मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक २ आइतबार १४:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२३ केजी सुन प्रकरण : बरामद भएको २४ घन्टामा प्रहरीको अनुसन्धानबाट केही खुलेन 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २ आइतबार १४:२५:००

पर्सा प्रहरीले शनिबार वीरगञ्जकाे एक अपार्टमेन्टबाट ठुलो परिमाणमा सुन बरामद गरेको २४ घण्टा भइसक्दा पनि कसैलाई हालसम्म पक्राउ गर्न सकेको छैन । 

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार बरामद भएको सुनमा हालसम्म क-कसको संलग्ता र कसको हाे भन्ने प्रमाणित हुन नसकेको अवस्था छ । स्रोतका अनुसार सुन प्रकरण ठुलो भएकाले हतपत प्रहरीले केही बताउन नचाहेको र प्रमाण खोज्ने काम गरीरहेको छ ।

प्रहरी स्राेतका अनुसार सुन बरामद प्रकरणमा जथावाभी नबोल्न 'मथि'बाट सकुर्लर जारी भएको छ । प्रहरी प्रमुख पन्तका अनुसार यो सुन बरामद प्रकरणको अनुसन्धान सानो तिनो नभएकाले अनुसन्धानमा केही समय लाग्ने छ ।

प्रहरीले विभिन्न कागजात बरामद गरेकाले हचुवाको भरमा जथावाभी बोल्न नमिल्ने उनको भनाई छ । प्रहरीले यस बिषयमा सुक्ष्म अनुसन्धान गरेर मात्र घटनाबारे सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ । 

पर्सा प्रहरीले शनिबार नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन बरामद गरेको थियाे  । भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका- ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । 

सुन बरामद भएको फ्ल्याट भारत रक्सौल पूर्वीचम्पारणका अशोक सिन्हाको भएकाले उनकै सुन हुन सक्ने पर्सा प्रहरीको दाबी छ ।

सिन्हा विगत लामो समयदेखि आफ्नो फ्ल्याट नआएको प्रहरी भनाइ छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको थिए । तर, पछिल्लो समयमा दुई महिनादेखि उनी वीरगन्ज आएका छैनन् ।

दोस्रो दिन पनि फ्ल्याट सर्च हुन्छ

प्रहरी स्रोतका अनुसार सुन बरामद भएको अपार्टमेन्टको फ्ल्याटमा दोस्रो दिन पनि प्रहरीले तलासी गर्ने भएको छ । प्रहरीले पाएको सुराकी बलियो भएकाले थप केही फेला पर्ने आशंकामा भएकाले प्रहरी सर्च गर्न तयारी अवस्थामा छ ।

स्रोतका अनुसार सुन बरामद भएको फ्ल्याटमा दोस्रो दिनको अप्रेसनमा प्रहरीले सूक्ष्म रूपमा केलाउने दाबी गरेको छ ।

६ वर्षदेखि परिवारसहित फ्ल्याटमा बस्थे सिन्हा

अपार्टमेन्टमा सिन्हा विगत ६ वर्षदेखि बस्दै आएका छन् । उनी श्रीमती, छोरा र छोरीका साथमा बस्दै आएका थिए । पछिल्ला समय सिन्हा बिरामी परेपछि नियमित रूपमा आउन सकेका छैनन् । भारतमा नोटबन्दी भएको वेलादेखि नै सुन अपार्टमेन्टमा राखिएको आशंका प्रहरीले गरेको छ ।

एक प्रहरी अधिकृतले भने, ‘सुन प्रकरणमा अहिले बाहिर धेरै कुरा आएको छ, तर सबैलाई प्रमाणको रूपमा लिन सकिँदैन । प्रहरीको आफ्नै अनुसन्धान गर्ने तरिका छ । हामी त्यहीअनुसार अगाडि बढ्छौँ । र, अन्य प्रमाण पनि जुटाउँदै जान्छौँ ।’