मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०६:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूले प्रतिफलमा बोनसको हिस्सा बढाएकाले बजारलाई टेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०६:०८:००

- लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि

- लाभांश घोषणा गरेका बैंकहरूले प्रतिफलमा बोनसको हिस्सा बढाएकाले पनि बजारलाई टेवा पुगिरहेको छ  

- ७ दिने रेखाले २१ दिने रेखालाई काटेर अगाडि बढेमा बजार थप बढ्नेछ

नेप्से परिसूचकमा लगातार दोस्रो दिन दोहोरो अंकले वृद्धि भएको छ । हालसम्मकै उच्च बिन्दुनजिक रहेको नेप्से दसैँभन्दा अघि बढ्ने प्रयासमा रहेको हो । लाभांशको सिजन सुरु भइरहेकाले दसैँपछि पनि बजार वृद्धि हुने अपेक्षामा बजारमा लगानी बढिरहेको छ । 

नेप्सेले स्पष्ट दिशा समात्न नसक्दा १ महिनादेखि ४०–५० को रेन्जमा रहेर तल–माथि भइरहेको छ । केही दिनअघिसम्म बजार लगातार घटेका कारण सोमबारदेखि बजार पुनः बढ्ने क्रममा भने देखिएको छ । यो वृद्धिमा १ हजार ६ सय २० को प्रतिरोध तोड्ने वा नतोड्ने भन्न सकिने अवस्थामा छैन । बजारलाई यो बिन्दुमाथि पुर्‍याउन सकारात्मक खबर आउनुपर्ने देखिन्छ । 

यस वर्षका लागि बैंकहरूको प्रतिफल लगभग प्रक्षेपण गरिसकिएको छ । यद्यपि, लाभांश घोषणा गरेका बैंकहरूले प्रतिफलमा बोनसको हिस्सा बढाएकाले पनि बजारलाई टेवा पुगिरहेको छ । कोभिड–१९ को प्रभावको न्यूनीकरण गर्न नगद लाभांश दिएर पुँजी बाहिर ल्याउनुभन्दा बढी हिस्सा बोनस दिएर साथमै राख्ने रणनीति बैंकहरूले अपनाउन थालेको देखिएको छ । 

लगानी क्षेत्र साँघुरिएकाले पनि बजारमा पुँजी भित्रिरहेको हो । मंगलबार बजार बढेसँगै कारोबार रकममा पनि ४१ प्रतिशतले वृद्धि भएर १ अर्ब २७ करोड पुगेको छ । 

प्राविधिक विश्लेषण

लगानीकर्ता बजारप्रति सकारात्मक बनिरहेको प्राविधिक विश्लेषणहरूले पनि देखाइरहेको छ । नेप्सेको यस दिनको मैनबत्ती चित्रले सेतो मैनबत्ती आकृति बनाएको छ । तर, यस दिन बनेको मैनबत्तीको आकार अघिल्लो दिनको भन्दा सानो छ । यस दिन बनेको मैनबत्तीको माथिल्लो धागो छैन । तर, तल्लो धागो केही लामो छ । बजार बढ्छ र घट्छ भन्नेबीचको मोलमोलाइ भने तीव्र भएको यसले संकेत गर्छ । 

नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज जोडिएरै सँगसँगै चलिरहेका छन् । यदि ७ दिने रेखाले २१ दिने रेखालाई काटेर अगाडि बढेमा बजार थप बढ्नेछ भने २१ दिनेले सात दिने रेखालाई काटेर माथि लागेमा बजार घट्नेछ । 

मंगलबार बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । १ सय ९३ धितोपत्र तथा ऋणपत्र कारोबार भएकोमा १ सय ४१ कम्पनीको मूल्य बढेको र १६ को मूल्य घटेको छ । 

हालै सूचीकृत भएको जनरल इन्स्योरेन्सको सेयर दैनिक करिब १० प्रतिशतले बढ्ने क्रम मंगलबार पनि जारी रह्यो । यस दिन जलविद्युत् कम्पनीमै लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । अहिले सर्वाधिक चलायमान सेयरमा यी कम्पनीका सेयर परेका छन् । यसमा नाफा हुँदा पनि अधिकतम र घाटा हुँदा पनि धेरै हुने जोखिम छ । मूल्य बढ्ने मात्र होइन, कारोबार रकममा पनि यी कम्पनी अग्रस्थानमा छन् । नवीकरण शुल्क नबुझाएका कारण केही दिन कारोबार रोकिएका जोशी हाइड्रो, हिमालयन दोलखा जलविद्युत् कम्पनीको सेयर मूल्य र कारोबार दुवै उच्च दरले बढेको छ ।