पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी समूहबीच बुधबार राति झडप भएको छ । जंगलछेउको ओरिया खोलामा लागुऔषध तस्कर र प्रहरीबीच झडप भएको हो ।
तस्कर समूहले एक राउन्ड फायर गरेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
उनका अनुसार हतियारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूबाट एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउन्ड गोली र एक थान खुकुरी बरामद भएको उनले बताए । लागुऔषध गाँजा आइरहेको सूचनाको आधारमा बगरमा प्रहरी खटाइएको प्रहरी निरीक्षक साहले बताए ।
प्रहरी टोलीलाई देखेर हतियारधारी समूहले फायरिङ गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो ।
उनीहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।