मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ३ सोमबार ०७:५८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा र भरतपुरमा विद्युत् प्रणाली भूमिगत बनाइँदै

एडिबीले एक अर्ब १८ करोड सफ्ट लोन दिने, १८ महिनाभित्र काम सकिने

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार ०७:५८:००

कास्कीको पोखरा र चितवनको भरतपुरमा विद्युत् वितरण प्रणाली भूमिगत बनाउन लागिएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा विद्युत् वितरण प्रणाली सुदृढ गर्न लागिएको हो ।  विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन नेपाल सरकार, विद्युत् प्राधिकरण र एसियाली विकास बैंक (एडिबी)बीच सम्झौता भएर प्रक्रिया अगाडि बढिसकेको पोखरा–भरतपुर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले बताए । आयोजना प्रमुख झाका अनुसार सहरी विद्युत् वितरण प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यकरण कार्यक्रमका लागि एडिबीसँग सम्झौता भएको हो । 

सम्झौताअनुरूप पोखरा र भरतपुर महानगरका लागि एडिबीले एक अर्ब १८ करोड रुपैयाँ सफ्ट लोन दिनेछ । यो आयोजनाअन्तर्गत विद्युत् प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यकरणको काम सँगसँगै हुने उनले बताए । यसमा तीनवटा काम हुने भएका छन् । पहिलो मुख्य चोकहरूमा विद्युत् भूमिगत बनाइने, दोस्रो ट्रान्सफर्मरको क्षमता विकास (अपग्रेडिङ) गरेर वितरण प्रणाली सुदृढ गर्ने र तेस्रो खुला तारलाई इन्सुलेटेड गर्ने रहेको छ । 

पोखरामा गरिने भूमिगत र सुदृढीकरणको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । पोखरामा विद्युत् प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यका लागि कति रकम लाग्ने भन्ने डिपिआरले पूर्णता पाएपछि भन्न सकिने उनले बताए । ‘पोखरामा गरिने विद्युत् वितरण प्रणालीको सुदृढीकरणको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको छ । डिपिआर तयार भएसँगै यसको लागत थाहा हुन्छ र हामी एडिबीबाट परियोजना स्वीकृत गरेर ठेक्का प्रक्रियामा जाने हो,’ झाले भने । 

१७ किलोमिटर भूमिगत र स्तरोन्नति 
विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख टेकनाथ तिवारीका अनुसार प्रक्रिया पुगेर आयोजनाको ठेक्का लागेपछि १२ देखि १८ महिनामा आयोजनाको काम सम्पन्न हुनेछ । कुँडहर सबस्टेसनदेखि पृथ्वी राजमार्ग हुँदै पृथ्वीचोक, एयरपोर्ट हुँदै विरौटासम्म र पृथ्वीचोक, सिर्जनाचोक र जिरोकिलोमिटर हुँदै हल्लनचोकसम्म करिब १७ किलोमिटर विद्युत् प्रणाली सुदृढीकरण र सौन्दर्यकरण गरिनेछ । विद्युत् वितरण प्रणालीलाई दिगो, भरपर्दो र स्वचालित बनाउन वितरण लाइन भूमिगत गर्न लागिएको उनले बताए । यससँगै सहरी सौन्दर्यकरणलाई पनि महत्व दिइएको छ । अहिले नांगो तार र पोलले पोखराको स्वरूप बिग्रिएको उनको भनाइ छ । 

विद्युत्सँगै यो क्षेत्रमा टेलिफोनलगायत अन्य तारहरूलाई समेत भूमिगत बनाउने योजना छ । पोखरा महानगरपालिका र विद्युत् प्राधिकरणबीच समन्वय गरेर नै यो कार्य सम्पन्न गरिने उनले बताए । ‘सहरी सौन्दर्यकरण र विद्युत् वितरण प्रणाली, ढल व्यवस्थापन र तारहरूको व्यवस्थापनका कुरा जोडिएका हुन्छन् । यस्ता कुरामा महानगरको समन्वय अनिवार्य छ,’ उनले भने । सुरुवातमा ठूला सहरका मुख्य सडकको वितरण लाइनलाई भूमिगत गर्ने तथा भित्री सडकका ओभरहेड लाइनलाई स्तरोन्नति गरेर सञ्चालन गर्ने प्राधिकरणको योजना छ । त्यसैअनुरूप पोखरा र भरतपुरमा आयोजना एक साथ सञ्चालन गरिएको जनाएको छ ।