मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०७:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा २७ अंक घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०७:२८:००

सातामा सेयर बजारसूचक नेप्से २७ अंकले घटेको छ । साताको सुरुदेखि नै घटेको नेप्से अन्तिम दिन १ अंकले बढ्न सफल भएको थियो । अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले जिम्मेवारी सम्हालेपछि पनि लगानीकर्ताको अपेक्षाअनुसार बजार खासै बढ्न सकेन । 

दसैँअघि कारोबारका लागि एक साता मात्र बाँकी रहँदा कतिपयले भने हालसम्म भएको प्रतिफल लिन सेयर बेच्ने चलन पनि छ । यद्यपि, यही उद्देश्यका लागि बजार बढाउने प्रवृत्ति विगतका वर्षहरूमा समेत नदेखिएको होइन । बजार उच्चदरमा घट्न वा बढ्न नै भने ठूला कारण देखिएका छैनन् । 

 नेप्सेको प्राविधिक विश्लेषण

बजार घट्न रोकिन सक्ने संकेत नेप्सेको मैनबत्ती चित्रमा बनेको इन्भर्टेड ह्यामर आकृतिले गरेको छ । यसको माथिल्लो धागो भने केही लामो छ । यो दरिलो संकेत भने होइन । बजार बढ्ने सुनिश्चितताका लागि आइतबारको कारोबार हेर्नु सही हुन्छ । 

नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा नजिकिएकाले पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । यी दुई रेखाबीचको क्रस ओभर बजार बढ्ने वा घट्ने सुनिश्चितताको आधार मान्ने गरिन्छ । यद्यपि, यी दुई रेखा कहिलेकाहीँ छिटो–छिटो क्रस ओभरसमेत हुने गर्छन् । बजार बुलिस हुनुअघि एक महिनामा यी रेखा क्रस ओभरसमेत भएका थिए । करिब दुई महिनायतादेखि भने ७ दिने रेखा माथि रहेको छ । ७ दिने रेखाले २१ दिने मुभिङ काटेर माथि लाग्दा बजार बढ्ने र २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि लागेमा बजार घट्ने विश्लेषण गरिन्छ । 

बजारमा सेयर खरिदको चाप कम भइरहेको आरएसआई सूचकले देखाइरहेको छ । यो सन्तुलित क्षेत्रमा समेत तल ओर्लिरहेको छ । यो सूचक ४७ मा छ । ७० माथि भए बजारमा उच्च खरिद, ३० मुनि भए उच्च बिक्री र बीचमा भए सन्तुलित रहेको विश्लेषण गरिन्छ । 

गत साता कारोबार रकम करिब ३८ प्रतिशतले घटेको छ । अघिल्लो सातामा १४ अर्बको सेयर किनबेच भएकोमा गत साता ९ अर्ब ८ करोड रुपैयाँको मात्र कारोबार भएको छ । दैनिक औसत कारोबार रकम २ अर्ब ९२ करोडबाट घटेर १ अर्ब ८१ करोडमा सीमित भएको छ । सातागत आधारमा विकास बैंक र वित्त कम्पनीहरूको कारोबार रकम क्रमशः ५ र १४ प्रतिशतले बढे पनि अन्यमा भने घटेको छ ।

मुक्तिनाथ विकास बैंक गत साता सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पर्छ । बैंकको ३१ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको हो । कारोबारका आधारमा अग्र १० स्थानमा ज्योति विकास र कामना विकास बैंक पनि परेका छन् । यिनको क्रमशः २४ करोड ८० लाख रुपैयाँ र २२ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको हो । 
सातामा २ करोड ६ लाख कित्ता नयाँ सेयर थपिएका छन् । स्वावलम्बन लघुवित्त, एनआरएन लघुवित्त, हिमालयन बैंकको बोनस सेयर र जनरल इन्स्योरेन्सको प्राथमिक निष्कासन भएको सेयर थपिएको हो ।