१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०९:३३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँमा पनि सस्तोमै सजिलै पाइन्छ हवाई टिकट, पहाडी तथा हिमाली क्षेत्रमा एयरलाइन्सहरूले यात्रु नै पाएनन्

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०९:३३:००

कतिपय पालिका तथा जिल्लाहरूले पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दा यात्रु बढ्न सकेका छैनन्, लुक्ला, डोल्पा, मनाङलगायत क्षेत्रमा जान पिसिआर अनिवार्य

कोभिड–१९ का कारण दसैँमा पनि हवाई यात्रु बढ्न नसक्दा सस्तोमै टिकट बिक्री गर्न एयरलाइन्स कम्पनीहरू बाध्य भएका छन् । विगतका वर्षहरूमा दसैँ मान्न घर जानेहरूको भिड बढ्दा महँगो शुल्कमै पनि हवाई टिकट पाउन सकस हुन्थ्यो । तर, यो वर्ष दसैँको रौनक नै हराएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । आइतबार काठमाडाैँबाट पोखरा जानका लागि १९ सय ९५ रुपैयाँमै बुद्ध एयरले टिकट उपलब्ध गराएको छ ।

त्यस्तै, यती एयरलाइन्सले २ हजारमै पोखरामा उडान गरिरहेको छ । सामान्य समयमा पनि पोखरा जानका लागि ४ हजार ५ सय रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको थियो । चाडबाडकै लागि अग्रिम टिकट बुकिङ गर्ने यात्रु नभएपछि उडान थप गर्ने योजना पनि नरहेको बुद्ध एयरका प्रवक्ता रूपेश जोशी बताउँछन् । ‘दसैँ नजिकिए पनि खासै यात्रु नबढेकाले दुई–चार उडान मात्रै थप हुनेछ,’ जोशीले भने । 

आइतबार काठमाडाैँबाट विराटनगर हवाई टिकट भाडा २८ सय मात्रै रहेको छ । विगतका दसैँमा यात्रुले ८ हजारभन्दा बढी खर्च गर्नुपर्ने हुन्थ्यो । तर, अहिले काठमाडौं–विराटनगर बुद्धले २८ सय, यतीले २९ सय ९५ र श्री एयरलाइन्सले ३ हजारमै उडान गरिरहेका छन् ।

त्यसैगरी, भद्रपुर जान ३ हजार ३ सय रुपैयाँ मात्रै हवाई भाडा रहेको छ । अन्य समयमा भद्रपुरका लागि ९ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्थ्यो । त्यस्तै, जनकपुरका लागि २ हजार ३ सय, नेपालगन्जका लागि ३ हजार ३ सय, धनगढीका लागि ५ हजार मात्रै रहेको छ । अन्य समयमा धनगढीको भाडा ११ हजार २ सय ५० रुपैयाँसम्म रहने गथ्र्याे । त्यस्तै, भरतपुर २ हजार ४ सय, भैरहवा पनि २ हजार ४ सय ९५ रुपैयाँ मात्रै हवाई भाडा रहेको छ । 

यता पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरूले अझै यात्रु नै पाउन सकेका छैनन् । केही गाउँपालिका तथा जिल्लाहरूले पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दा पनि हिमाली क्षेत्रमा यात्रु बढ्न सकेका छैनन् । अहिले लुक्ला, डोल्पा, मनाङलगायत क्षेत्रमा जान पिसिआर अनिवार्य गरिएको छ ।

शनिबारदेखि केही चाप  

शनिबारदेखि भने यात्रुको चाप बढेपछि हवाई कम्पनीले केही उडान थप्ने तयारी गरेका छन् । यात्रुको संख्या केही बढेपछि बुद्ध, यती, श्रीले उडान संख्या केही थपको तयारी गरेका छन् । त्यस्तै, सौर्य एयरलाइन्सले पनि उडानको तयारी गरेको छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरका अनुसार आइतबारदेखि केही चाप बढे पनि खास दसैँको प्रभाव परेको छैन । 

दैनिक ३२ वटा उडान गर्दै आएको बुद्ध एयरले आइतबारदेखि तीनवटा उडान थपेको छ । कम्पनीले विराटनगर, भद्रपुरलगायत विभिन्न गन्तव्यमा तीनवटा उडान संख्या थपेर दैनिक ३५ वटा पुर्‍याएको छ । यती एयरलाइन्सले पनि दसैँका लागि थप ५ उडान थप्ने भएको छ । यतीले अहिले दैनिक १९ देखि २४ उडान गर्ने तयारी गरेको जनाएको छ ।

पर्वतारोहण र हिमाल आरोहणमा आउने  १० पर्यटकलाई अनुमति  

शनिबारदेखि नै केही समूह हिमाल आरोण र पर्वतारोहणका लागि आउन थालेपछि पर्यटन विभागले अनअराइभल भिसा दिनका लागि अध्यागमन विभागमा सिफारिस गरेको छ । विभागले मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका १० जना विदेशीलाई अनअराइभल भिसा दिनका लागि शनिबार नै पत्राचार गरेको छ । 

मंगलबार अमेरिकाबाट पाँचजना, कतार, बेलायत, इटली, जोर्डन र युनाइटेड अरब इमिरेट्सलगायत प्रत्येक मुलुकबाट एकजनाका दरले अनअराइभल भिसा उपलब्ध गराउनका लागि पत्राचार गरेको हो । विभागका अनुसार अमेरिका र कतारबाट आउन लागेका पर्यटकले ६ हजार ८ सय १४ मिटर उचाइका हिमाल आरोहणका लागि ४५ दिनसम्मका लागि भ्रमण अनुमतिको समयावधि दिइएको जनाएको छ । 

हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनको व्यवस्थापनमा गर्न लागिएको यो हिमाल आरोहणका लागि अक्टोबर २७ तारिखदेखि ४५ दिनसम्म समयावधि छुट्याइएको छ । 

युके, इटली, जोर्डन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकबाट आउने पर्यटकले ७ हजार १ सय २६ मिटर अग्लो हिमाल आरोहण गर्ने भएका छन् । ट्याग नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनले व्यवस्थापन गरेको हिमाल आरोहणका लागि नोभेम्बर १ तारिखदेखि ६० दिनसम्मका लागि समयावधि छुट्याइएको विभागले जनाएको छ ।