मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २ आइतबार १२:१०:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

वडा भवन उद्घाटनको शिलामा उपमेयरले आफ्नाे नाम नदेखेपछि...

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २ आइतबार १२:१०:००

घोडाघोडी नगरपालिकाको तीन वडामा नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम थियो शनिबार । 

त्यस क्रममा वडा नम्बर ७ मा भवन उद्घाटन गर्ने क्रममा मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाबीच विवाद हुँदा झन्डै हात हालाहालको अवस्था निम्तियो । 

मेयर चौधरीले भवनमा राखिएको शिलालेखमा झुन्ड्याइएको रातो कपडा तानेर भवन उद्घाटन गर्नै लाग्दा उपमेयर थापाले ढुंगाले शिलालेखमा प्रहार मात्र गरिनन्, मेयरविरुद्ध नारासमेत लगाइन् ।

शिलालेखमा मेयर चौधरी र वडाका पदाधिकारीको मात्रै नाम लेखिएपछि आफ्नो अपमान भएको भन्दै उपमेयर थापा आक्रोशित भएकी हुन् । 

मेयरले रातो कपडा तान्नै लाग्दा शिलालेखमा ढुंगाले हान्न थालेपछि मेयर चौधरीले उपमेयर थापाको हात हुत्याउँदै भने, ‘नगर न, मर्यादाको पनि हद हुन्छ नि ।’ यस्तो भन्दै मेयर चौधरीले उपमेयर थापालाई रोक्न खोजे । 

‘योभन्दा मर्यादा के हुन्छ ? मेरो मर्यादा कसले राखेको छ ?’ भन्दै आक्रोशित उपमेयरले नारा लगाइन् । ‘उपमेयरलाई अपमान गर्ने मुर्दावाद, घोडाघोडीका मेयर मुर्दावाद, महिला भनेर अपमान गर्ने मुर्दावाद ।’ मेयरका कारण आफ्नो मात्र नभई नगरपालिकाकै बदनाम भएको उनले बताइन् । 

विवाद चुलिँदै गएपछि वडाध्यक्ष धनबहादुर बमले भवनको उद्घाटन आफैँले गर्ने भन्दै मेयर र उपमेयर दुवैलाई कार्यक्रमस्थलबाट जान आग्रह गरे ।

विवादपछि भएको छलफलमा उपमेयरको पनि नाम लेखेर नयाँ शिलालेख राख्ने सहमति भएपछि तीनवटै वडा कार्यालय उद्घाटन गरियो । 

आफ्नो इतिहास मेटाउन खोजेपछि विरोध गरेको उपमेयर थापाले बताइन् ।

घोडाघोडीमा मेयर र उपमेयरबीचको विवाद वेलावेलामा सार्वजनिक रूपमै देखिने गरेको छ । दुवैजना तत्कालीन एमालेबाट निर्वाचित भए पनि उनीहरूबीच बोलचाल पनि नरहेको स्थानीय बताउँछन् । 

मेयरले आफूलाई अधिकार नदिएको र अपमानित हुने गरी काम गरेको गुनासो उपमेयर थापाले गर्दै आएकी छन् ।

मेयरले नै जानीजानी आफ्नो नाम नलेखेको उनको आरोप छ । 

‘हिजो वडा कार्यालयको अनुगमनमा जाँदा शिलालेखमा नाम नदेपछि मेयरलाई मेरो नाम किन लेखिएन भनेर सोधेँ, मेयरले जानीजानी नलेखेको भनेर जवाफ फर्काए,’ थापाले भनिन्, ‘महिला भनेर हेप्ने र मानमर्दन गर्ने काम हुँदै आएको छ । असह्य भएपछि यस्तो गर्न बाध्य भएँ ।’ 

कार्यक्रमस्थलमा मेयर चौधरीले आफूले नियमानुसार नै मेयरले नै भवनको उद्घाटन गर्ने बताए ।