मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ कार्तिक ४ मंगलबार ०६:१९:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कलाकारको फुर्सदिलो दसैँ

चाडपर्वका वेला निकै व्यस्त रहने नेपाली कलाकार यो वर्ष कोरोना महामारीले घरमै सीमित, परिवारसँगै दसैँ मनाउँदै

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ कार्तिक ४ मंगलबार ०६:१९:००

लोकगायक पशुपति शर्मा घर (स्याङ्जा) गएका छन् । तिहारपछि मात्र काठमाडौं फर्कने मनस्थितिमा छन् । लकडाउनका वेला केही नयाँ गीत निकालेका शर्मा तिहारपछि खुलेर सिर्जनाकर्ममा लाग्ने बताउँछन् । घरबाटै तिहारका लागि एउटा गीतको तयारी गरिरहेका उनी काठमाडौंमा रहँदा विविध उल्झनले राम्ररी सिर्जना गर्न नसकेको सुनाउँछन् । यदि कोरोना महामारीले अहिलेको अवस्था नल्याइदिएको भए शर्मा दसैँको छेको पारेर सांगीतिक कार्यक्रममा व्यस्त हुने थिए ।

शर्मालाई मात्र होइन, यतिवेला अन्य कलाकारलाई पनि कन्सर्ट र इभेन्टको चटारो हुने थियो । देशविदेशमा हुने कार्यक्रमका लागि व्यस्त भइरहेका हुने थिए ।गायिका सुनिता दुलाल यसपटक जन्मथलो सिन्धुपाल्चोक गएर दसैँ मनाउने योजनामा छिन् । तर, काठमाडौंमा कोरोना संक्रमित दिनदिनै बढेकाले घर जाने कि नजाने भन्ने दोधारमा छिन् । घर जान पाए आफन्त भेट्ने उनको धोको छ ।

विशेष गरेर तिजमा व्यस्त हुने दुलालको यस वर्षको तिज पनि खासै उल्लेख्य भएन । त्यति धेरै स्टेज कार्यक्रम पनि भएनन् । पुरानै एउटा तिज गीत बजारमा ल्याइन् । अहिले रेकर्ड मात्र भएका गीतको संख्या दर्जन बढी छ दुलालसँग । समय मिलाएर दर्शक/श्रोतामाझ आउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘गीत त समय मिलाएर आउला, तर दसैँबारे चाहिँ अन्योल छ । प्रोग्रामहरू पनि यस वर्ष भएनन्, हुने सम्भावना पनि रहेन । तर, सिन्धुपाल्चोक घर जाने कि यतै मनाउने भनेर अन्योलमा छु ।’

गायक नवीन के भट्टराईको पनि दैनिकी अरूको भन्दा भिन्न छैन । प्रायः लाइभ कन्सर्ट गरेर दर्शकलाई मनोरञ्जन दिने नवीन हरेक साता दुईवटासम्म कन्सर्ट भ्याउँथे । तर, कोरोनाले आक्रान्त बनाएपछि उनले नयाँ कार्यक्रम गरेका छैनन् । कार्यक्रम हुने सम्भावना पनि रहेन । दसैँमा पनि त्यस्तो कार्यक्रम हुने सम्भावना खासै देख्दैनन् । ‘अहिलेको अवस्थामा सांगीतिक कार्यक्रमको कल्पना पनि गर्न सकिन्न, गर्न हुँदैन पनि,’ भट्टराई भन्छन्, ‘पहिला यो महामारीबाट मानिसहरूले मुक्ति पाउनुपर्छ, त्यसपछि केही सोचौँला ।’ अलि आध्यात्मिक स्वभावका नवीन यसपटकको दसैँ परिवारसँगै घरमै मनाउने योजनामा छन् । 

०००
चाडपर्व सुरु हुनासाथ नेपाली कलाकार कन्सर्ट/इभेन्टका लागि व्यस्त हुन्छन् । परिवारसँग चाडपर्व मनाउन पाउँदैनन् । व्यस्तता र कम समय दिएका कारण परिवारको गुनासोको चाङै हुन्छ कलाकारसँग । तर, यस वर्ष भने परिस्थिति फरक छ । गायक यश कुमार यो दसैँमा परिवारसँग ढुक्कले रहने बताउँछन् । गत वर्ष विविध कार्यक्रमका लागि देशविदेश पुगेका उनी यो वर्ष कोरोना महामारीको त्रास भए पनि परिवारसँगै रहन पाउँदा खुसी लागेको बताउँछन् । भन्छन्, ‘पहिलो कुरो त हामीले यस महामारीलाई जित्नै पर्छ । तर, अवस्था यस्तै भए पनि यस वर्षको दसैँमा परिवारसँगै रहने भएकाले परिवार खुसी छन् । म पनि धेरै समयपछि परिवारसँग रहँदा खुसी हुने नै भएँ ।’

गायिका बानिका प्रधान केही समयअघि आफ्नो घर दार्जिलिङ गएकी छिन् । उनको दसैँ यसपटक उतै हुनेछ । कोरोना महामारी अलि साम्य भएपछि काठमाडौं आएर पुनः सांगीतिक कर्ममा व्यस्त रहने बताउँछिन् । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिना राई गीत रेकर्डको हिसाबले त फुर्सदमा छैनन् । उनलाई गीत रेकर्ड गर्न भ्याइनभ्याई छ । तर, अघिल्ला वर्षहरूमा जस्तो कन्सर्ट र कार्यक्रम भने छैनन् ।

