मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको नक्सा ।
२०७७ कार्तिक ४ मंगलबार ०९:५७:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तिम चरणमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Read Time : > 4 मिनेट
२०७७ कार्तिक ४ मंगलबार ०९:५७:००

मोडालिटीको टुंगो नलागेपछि दुवै विमानस्थलको सञ्चालन सरकार आफैँले गर्ने

पाँचौँपटक थपिएको म्याद आगामी डिसेम्बर अन्तिममा पनि भैरहवामा नसकिने निश्चित, कोरोनाका कारण उपकरण र जनशक्ति आउन ढिलाइ, पोखरा विमानस्थल निर्धारित समयभन्दा ६ महिनाअघि नै सम्पन्न गर्ने लक्ष्यमा समेत धक्का, तोकिएकै समयमा सक्ने प्रतिबद्धता

उपत्यकाबाहिर निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माणको अन्तिम चरणको काम भइरहे पनि सञ्चालनको मोडालिटी भने टुंगिन बाँकी छ । सञ्चालनको मोडालिटी नटुंगिएपछि दुवै विमानस्थलको सुरुवाती सञ्चालन नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ । 

प्राधिकरणका अनुसार भैरहवाको काम ९३ प्रतिशत सम्पन्न भएको छ भने पोखराको काम ६५ प्रतिशत सकिएको छ । भैरहवा आगामी फागुनसम्म निर्माण सम्पन्न हुँदै छ भने पोखरा चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भैरहवा विमानस्थल सम्पन्न हुने म्याद पटक–पटक थपिएको छ । 

भैहरवा विमानस्थलको सञ्चालन जर्मनको म्युनिखले सार्वजनिक–निजी साझेदारी (पिपिपी)  मोडलमा अगाडि बढाउने प्रस्ताव गरेको थियो । तर, सरकारले मोडालिटी टुंगो नलगाएपछि प्राधिकरणले आफैँ सञ्चालन गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । यता पोखरा पनि पिपिपी मोडलमै सञ्चालनको तयारी भए पनि मोडालिटिको टुंगो नलागेपछि प्राधिकरण आफैँ सञ्चालनको तयारीमा जुटेको हो । 

‘दुवै विमानस्थलको सञ्चालन नागरिक उड्डयन प्राधिकरणले नै गर्नेछ,’ प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदीप अधिकारी बताउँछन् । ऐनमा सार्वजनिक–निजी साझेदारीमा विमानस्थल सञ्चालन गर्न सक्ने भन्ने व्यवस्था नभएकाले त्यसमा संशोधन नगरेसम्म पिपिपी मोडलमा विमानस्थल दिन नसकिने उनले बताए । त्यही भएकाले नै जर्मनको म्युनिख पनि आउन नसकेको अधिकारीले बताए । 

‘कानुनमै विमानस्थल निर्माण, सञ्चालन र व्यवस्थापनको अधिकार प्राधिकरणको रहेको उल्लेख गरेकाले सोहीअनुसारको काममा लागेका छौँ,’ निर्देशक अधिकारीले भने । निर्माण सम्पन्न हुनेबित्तिकै प्राधिकरणकै टिमले सञ्चालन सुरु गर्नेसमेत अधिकारीले बताए । 

पाँचपटक म्याद थप्दा पनि भैरहवा सकिने मिति टुंगिएन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको मिति अझै टुंगो लाग्न सकेको छैन । कोरोनाका कारण विदेशबाट आउनुपर्ने दक्ष जनशक्ति समयमै आउन नसक्दा विमानस्थल निर्माण यति नै समयमा सकिन्छ भनेर भन्न सकिने अवस्था नरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका योजना प्रमुख प्रवेश अधिकारीले बताए । विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न भइसकेको छ । सरकारले निर्माण कम्पनीका लागि पाँचौँपटकसम्म म्याद थप गरेर २०२० डिसेम्बरमा सक्न म्याद थप गरेको थियो । कामको अवस्था हेरेर तीन महिनादेखि ६ महिनासम्म पटक–पटक गरी पाँच पटकसम्म म्याद थप गरेको, तर कोरोनाका कारण विदेशबाट आउनुपर्ने दक्ष जनशक्ति आउनमा ढिलाइ भइरहेको योजना प्रमुख अधिकारीले जानकारी दिए । विमानस्थल निर्माण सम्पन्नको समय कोरोनाको प्रभावमा भर पर्ने अवस्था आएको उनले बताए । लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको विमानस्थलको निर्माण सम्पन्न हुने समय अझै टुंगो लाग्न सकेको छैन । २०७१ माघमा शिलान्यास भएको विमानस्थल समयमा काम भएको भए २०७४ पुस मसान्तमा सकिनुपथ्र्यो ।

०७२ सालको भूकम्प र मधेस आन्दोलनको अवरोधका कारण सन् २०१८ को जुनसम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि बढाएर २८ जुन २०१९ मा सक्ने लक्ष्य लिए पनि केही काम बाँकी रहेपछि तेस्रोपटक समय थप भएको थियो । तेस्रोपटक थप गर्दा निर्माण अवधि डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने भनिएको थियो । २०१९ डिसेम्बरमा पनि सक्ने अवस्था नभएपछि परियोजनाले चौथोपटक म्याद थप गरेको थियो । चौथोपटक म्याद थप गरेर काम अगाडि बढिरहेको अवस्थामा अहिले कोरोनाका कारण थप प्रभावित भएको छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल दुई चरणमा बनिरहेको छ । आइसिपी १ र आइसिपी २ गरी विमानस्थलको निर्माण कार्य जारी छ । आइसिपी १ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् भने आइसिपी २ अन्तर्गतका कामहरू केही बाँकी रहेका छन् । आइसिपी १ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् । आइसिपी २ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ । यस कामका लागि आवश्यक उपकरण जडानको काम कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाइ हुँदै गएको छ । चीनबाट आउनुपर्ने केही सामान केही दिनमै विमानस्थल परिसरमा आइपुग्ने अधिकारीले बताए । ती उपकरण जडान गर्ने दक्ष जनशक्ति भने आउने टुंगो लाग्न सकेको छैन ।

