मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १९:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड र सार्वजनिक अस्पतालमा दुई हजार हाइडिपेन्डेसी युनिट, आइसोलेसन सेन्टरलाई कोभिड अस्पताल बनाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १९:००:००

समुदायमा तीव्र गतिमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि सरकारले काठमाडौंका कोभिड, सरकारी र सार्वजनिक अस्पतालको क्षमता विस्तार गर्दै दुई हजार संख्यामा आवश्यक सुविधासहितको हाइडिपेन्डेन्सी युनिट(एचडियू) सञ्चालन गर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गत २६ र २९ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै त्यस्तो जानकारी गराएका हुन् । सातवटै प्रदेशका कोभिड अस्पतालमा पनि दुई सय क्षमतासम्मको हाई डिपेन्डेन्सी युनिट १५ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय भएको पनि उनले बताए । 

त्यस्तै, देशभर सञ्चालनमा आएका आइसोलेसन सेन्टरलाई जनरल वार्डका रूपमा विकास गरेर १५ दिनभित्र कोभिड अस्पतालमा विकास गर्ने, क्वारेन्टिनहरूलाई आइसोलेसन सेन्टरका रूपमा विकास गर्ने निर्णय भएकोसमेत उनले जानकारी गराए ।

त्यस्तै, सरकारले सरकारी र कोभिड अस्पतालमा एचडियू र आइसियूको उपचार अपुग भएमा सामुदायिक र निजी अस्पतालहरूमा पनि त्यसलाई विस्तार गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहहरूमार्फत टोलटोलमा माइकिङलगायत अन्य विभिन्न माध्यमबाट कोरोनासम्बन्धी जनचेतना र जागरणमूलक अभियान चलाउने निर्णय पनि गरेको छ ।

स्थानीय तहले सडकपेटीमा भिडभाड हुने गरी अव्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्न नदिने, पशुपतिको शवदह गृह २४ घन्टै सञ्चालन गर्नेगरी जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । 

बैठकले होम आइसोलेसेनमा बसेका बिरामीहरूलाई चिकित्सकहरूले निगरानी गर्ने, तर उनीहरूले असहज महसुस गरेमा स्थानीय तहका स्वास्थ्यकर्मीहरूको समन्वयमा बिरामीलाई अस्पताल पुऱ्याएर उपचारको प्रबन्ध गर्ने पनि निर्णय गरेको छ ।