मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामबाबु पौड्याल
२०७७ असोज ३० शुक्रबार ०६:३२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एकीकृत बस्ती, रोजगारी र समृद्धि

Read Time : > 4 मिनेट
रामबाबु पौड्याल
२०७७ असोज ३० शुक्रबार ०६:३२:००

नेपाल पर्वतीय मुलुक हो । यहाँको ८० प्रतिशतभन्दा बढी भूभाग पहाडले ढाकिएको छ, जुन भौगर्भिक हिसाबले निकै संवेदनशील छ । भीषण मनसुनी वर्षा, भौगर्भिक कोमलपना, भिराला पहाड, वातावरणीय मूल्यांकन तथा मापदण्डविनाका सडकलगायत विकास निर्माण, भूकम्पद्वारा भौगर्भिक हलचल र धाँजा फटाइ, भिरालो जमिनमा अवैज्ञानिक खेती प्रणाली र भूक्षय, नदी तथा खानीजन्य पदार्थको अव्यवस्थित दोहनलगायतका कारण बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिले दुःख नदिएको वर्ष छैन ।

वर्षाका साढे तीन महिना बाढीपहिरो र डुबानले वितण्डा मच्चाउँछ । ८० प्रतिशत वर्षा मनसुन अवधिमै हुने भएकाले त्यस समय चुरे तथा पहाडी क्षेत्रमा बाढीपहिरो र तराईमा डुबानको जोखिम उच्च हुन्छ । जलवायु परिवर्तनले यो क्रमलाई झन् बढाएको छ । 

बाढीपहिरो र डुबानका कारण बर्सेनि सयौँको ज्यान जाने गरेको छ । कतिपय बस्तीहरू नै विस्थापित भएका छन् । संवेदनशील बस्तीका नागरिक मनसुनको समयमा रातभर जाग्राम बस्नुपर्ने अवस्था छ । यस्तो अवस्था मूलतः गरिब तथा पिछडिएका भेग र वर्गमा बढी देखिन्छ ।

बाढी एवं पहिरोपीडितको दीर्घकालीन व्यवस्थापन प्राथमिकतामा पर्ने गरेको छैन । त्यसैगरी, मापदण्डविनाका भिराला कच्ची सडक बर्सेनि हजारौँको काल बनिरहेको कुरा कसैबाट लुकेको छैन । नेपालका छिरलिएका तथा अव्यवस्थित बस्ती यी समस्याको प्रमुख कारण पनि हो । एकीकृत बस्ती तथा व्यावसायिक कृषि प्रणालीको अनुसरणले यी धेरै समस्याको एकमुष्ठ सम्बोधन हुन सक्छ । साथै मुलुकले समृद्धिको पथमा गति पनि लिनेछ ।  

ग्रामीण बस्तीहरू यत्रतत्र छरिएर रहेका छन् । पहाडी दुर्गम क्षेत्रमा एक बस्तीबाट अर्काेमा जान घन्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ । कतिपय ठाउँमा २–४ घर मात्रका बस्ती पनि छन् । यसरी छरिएका बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानीजस्ता सुविधा पुर्‍याउन र तिनको अवधिक एवं यथोचित मर्मतसम्भार आर्थिक एवं प्राविधिक दृष्टिले समेत असम्भवप्रायः नै हुन्छ ।

दुईतिहाइ जनसंख्या कृषिमा आधारित कृषिप्रधान देश बर्सेनि अर्बाैंको अन्न, दाल, तरकारी, मासुजन्य पदार्थ आयात गर्ने अवस्थामा पुगेको छ । ग्रामीण जनसंख्या घटे पनि गरिबीको अवस्थामा अपेक्षाकृत सुधार हुन सकेकोछैन । गरिबी प्रायः पुस्तान्तरण नै हुने गरेको छ । देशको झन्डै आधा (४४.७४ प्रतिशत) भूभाग वनक्षेत्रले ढाकेको भए पनि बर्सेनि अर्बाैंको काठ आयात भइरहेको छ ।