विमानस्थल परियोजनाका योजना प्रमुख अधिकारीका अनुसार हाल अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सकिएर रंगरोगनको काम भइरहेको छ भने प्रस्थानकक्षको भवन सकिएर एसी जडानलगायतका काम भइरहेका छन् । एयरलाइन्सका लागि आवश्यक काउन्टर बनाउने, फल्स सिलिङ राख्ने, एसी जडान, वायरिङ, टायलिडलगायतका कामहरू सकिने क्रममा छन् । धावनमार्ग, ट्याक्सी वे, एप्रोनको काम सकिएको छ । 

विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गर्ने प्रक्रिया सुरु
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण हुने भएको छ । दोस्रो टर्मिनल भवन हाल बनेको भवनको पश्चिमछेउ बन्ने जनाइएको छ । भवन बनाउने स्थानको माटो परीक्षणको कामसमेत भएको जनाइएको छ । विमानस्थलको दोस्रो भवन बनाउने विषयमा सम्पूर्ण कामहरू मन्त्रालयबाट भइरहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । बजेट लगानीका कुरा सबै विषयमा मन्त्रालयबाट काम भइरहेको छ अधिकारीले भने । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलमा उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै रहेका छन् । 

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ६५% सम्पन्न 

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल निर्माण सम्पन्न भइसकेको छ । तस्बिर : नयाँ पत्रिका

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेस मुनकर्मीका अनुसार बाँकी ३५ प्रतिशत काममध्ये २० प्रतिशत प्राविधिक काम बाँकी छ । बाँकी १५ प्रतिशत काम सिभिल काम छ । अब सिभिल काम रंगरोगन र फिनिसिङ मात्र रहेको उनले बताए । 

विमानस्थल निर्माणको काम तोकिएभन्दा ६ महिनाअगाडि नै सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । त्यसअनुरूप काम पनि भएको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण निर्माणमा केही बाधा परेकाले ६ महिनाअगाडि नसकिने उनले बताए । यद्यपि, तोकिएको समयमा भने निर्माणको काम सक्ने गरी नै अहिले काम भइरहेको उनको भनाइ छ । ‘तोकिएभन्दा ६ महिनाअगाडि सक्ने हाम्रो लक्ष्य थियो । तर, त्यो हुन पाएन । तोकिएकै समयमा सक्ने गरी अहिले काम अगाडि बढेको छ । अब पनि कोरोनाले डिस्टर्ब गरेन भने तोकिएकै समयमा निर्माण सम्पन्न हुन्छ,’ उनले भने ।

करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ । 

विमानस्थलबाट सहज उडान–अवतरणका लागि सुरुमा २५ मिटर काटिने भनिएको रिट्ठेपानी डाँडा ४० मिटर काट्नुपर्ने भएको छ । आइकाओको स्ट्यान्डर्डअनुसार ४० मिटर काट्नुपर्ने अध्ययन टोलीले बताएपछि त्यसैअनुसार तयारी अगाडि बढाइएको प्रमुख मुनकर्मीले जानकारी दिए । ‘डाँडा जति काट्न सक्यो, त्यति राम्रो हो । सुरुमा २५ मिटर कटान गरे पुग्ने अध्ययन थियो । अहिले आइकाओ स्ट्यान्डर्डको बनाउन ४० मिटर कटान गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ । त्यसैअनुरूप प्रक्रिया अगाडि बढेको छ,’ उनले भने । 

 त्यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने काम अगाडि बढेको उनले बताए । दसैँलगत्तै इआइएको काम सक्ने र तिहारलगत्तै डाँडा काट्ने काम सुरु गर्ने योजनामा रहेको उनले जानकारी दिए । निर्माण थालेको ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरेर डाँडा कटानको काम सक्ने उनको भनाइ छ । 

विमानस्थल निर्माण सम्पन्न भइसक्दा पोखरा महानगरले ल्यान्डफिल साइट हटाइसक्नुपर्छ । ल्यान्डफिल साइट हटाउन विमानस्थल निर्माण आयोजनाले तीनपटकसम्म महानगरलाई पत्र लेखेर स्मरण गराइसकेको आयेजना प्रमुख मुनकर्मीले जानकारी दिए । अब चौथो पत्र छिट्टै पठाउने उनले बताए ।

यता पोखरा महानगरका मेयर मानबहादुर जिसीले विमानस्थल निर्माण सम्पन्न भइसक्दा ल्यान्डफिल साइट सारी सकिने बताए । त्यसका लागि दुई–तीनवटा ठाउँ हेरिसकेको र बायो ग्यास उत्पादनलगायतका मोडेलमा छलफल भइरहेको उनले जानकारी दिए । यस विषयमा मंसिरसम्ममा नयाँ ठाउँको टुंगो लाग्ने र त्यसपछि फटाफट काम भएर विकल्प तयार हुने उनको भनाइ छ ।