यस हिसाबले फुर्सदमा रहेकी राई दसैँ काठमाडौंमै मनाउने योजनामा छिन् । गायक तथा संगीतकार विक्रम राईले पनि लकडाउनमा केही गीत रेकर्ड गराए । अहिले नयाँ गीत ‘तिमीले बाटो फेर्‍यौ अरे...’को संगीत सिर्जनामा व्यस्त छन् । यो गीतको दोस्रो सिक्वेलमा पनि विक्रमले नै संगीत भरेका थिए । दसैँ भने काठमाडौंमै मनाउने योजनामा रहेका उनी साथीभाइसँग बसेर मजाले रमाइलो गर्ने सुरमा छन् ।

 

गायक शिव परियारको लकडाउनबीचमा केही गीत आए । नयाँ गीतहरू रेकर्ड गराए । केही गीतको कम्पोज तयार गरिरहेका छन् । ‘यस वर्ष त्यस्तै रह्यो । बिस्तारै समय राम्रो हुँदै जाला,’ आशावादी हुँदै उनी भन्छन्, ‘अब दसैँचाहिँ परिवारसँगै मनाइन्छ योपटक । अन्य वर्षजस्तो घर आएर अर्को कार्यक्रमका लागि हिँडिहाल्नुपर्ने अवस्था पनि छैन ।’

०००
अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहिन् । प्रदर्शन हुने तयरीमा रहेको चलचित्र ‘चपली हाइट ३’ अन्तिम समयमा आएर कोरोनाले रोकिदियो । अन्य चलचित्रको छायांकन पनि रोकिए । यसबीचको फुर्सदको सदुपयोग गर्दै म्युजिक भिडियो पनि खेलिन् । केही चलचित्र पाइपलाइनमा छन् ।

अहिले त दसैँ सुरु भइसकेको छ । यसपटकको दसैँमा घरपरिवारसँगै रहने स्वस्तिमा त्यसपछि अवस्था हेरेर काममा सक्रिय हुने बताउँछिन् । ‘दसैँ त यसपटक घरपरिवारसँगै मनाइन्छ । मनाउने भन्ने कुरा पनि के होला र, यस्तो महामारी छ,’ उनी भन्छिन्, ‘तर, परिवारसँगै भने होइन्छ । खुसी कुरा त्यति त हो ।’ अभिनेता पुष्प खड्का पहिलो लकडाउनको क्रममा घरमै थन्किए ।

दोस्रो लकडाउनको समयमा भने म्युजिक भिडियो अभिनयमा व्यस्त रहे । यसबीचमा नयाँ चलचित्र ‘कृष्णलीला’मा अनुबन्ध भए । असोजमै सुटिङमा जाने योजना बनाएको थियो चलचित्रको टिमले । तर, अवस्था हेर्दा सुटिङमा जान सकिने अवस्था देखिँदैन । कोरोनाका कारण बसिरहेको ठाउँबाट बाहिर जान पनि डरै छ । यसकारण पनि आफू काठमाडौंमैं दसैँ मनाउने योजनामा रहेको बताउँछन् पुष्प । भन्छन्, ‘दिदीहरू यतै हुनुभएकाले पनि यसपटकको दसैँ यतै मनाउँछु । केही राम्रा चलचित्र र पुस्तक पनि पढ्ने योजनामा छु ।’

अभिनेता दयाहाङ राईको पनि यस वर्षको सुरुवातदेखि अहिलेसम्म अन्य कलाकारको भन्दा खासै फरक भएन । चलचित्र छायांकनका काम रोकिए । लकडाउनअघि ‘दुई नम्बरी’ चलचित्रको सुटिङका लागि लमजुङ पुगेका राई लकडाउन घोषणा भएपछि काठमाडौं फिरे । त्यसपछि अलि फुर्सदिला बनेका उनले बीचमा केही म्युजिक भिडियो खेले ।

पछिल्लो समय नाटक लेखन तथा अन्य काममा व्यस्त रहेका राई यसपटक भने परिवारसँग ढुक्कले दसैँ मनाउने योजनामा छन् । ‘कलाकारितामा व्यस्त रहेपछि विगतका वर्षमा परिवारसँग खासै लामो समय बिताउन पाइनँ । परिवारको पनि गुनासो रहन्थ्यो यस विषयमा । तर, यस वर्ष संयोग भनौँ या अरू नै, परिवारसँग समय बिताउने अवसर पाएको छु,’ राई भन्छन्, ‘तर, पहिलो प्राथमिकता त हामीले चाँडोभन्दा चाँडो यस महामारीलाई जित्नु छ । हुन त मानिसहरूले इतिहासमा योभन्दा ठूला महामारी र मानवीय संकटलाई पनि जितेर आएका छन् । त्यसैले या महामारीलाई जित्नु पहिलो प्रथामिकता हो, दसैँ त मनाउँदै जाऔँला नि ।’