मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २९ बिहीबार १८:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली परिचय दिँदा कोरोना संक्रमित पहिचानमा समस्या

पोखरामा सात संक्रमित सम्पर्कविहीन 

Read Time : > 1 मिनेट
२०७७ असोज २९ बिहीबार १८:३६:००

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित आइसोलेसनमा नबसे संक्रामक रोग ऐनअनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिएको छ । तर, पोखरामा संक्रमित नै फेला नपर्ने समस्या देखिएको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार पछिल्ला हप्ता सातजना संक्रमित फेला परेका छैनन् । उनीहरूलाई खोजिएको भए पनि स्वाब परीक्षण गराउँदा नक्कली परिचय र नक्कली नम्बर टिपाएकाले समस्या आएको हो ।

खासगरी तराईबाट काममा आएका व्यक्तिहरूले स्वाब परीक्षण गराउने, तर नाम, ठेगाना र नम्बर नै गलत टिपाउने गर्दा समस्या देखिएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । यसरी गलत नम्बर र ठेगाना दिने र फरार हुने प्रवृत्तिले कोरोना संक्रमण झन् फैलने खतरा रहेको उनले बताए । 

संक्रमणको लक्षण भएका शंकास्पद व्यक्ति देखेमा खबर गर्नसमेत उनले आग्रह गरे । ‘पछिल्लो समय गलत परिचय लेखाउँदै स्वाब परीक्षण गराउनेहरू बढेका छन् । पछिल्लो हप्ता मात्र गलत परिचय दिएर स्वाब परीक्षण गराएका सातजना संक्रमितलाई हामीले भेट्टाउन सकेका छैनौँ । यसले समुदायमा संक्रमित बढाउने खतरा बढ्यो,’ उनले भने । 

संक्रमण दर बढिरहेका वेला लक्षण देखिएकाले नक्कली विवरण दिएर जाँच गराउने अनि संक्रमित भएपछि फरार हुँदा अर्को चुनौती थपिएको उनको विश्लेषण छ । 

जनचेतना जगाउँदा पनि त्रसित 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड उपचार केन्द्रमा प्रिआइसोलेसनमा राखिएका तनहुँका एक व्यक्ति दुई हप्ताअघि भागेर सेतीमा हामफाले । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुवास हमाल अहिलेसम्म उनलाई फेला पार्न नसकिएको बताउँछन् । 

केही समय अगाडि स्याङ्जाका एकजना फरार कोरोना संक्रमित पोखराको नागढुंगामा भेटिए । उनलाई समातेर कास्की प्रहरीले स्याङ्जा पठायो । प्रवक्ता हमालका अनुसार स्वाब परीक्षण गराउँदा गलत नम्बर टिपाउनेहरूलाई कास्की प्रहरीले पहिचान गरेर क्वारेन्टिन पुऱ्याउने गरेको छ । यी घटनाले कोराेना संक्रमणको त्रास आमजनमानसमा कत्तिको छ भन्ने प्रष्ट्याउँछ । 

स्वाब दिँदा गलत ठेगाना र नम्बर दिएर भाग्ने या छल्न खोज्नेहरू मात्र होइन सकेसम्म कोरोना संक्रमणको लक्षण लुकाउने र परीक्षण नै नगराउनेहरूसमेत पोखरामा छन् । पोखराका एक व्यवसायी लक्षण देखिए पनि आफू चेक गराउन नगएको बताउँछन् । कोरोना परीक्षण गराउँदा आइसोलेसनमा बस्नुपर्ने र लामो समय लकडाउनपछि खुलेको पसल पनि बन्द गर्नुपर्ने भएकाले आफूले परीक्षण नै नगराएको उनले बताए । ‘कोरोनाले मरिन्न । मरिएछ भने पनि बरु मरियोस् । सबै कुरा चौपट पारेर आइसोलेसन बस्न म जान्नँ । परीक्षण पनि गराउँदिनँ,’ उनले भने । 

यस्तो बताउने उनी एक्लो होइनन् । प्रतिष्ठित र बुझेका धेरै व्यक्तिले आजभाेलि कोरोना घरमै बसेर तातोपानी, बेसार, अदुवा खाए ठीक हुने र यो सामान्य रुघामात्र हो भन्नेहरू छन् । जतासुकैबाट जनचेतना जगाउने काम भए पनि एकथरीले कोरोना केही होइन भन्ने र अर्कोथरीले निकै त्रासको रूपमा लिँदा कोरोना संक्रमण नियन्त्रभन्दा पनि जटिलतातर्फ थकिलिने स्वास्थ्य महाशाखाका अधिकृत आचार्यको भनाइ छ ।