मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ३० शुक्रबार १२:१०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भारतीय कामदार फर्कन नपाउँदा इँटाभट्टाको काम रोकियो

Read Time : > 1 मिनेट
२०७७ असोज ३० शुक्रबार १२:१०:००

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको सीमानाका बन्दले भारतीय मजदुर रोकिँदा भट्टा सञ्चालन गर्न समस्या परेको इँटा उद्योग व्यवसायीहरूले गुनासो गरेका छन् । 

सामान्य अवस्थामा असोजको पहिलो हप्तादेखि काँचो इँटा बनाएर मंसिरदेखि भट्टा फाइरिङ गरिने भए पनि असोजको अन्तिम साता बित्दासमेत भारतीय मजदुरहरू रोकिँदा उद्योग नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका हुन् । ‘सीमानाका बन्द हुँदा भारतको पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश, झारखण्डबाट आउने भारतीय मजदुरहरू रोकिएका छन्,’  नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विक्रम साहले भने । 

काँचो इँटा बनाउने, चाङ लगाउने, फाइरिङअघि भट्टामा हाल्ने, पकाउने र पाकेको इँटा भट्टाबाट झिक्ने काम गर्दै आएका भारतीय मजदुरहरू रोकिँदा दक्ष मजदुरको अभाव झेलिरहेको केन्द्रीय सदस्य साहले बताए । ‘प्रायः इँटा उद्योगहरू भारतीय मजदुरमा निर्भर छन्,’ उनले भने, ‘काँचो इँटा बोक्ने ५ प्रतिशत नेपाली मजदुरबाहेक ९५ प्रतिशत भारतीय मजदुरले काम गर्ने भएकाले समस्यामा छौँ,’ उनले भने । 

उनका अनुसार सिराहा जिल्लाका विभिन्न ठाउँमा सञ्चालित ६० वटा इँटाभट्टामा औसत दुई सयका दरले १२ हजार भारतीय मजदुर काम गर्थे । ‘सिजन सुरु हुनुअघि नै प्रायः हरेक उद्योगबाट करोडौँ रुपैयाँ पेस्की गएको छ,’ उनले भने, ‘सीमानाका बन्द भएर मजदुर रोकिँदा उद्योगीहरूले पठाएको पेस्की रकम पनि डुब्ने स्थितिमा पुगेको छ ।’

बैंक ऋण र ब्याज तिर्न सकस

कोरोना भाइरसको महामारी सुरु भएसँगै तीन महिनासम्म मजदुरहरूलाई खुवाएर राखे पनि लकडाउन लम्बिइँदै गएपछि भारतीय मजदुरलाई राख्न, बस्न गरेको खर्चसमेत डुबेको सिराहा इँटा व्यवसायी संघ सिराहाका उपाध्यक्ष सन्तोष श्रीवास्तवले बताए ।  

उद्योग नचले पनि मजदुर राख्न, पाकेको, काँचो इँटा व्यवस्थापनका लागि बैंकबाट झिकेको ऋणको साँवाब्याज बुझाउनै हम्मेहम्मे परेको उपाध्यक्ष श्रीवास्तवले बताए । उद्योगमा मौज्दात इँटाको बिक्री पनि मन्दी भएको, तर बैंकको ब्याज बढिरहेकाले आफूहरू उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

कम प्रदूषण हुने गरी प्रविधि रूपान्तरण गर्न सरकारले जारी गरेको निर्देशनअनुसार प्रायः उद्योगहरू सञ्चालन भएको चर्चा गर्दै केन्द्रीय सदस्य साहले भने, ‘प्रविधिको रूपान्तरण, पूर्वाधार थप्दा लागत बढ्यो, तर सरकारी निर्देशन पालना नगर्ने भट्टाबाट उत्पादन भएका इँटाको मूल्य उस्तै भए पनि नियमन गर्ने निकाय मौन रहँदा समस्यामा परेका छौँ ।’

कोइला आपूर्तिमा आर्थिक मार

भारतीय मजदुरमाथि निर्भर रहेको इँटा उद्योगहरूले सप्लायर्समार्फत इँटा पोल्न भारतबाट आयात गर्ने कोइलामा पनि आर्थिक मार खेपिरहेको केन्द्रीय सदस्य साहको गुनासो छ ।

‘भारतमा प्रतिकिलो ३२ रुपैयाँमा किनेको कोइला भन्सार बिन्दुसम्म ल्याउँदा प्रतिकिलो १६ रुपैयाँको दरले कागजात बनाउन बाध्य छौँ,’ उनले भने ‘मूल्यमै मार सहनुपरेपछि सप्लायर्सहरूले कोइलाको आधा मूल्य हुण्डीमार्फत कारोबार गरिरहेका छन्,’ उनले भने । उद्योग मन्त्रालय, विभागलगायतका निकायलाई थाहा भए पनि थाहा नपाएजस्तो गरिरहेको उनले बताए ।
 
हरेक सिजनमा प्रायः इँटा उद्योगहरूले उत्पादन गर्ने एक करोड थान इँटामध्ये २५ लाखसम्म वर्षा, हुरी बतासले गल्ने हुँदा त्यसको मार अलग्गै रहेको व्यवसायीहरू बताउँछन् । ‘त्यसका लागि बिमाको व्यवस्था गर्न सरकारसँग हारगुहार गऱ्याैँ,’ जिल्ला उपाध्यक्ष श्रीवास्तवले भने, ‘तर, त्यसको सुनुवाइ भएको छैन ।’