मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०९:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहुलियतको खसी–बोका बिक्रीमा आकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०९:०७:००

सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट बिक्री गर्न थालेको खसी–बोका खरिदमा उपभोक्ताको आकर्षण देखिएको छ । बजारभन्दा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्म सस्तोदर निर्धारण गरी बिक्री खुला गरेका कारण सोमबार बिहान ८ बजेबाटै कम्पनीको थापाथलीस्थित कार्यालयपरिसरमा खसी–बोका खरिद गर्ने उपभोक्ताको भिड थियो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार सोमबार दिउँसो ५ सय ४० वटा खसी–बोका बिक्री भएका छन् । ‘आइतबार र सोमबार गरी कुल ६ सयवटा खसी–बोका ल्याएका थियौँ । त्यसमध्ये ५ सय ४० वटा सोमबार नै बिक्री भएका छन्,’ उनले भनिन्, ‘बिहानदेखि दिनभर खसी–बोका खरिद गर्ने उपभोक्ताको भिड थियो ।’

कम्पनीले दाङ र हेटौँडाबाट खसी–बोका खरिद गरी ल्याएको हो । मंगलबार थप ४ सयवटा खसी–बोका आउँदै छन् । मंगलबार पनि बिक्री उत्साहजनक भए थप ५–६ सय खसी–बोका ल्याएर बिक्री गर्ने कम्पनीको योजना छ । ‘सोमबार पहिलो दिन भएर उपभोक्ताको बढी भिड भएको हुन सक्छ । मंगलबारको बिक्रीदर हेर्नेछौँ । मंगलबार पनि भिड नै देखिए थप खसी–बोका ल्याएर उपभोक्ताको मागअनुसार बिक्री गर्ने योजनामा छौँ,’ उनले भनिन् ।

कम्पनीले जिउँदो खसी–बोका प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ । व्यापारीले भने कम्तीमा ६ सय रुपैयाँ प्रतिकिलोमा जिउँदो खसी–बोका बिक्री गरिरहेका छन् । बजार मूल्यभन्दा निकै सस्तो पाएकाले सरकारले ल्याएका खसी–बोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो ।