Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ कार्तिक ३ सोमबार ०७:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँ खर्च जोहो गर्न लागेपछि नेप्से घट्यो

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार ०७:३९:००

नेप्से परिसूचक आइतबार ५ दशमलव ६६ अंकले घटेर १ हजार ५ सय ५६ बिन्दुमा आएको छ । दसैँका कारण लगानीकर्ता सेयर बेचेर खर्च जोहो गर्नतर्फ समेत लागेपछि बजारमा बिक्री चाप बढेको हो । 

यस दिन बजार बियरिस रहेको नेप्सेको मैनबत्ती चित्रले देखाउँछ । आइतबारको सुरु, उच्च, न्यून र अन्तिम बिन्दुका आधारमा कालो मैनबत्ती बनेको छ । यसले बजार थप घट्ने संकेत पनि गर्छ । त्यस्तै, नेप्सेको ७ दिने मुभिङ एभरेज रेखाले २१ दिने मुभिङ एभरेज रेखालाई समेत भेटेको छ । यसअघिसम्म माथि रहेको ७ दिने मुभिङ एभरेज रेखा २१ दिनभन्दा तल आएमा बजार थप घट्नेछ । 

आइतबार कारोबार रकमसमेत केही घटेको छ । यस दिन १ अर्ब २६ करोड रुपैयाँमा १ सय ८७  कम्पनीका धितोपत्र तथा ऋणपत्रको कारोबार भएको छ । कारोबारमा आएकामध्ये १ सय १० कम्पनीको मूल्य घटेको र ३७ कम्पनीको मूल्य बढेको छ । 

व्यापारमूलक र निर्जीवन बिमाबाहेक सबै समूहगत परिसूचक घटेका छन् । जनरल, प्रुडेन्सियल, शिखरलगायतका निर्जीवन बिमा कम्पनीको मूल्य बढेको हो । नेपाल ल्युब आयलको करिब ५ प्रतिशतले मूल्य बढेपछि व्यापारमूलक समूहमा वृद्धि भएको हो । 

हिमालयनबाट  बाहिरियो ज्योति समूह 
हिमालयन बैंकबाट ज्योति समूह बाहिरिएको छ । आइतबार हिमालयन बैंकको ८ लाख १५ हजार कित्ता सेयर ३ सय रुपैयाँमा कारोबार भएको हो । समूहले स्याकार कम्पनीको नामबाट बैंकमा लगानी गरेको थियो । बैंकमा ०.९९ प्रतिशत सेयर स्वामित्व रहेको बैंकको ०७५/७६ को वार्षिक वित्तीय विवरणले देखाउँछ । स्याकार कम्पनीको नाममा रहेको सबै सेयर बिक्री भएको बुझिएको छ । पारिवारिक लेनदेन मिलाउन सेयर किनबेच भएको बुझिन्छ ।  

 २५ कम्पनीको कारोबार रोक्का 
आइतबार २५ कम्पनीका लगानीकर्ताले सेयर किनबेच गर्न पाएनन् । कम्पनीहरूले वार्षिक नवीकरण शुल्क नतिरेका कारण कारोबार रोक्का गरिएको नेप्सेले उल्लेख गरेको छ । यसमध्ये अधिकांश कम्पनी बजारमा धेरै समयदेखि कारोबारमा छैनन् । केही समयअघि कारोबार भएको रघु जुटमिल केही महिनाअघि सञ्चालन बन्द भएको थियो । समस्याग्रस्त सूचीमा रहिरहेका वित्त कम्पनीहरूसमेत रोक्काको यो सूचीमा छन् । तर, नियमित कारोबार हुने जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रो, नेपाल हाइड्रो र हिमालयन डिस्टिलरीको समेत कारोबार रोक्का भएको छ ।