बहुमूल्य जडीबुटी कौडीको भाउमा बिक्री हुने र त्यसैबाट बनेका औषधिहरू महँगोमा खरिद गर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । यी तथ्यबाट हामीले हाम्रो सामथ्र्य र विशेषता नबुझेको स्पष्ट हुन्छ । यसर्थ, हामीले नेपालको समृद्धिको खाका आफ्नै विशिष्ट क्षमता र विशेषतामा आधारित रहेर कोर्नु आवश्यक देखिन्छ । कृषि, पर्यटन तथा प्राकृतिक स्रोत र तिनमा आधारित उद्योग मात्रै मुलुकको विकासतर्फका सारथी बन्न सक्छन् । एकीकृत बस्तीले पूर्वाधार निर्माणको लागत तथा भार र प्रकृतिको विनाश सबैलाई घटाउन मद्दत गर्ने देखिन्छ । 

एकीकृत बस्ती विकास : वैज्ञानिक भूउपयोग नीति तयार गरी भूगर्भशास्त्री, कृषिविज्ञ, वनविज्ञ, आवास विकास विज्ञ, समाजशास्त्रीलगायत विज्ञहरूको एक उच्चस्तरीय एकीकृत बस्ती विकास समिति बनाई देशका कहाँ–कहाँ योजनाबद्ध सुरक्षित बस्ती विकास गर्ने र कहाँकहाँ बस्ती खाली गराउने भन्ने विवरण तथा मापदण्ड तयार गर्नु अवश्यक छ । खाली गराइएका ठाउँ तथा खेतबारीमा उपयुक्तताअनुसार कृषि–वन प्रणाली, वन खेती, फलफूल खेती, जडीबुटी खेती गर्न सकिन्छ ।

यसरी एक ठाउँको बस्ती अर्काे ठाउँमा सारी धेरै घरहरूको ठूलो बस्ती बनाउँदा कुल, संस्कृति आदिका सवालमा ठूलो विवाद आउन पनि सक्छ । तर, त्यस्तो समस्या निराकरण गर्न नयाँ बस्तीमा उनीहरूको संस्कृतिको जगेर्ना हुने व्यवस्था मिलाउन सकिन्छ । यसरी एकीकृत बस्तीको सिर्जना गर्दा सहज र सरल रूपमा सबैलाई शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत्जस्ता सेवा उपलब्ध गराउन सकिन्छ र जनताको जीवनस्तर छिटै उकासिन्छ । बस्ती एकीकृत भएपछि वातावरणीय समस्या सुध्रिने, भूक्षय घट्ने, वनविनाश कम हुने, जैविक विविधता अभिवृद्धि हुने तथा मानव–वन्यजन्तु द्वन्द्व पनि घट्ने देखिन्छ । साथै सडकलगायत पूर्वाधार विकास निर्माणको खर्च पनि कम हुन्छ ।

कृषि, वन, जलस्रोत, पर्यटनजस्ता क्षेत्रमा अत्यन्त सम्भावना बोकेको हाम्रो देशको समृद्धि हामीले नै ल्याउने हो, अरू कसैले होइन । अँध्यारोलाई गाली गर्नेतर्फ लाग्नुभन्दा बत्ती बाल्नतर्फ लाग्नुपर्छ ।

व्यावसायिक कृषि : नेपालमा हावापानी र माटोको विविधताका कारण विभिन्न प्रकारका अन्नबाली, फलफूल खेती र पशुपालन गर्न सकिन्छ । तर, विगतको जस्तो निर्वाहमुखी नभई ठाउँअनुसार उपयुक्त कृषि प्रणाली अवलम्बन गरेर व्यावसायिक रूपमै कृषिलाई अगाडि सार्न सके कृषि नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने र वर्तमान खाद्यान्न आयात रोकिने अवस्था आउनेछ । साथै यसलाई बजारसँग पनि जोड्नुपर्छ । हाल अन्नबाली, फलफूल, पशुपालनलगायत क्षेत्रमा केही व्यावसायिक कार्य गर्नेतर्फ प्रयास भई सफलताका दृष्टान्त पनि देखिएका छन्, तर यसलाई व्यापक बनाउनुपर्छ । यसमा पनि लाखौँ युवाले रोजगारी पाउन सक्ने अवस्था छ । 

