्यापार घाटा साढे २ खर्ब पुगेको छ । कुल ३ खर्ब २३ अर्ब ४० करोडको वैदेशिक व्यापारबाट नेपालले २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरेको हो ।

असोज मसान्तसम्ममा २ खर्ब ९२ अर्ब २६ करोडको आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कमी हो ।

गत आवको असोज मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ९५ करोडको सामग्री आयात भएको थियो । त्यस्तै, असोज मसान्तसम्ममा नेपालको निर्यात १४ प्रतिशतले बढेर ३१ अर्ब ४ करोड पुगेको छ । गत आवको असोज मसान्तसम्ममा नेपालले २७ अर्ब १६ करोडको निर्यात गरेको थियो ।