मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ३ सोमबार १६:५२:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

स्थानीयले दिए विद्यालयलाई ११ रोपनी जग्गा 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार १६:५२:००

जिल्लाको सोरु गाउँपालिका- २ जडेपानी गाउँका नौजना मनकारी स्थानीयले करिब ११ रोपनी जग्गा गाउँकै माध्यमिक विद्यालयलाई निःशुल्क दान गरेका  छन् । 

आफ्नै गाउँमा रहेको जनज्याेति माध्यामिक विद्यालयको भौतिक पूर्वाधार विस्तारका लागि र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नाैजना स्थानीयले आफूले भोगचलन गर्दै आएको ११ रोपनी खेतीयोग्य जग्गा विद्यालयलाई निःशुल्क दान गरेका हुन् ।

जडेपानी गाउँनिवासी नरजंग शाहीले एक हजार पाँच सय वर्गमिटर, टोपबहादुर शाहीले एक हजार पाँच सय वर्गमिटर, मेलबहादुर शाही र  मञ्जन शाहीले सात–सात सय वर्गमिटर, दलबहादुर मल्लले तीन सय ५० वर्गमिटर, मानबहादुर शाहीले एक सय ३२ वर्गमिटर, कर्मकला शाहीले एक सय १७ वर्गमिटर, मिमा शाहीले दुई सय ४२ वर्गमिटर र भरत शाहीले एक सय ५७ वर्गमिटर जग्गा गाउँकै जनज्याेति माध्यमिक विद्यालयको नाममा निःशुल्क चन्दा दिएका छन् । 

आफ्ना छोराछोरीलाई घर आँगनमै गुणस्तरीय शिक्षा मिलोस्, बाहिर पढ्न जानु नपरोस् भन्ने हिसाबमा स्थानीयले माध्यमिक विद्यालयको नाममा निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

घरकै खाना खाएर गुणस्तरीय शिक्षा हासिल गर्न र पर्याप्त रूपमा विद्यालयका भौतिक संरचना निर्माण गर्न सहज होस् भन्ने हिसाबले आफूहरूले खेतीयोग्य जमिन निःशुल्क उपलब्ध गराएको जग्गाधनीहरूको भनाइ छ ।

‘०३४ सालमा स्थापना भयको यस विद्ययालयमा फराकिलो जग्गा नहुँदा थप भवनहरू निर्माण गर्न समस्या भएको थियो । नौजना स्थानीय मिलेर ११ रोपनी जग्गा विद्यालयको नाममा निःशुल्क दान गरियो,’ जग्गा दान गर्नेमध्येका मेलबहादुर शाहीले भने । 
  
लाखौँ मूल्यबराबरको जग्गा स्थानीयले विद्यालयलाई निःशुल्क उपलब्ध गरएपछि अब विद्यालयको थप भौतिक संरचना निर्माण सहज हुने बताउँछन् जडेपानी गाउँका समाजसेवी नरवीर शाही ।

पहिला यस विद्यालयको नाममा कमै क्षेत्रफल जग्गा हुँदा भौतिक पूर्वाधारको अभाव, छात्रवासको समस्या, खेलमैदान, घेरबारलगायतका समस्या विद्यालयले खेप्दै आएको जनज्याेति विद्यालयका लेखापाल नरजंग शाहीले बताए ।

०३४ सालमा स्थापना भएको यस माध्यमिक विद्यालयको नाममा स्थानीयले ११ रोपनी जग्गा नामसारी गरेसँगै अब विद्यालयको कक्षाकोठा विस्तार, खानेपानी, शौचालय, छात्रवास, घेरबार, खेलमैदानलगायतको काम अघि बढाउन सहज हुने लेखापाल शाहीको भनाइ छ ।

जडेपानी गाउँका मनकारी स्थानीयले विद्यालयको नाममा ११ रोपनी जग्गा निःशुल्क नामसारी गरिदिएका छन् । अबका दिनमा विद्यालयको पूर्वाधार निर्माणका लागि भारतीय राजदूतावास, गैरआवासीय संघसंस्था, गाउँपालिका, वडा तह, गैसस, विभिन्न सरकारी कार्यालयलगायतका निकायहरूमा परियोजना प्रस्ताव पेस गरिने जनज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक सुवास रावलले बताए ।

हाल यस विद्यालयमा इसिडी कक्षादेखि १२ कक्षासम्म पढाइ हुने गरेको छ भने कुल विधार्थी संख्या सात सयभन्दा बढी अध्यायनरत छन् । शिक्षकसहित कर्मचारीको संख्या २३ जना कार्यरत छन् । चालू आर्थिक वर्षदेखि सिभिल सबइन्जिनियरसमेत पढाइ सुरु गरिएको छ । 

पालिकाभित्रका फोतु, नेर, लिब्रु, रावलबाडा, नार्थपु, जवलधारा, नाचार, जडेपानी, सोरुकोट, भिईलगायतका गाउँबस्ती र छिमेकी जिल्ला हुम्लाको तुम्च मकैलगायतका गाउँबाट समेत यस विद्यालयमा विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् भने चालू आर्थिक वर्षदेखि सुरु गरिएको सिभिल सबइन्जिनियर विषय अध्ययनका लागि जिल्लाभित्रका र  छिमेकी जिल्ला हुम्ला र बाजुरासमेत बाट विद्यार्थी अध्ययन गर्नका लागि यस विद्यालयमा आउने गरेका छन् ।