देशलाई कृषि प्रधानबाट उद्योग प्रधान बनाउँदै लैजानुपर्छ । यसै सिलसिलामा मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद भन्छन्– एक बिघा जमिनले एक परिवारलाई वर्षभरि खान पुग्ला, तर त्यसमा उद्योग खोले ५०० जनालाई काम र माम दिन सकिन्छ । नेपालमा ठाउँ र सम्भाव्यता हेरी कृषि, जडीबुटी, काष्ठ, सिमेन्ट, छाला, कागजलगायत प्रशस्त उद्योग खोली लाखौँलाई रोजगारीका अवसर दिन सकिन्छ ।

नेपालका सयौँ नदीनाला सीधा नबगी नागबेली आकारमा बगेर ठूलो क्षेत्रफलमा फैलिएका छन् । यिनले बर्सेनि दायाँबायाँका हजारौँ हेक्टर जग्गामा क्षति पुर्‍याउँछन् । तर, यिनीहरूलाई यथासम्भव सीधा पारी दुवैतर्फ बाँध र सिञ्चाइ नहरको व्यवस्था गरेमा हजारौँ हेक्टर उब्जिलो जमिन प्राप्त हुन्छ । यो सम्भावना तराईमा अझ बढी छ । उक्त निस्केको जग्गामा ठाउँअनुसार कृषि वा कृषि–वन प्रणालीको विकास गरी ठूलो मात्रामा आर्थिक लाभका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । बर्सेनि हुने नदीकटान तथा बाढीको पनि प्रकोप कम हुन्छ ।

त्यसैगरी, बस्ती सार्दा उपलब्ध हुने जग्गाहरूमा उपयुक्त कृषि–वन तथा वन विकास प्रणालीको विकास गरी ठूलो परिमाणमा कृषि उपज र वनपैदावर प्राप्त गर्न सकिन्छ । साथै सामुदायिक, साझेदारी एवं सरकारद्वारा व्यवस्थित वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू गरिनु उचित हुन्छ । यसबाट कृषि तथा वनपैदावरको आयात रोकिनुका साथै प्रशस्त रोजगारी र आयआर्जनका अवसरहरू सिर्जना हुनेछन् । राम्ररी वातावरणीय अध्ययनपछि क्षति न्यूनीकरणका उपाय सावधानीपूर्वक अवलम्बन गरी व्यवस्थित तवरले उपयुक्त स्थानका ढुंगा, गिट्टीजस्ता खनिजजन्य पदार्थ निकाली निकासी गर्न सक्दा पनि रोजगारी र आयआर्जनका प्रशस्त अवसर सिर्जना हुन्छन् ।

देशमा पर्या–पर्यटन र धार्मिक पर्यटनको अथाह सम्भावना छ । पर्यटन विकास कार्यलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्दा थप रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने नै छन् । अपार जलको भण्डारको रूपमा रहेको हाम्रो देशमा जलविद्युत्को विकासबाट पनि प्रशस्त रोजगारी र आयआर्जन गर्न सकिन्छ । कृषि, वन, जलस्रोत, पर्यटनजस्ता क्षेत्रमा अत्यन्त सम्भावना बोकेको हाम्रो देशको समृद्धि हामीले नै ल्याउने हो, अरू कसैले होइन । अँध्यारोलाई गाली गर्नेतर्फ लाग्नुभन्दा बत्ती बाल्नतर्फ लाग्नुपर्छ ।

सरकारले एकीकृत बस्तीको कार्य सुरुवात गरी अन्य विकास निर्माणका कार्यलाई पनि अभियानकै रूपमा अघि बढाएमा हाल बेरोजगार र ज्याला मजदुरी गर्ने युवाहरू मात्र नभई विदेशमा राम्रो जागिर पाएर विज्ञको रूपमा रहेका जनशक्तिसमेत स्वदेश फर्किने देखिन्छ । जति ठूलो चुनौती, त्यति ठूलो अवसर भनेझैँ हाल विदेशबाट फर्केका युवा बेरोजगारीको चुनौतीलाई उक्त कार्यमा लगाउन सकिएमा अवसरमा परिणत हुनेछ । देश समृद्ध बन्न पनि धेरै समय लाग्नेछैन ।

[email protected]