मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १ शनिबार ०८:०४:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएल : मुम्बई र दिल्लीबीच शीर्ष स्थानमा जुहारी

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १ शनिबार ०८:०४:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच जुहारी चलिरहेको छ । आइपिएलको पहिलो चरणको समाप्ति र दोस्रो चरणको सुरुवातसँगै यी टोलीबीचको शीर्ष स्थानमा रहने होडबाजीजस्तै चलेको छ ।

दुई दिनअघिसम्म दिल्ली १२ अंकका साथ शीर्ष स्थानमा थियो । शुक्रबार राति साबिक विजेता मुम्बईले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराउँदै शीर्ष स्थानमा दिल्लीलाई विस्थापित गर्न सफल भयो । 

आइपिएलमा मुम्बई र कोलकाताबीच २७ पटक प्रतिस्पर्धा भएको छ । जसमा मुम्बईले २० जित तथा कोलकाताले ६ खेलमा जित निकालेका छन् । जित प्रतिशतमा मुम्बई ७६.९ ले अघि छ । आठ खेलमा मुम्बई र दिल्लीले समान १२ अंक नै बटुलेका छन् । तर राम्रो रनरेटमा मुम्बई अगाडि छ । रोयल्स च्यालेन्जर्स बेग्लोर आठ अंकका साथ तेस्रो स्थानमा छ । 

मुम्बईसँग फराकिलोअन्तरले पराजित भएको कोलकाता आठ अंकका साथ चौथो स्थानमा छ । अबुधाबीको मैदानमा कोलकाताले पहिलो ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । प्रत्युत्तरमा मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा एक सय ४९ रन जोड्दै चालू आइपिएलमा छैटाैँ जित दर्ता गर्‍यो । 

मुम्बईको जितमा म्यान अफ दी म्याच क्विन्टन डी कोकले ७८ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । उनले ४४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । डी कोक र कप्तान रोहित शर्माबीच पहिलो विकेटका लागि १०.३ ओभरमा ९३ रनको साझेदारी भएको थियो । रोहितले ३६ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ३५ रनको योगदान दिए। 

यसैगरी हार्दिक पाण्ड्याले ११ बलमा तीन चौका र एक छक्का प्रहार गरी २१ रन बनाए । डी कोकले आइपिएलमा आफ्नो १३औँ अर्धसतक पनि पूरा गरेका छन् । यो सिजनमा पहिलोपटक मुम्बईका ओपनरद्वय डी कोक र रोहितबीच ५० रनको साझेदारी भयो । साथै सिजनमा दुवै ब्याट्सम्यानले पावर प्लेमा पहिलोपटक नै ५० रनको साझेदारी गर्न सफल भए । 

त्यही नै कोलकाताले पावर प्लेमा दुई विकेट गुमाएको थियो । कोलकाताले पावर प्लेमा ३३ रन मात्र बनाएको थियो । यसअघि पहिलो ब्याटिङ गरेको कोलकाता इनिङ्सको एक समय ६१–५ को नाजुक स्थितिमा थियो । कप्तान इयोन मोर्गान र प्याट क्युमिन्सले ब्याटिङ सम्हाले । यी दुवै ब्याट्सम्यानले छैटाैँ विकेटका लागि ८७ रनको साझेदारी गर्दै कोलकातालाई २० ओभरमा १४८–५ को स्थितिमा राखे । 

क्युमिन्सले आइपिएलमा पहिलो अर्धसतक लगाए । उनले ३६ बलमा पाँच चौका र दुई छक्का लगाए । यसैगरी कप्तान मोर्गानले २९ बलमा दुई चौका र दुई छक्का नै ठोके । यो सिजनमा मुम्बईका बलरले पावर प्लेमा उत्कृष्ट प्रदर्शन जारी नै राखेका छन् । मुम्बई र सनराइजर्स हैदराबादका बलरले अहिलेसम्म पावरप्लेमा राम्रो प्रदर्शन गरेका छन् । दुवै टोलीका बलरले समान १२–१२  विकेट लिएका छन् । किंग्स ११ पन्जावका बलरले नौ विकेट लिएका छन् । 

मुम्बईका बलर ट्रेन्ट बोल्टले आइपिएलमा ५० विकेट पूरा गरे । उनले यो केवल ४१ खेलमै सफलता चुमे । आइपिएलमा उनको इकोनोमी रेट ८.५९ रहेको छ । आइपिएलमा उनको अहिलेसम्मको राम्रो प्रदर्शन नै १९–३ रहेको छ । आइपिएलमा मुम्बईका बलर लथिस मलिंगाले सबैभन्दा बढी विकेट एक सय ७० लिएका छन् । मलिंगाले एक सय २२ खेल खेलेका छन् । 

कार्तिकले बीचमै कप्तानी छाडे

कोलकाताका नियमित कप्तान दिनेश कार्तिकले मुम्बईविरुद्ध खेल्नुअघि नै कप्तानी छाडे । उनले इंग्लिस खेलाडी इयोन मोर्गानलाई कप्तानी जिम्मा दिए । कार्तिकले चालू आइपिएलमा ब्याटिङमा केन्द्रित रहन कप्तानी छाडेको बताएका छन् । सन् २०१८ को सिजनमा उनी कोलकाताका कप्तान बनेका थिए । उनको कप्तानीमा कोलकाताले ३७ खेल खेल्यो । जसमा कोलकाता १९ खेलमा जित र १७ मा हारको सामना गरेको छ । एक खेल टाई भएको छ । 

२०१८ को सिजनमा कोलकाता तेस्रो तथा २०१९ को संस्करणमा पाँचौँ भएको थियो । मोर्गान आइपिएलमा कप्तानी गर्ने दोस्रो इंग्लिस खेलाडी हुन् । यसअघि आइपिएलमा इंग्ल्यान्डकै केभिन पिटरसनले कप्तानी गरेका थिए । पिटरसनले २००९ रोयल्स च्यालेन्जर्स बेंग्लोर तथा २०१४ मा दिल्ली डेयरभिल्सबाट कप्तानी गरे । कप्तानीका रूपमा उनले १७ खेल खेले । बेंग्लोरबाट ६ खेल तथा दिल्लीबाट ११ खेलमा कप्तानी गरे । उनले आफ्ना कप्तानीमा तीन जित निकाले ।